काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष पदका उम्मेदवार लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले आफ्नो पाँच महत्त्वपूर्ण एजेन्डा सार्वजनिक गरेका छन्। मंगलबार भिडियो सन्देशमार्फत उनले ए–बि–सि–डि–इ (ABCDE) अवधारणामा आधारित एजेन्डा प्रस्तुत गरेका हुन्।
उनका अनुसार A (Advocacy & Accountability) अन्तर्गत इक्यानलाई नीतिगत वकालतमा सशक्त बनाउँदै संस्थाभित्र पारदर्शिता र जबाफदेहिता सुनिश्चित गरिनेछ। B (Brotherhood, Business & Branding) मार्फत सदस्यहरूबिच भाइचारा मजबुत बनाइ व्यावसायिक वृद्धि र संस्थाको प्रभावकारी प्रचार–प्रसारमा जोड दिइने उनले बताएका छन्।
त्यसैगरी C (Comprehensive & Constructive) ले इक्यानलाई बृहत् र रचनात्मक संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। D (Diplomacy & Dominance) अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कूटनीतिक सम्बन्ध विस्तार गर्दै इक्यानको प्रभाव र प्रभुत्व स्थापित गरिने उनको भनाइ छ।
E (Empowerment) मार्फत सदस्य परामर्श व्यवसायीहरूलाई क्षमता अभिवृद्धि, तालिम र अवसरमार्फत सशक्त बनाइने एन्ड्रयुले बताएका छन्।
इक्यानलाई साझा, बलियो र नतिजामुखी संस्था बनाउने लक्ष्यसहित यी एजेन्डा अघि सारेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा साथ दिन सबै सदस्यसँग अपिल गरेका छन्।