काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि नवराज के.सी.ले केन्द्रीय महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले इक्यानका सम्पूर्ण सदस्यहरूलाई लक्षित गर्दै महासचिव पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन्।
इक्यानलाई अझ एकजुट, बलियो र सदस्य–केन्द्रित संस्था बनाउने उद्देश्यका साथ आफू निर्वाचनमा होमिएको के.सी.ले बताएका छन्। उनका अनुसार महासचिव पद केवल औपचारिक जिम्मेवारी नभई सदस्यहरूको प्रत्यक्ष सहभागिता, हित संरक्षण र संस्थागत सुधारसँग जोडिएको महत्त्वपूर्ण भूमिका हो।
उम्मेदवार के.सी.ले आफ्ना प्रमुख एजेन्डामा इक्यानका सदस्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इन्गेजमेन्ट तथा तालिम कार्यक्रमहरूमा रोटेसन प्रणालीमार्फत अवसर प्रदान गर्ने, पिकनिक वा औपचारिक कार्यक्रममा सीमित नरही सबै सदस्यलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू सञ्चालन गर्ने विषय समेटेका छन्। साथै डिजिटल माध्यमबाट समस्या राख्न सकिने प्लेटफर्म विकास गरी २४ घण्टाभित्र प्रतिक्रिया दिने प्रणाली स्थापना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
सदस्यहरूलाई आपत् वा कठिनाइ पर्दा सहयोग पुर्याउने उद्देश्यले पारदर्शी संकट व्यवस्थापन कोष (क्राइसिस म्यानेजमेन्ट फन्ड) को व्यवस्था गर्ने योजना समेत उनको कार्ययोजनामा समावेश छ। उनले व्यक्तिगत स्वार्थ, घमण्ड वा लोभभन्दा माथि उठी निःस्वार्थ सेवाको भावनाले इक्यानको नेतृत्व गर्न चाहेको बताएका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै महासचिव पदका उम्मेदवार नवराज के.सी.ले सम्पूर्ण इक्यान सदस्यहरूबाट अमूल्य मत र समर्थन प्रदान गर्न अपिल गरेका छन्। सदस्यहरूको विश्वास र साथ पाएमा आगामी दुई वर्षमा काममार्फत उनीहरूको मन जित्ने विश्वास उनले व्यक्त गरेका छन्।