काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि सुरज सिलवालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आसन्न निर्वाचनलाई लक्षित गर्दै सचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।
पछिल्लो १५ वर्षदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय सिलवालले Connect Globe Education Group (CGEG) मार्फत स्थापना कालदेखि नै गुणस्तरीय सेवा, पारदर्शिता, व्यावसायिक नैतिकता र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि भरोसायोग्य मार्गदर्शन प्रदान गर्दै आएका छन्। व्यावहारिक अनुभव, जिम्मेवारी बोध र पेसागत निष्ठालाई आफ्नो मुख्य आधार बनाउँदै उनले निरन्तर रूपमा क्षेत्रमा योगदान दिँदै आएको बताइन्छ।
इक्यान सँग विगत १० वर्षदेखि साधारण सदस्यका रूपमा आबद्ध सिलवाल २०८० मा सम्पन्न महाधिवेशनबाट उच्च मतसहित कार्यकारी सदस्य पदमा निर्वाचित भएका थिए। कार्यकारी सदस्यको रूपमा आफ्नो दुई वर्षे कार्यकालमा तत्कालीन अध्यक्षको नेतृत्वमा तयार गरिएका कार्ययोजना तथा कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै संस्थाको हितलाई केन्द्रमा राखी जिम्मेवारी निर्वाह गरेको उनी बताउँछन्।
सचिव पदका उम्मेदवार सिलवालले आगामी कार्यकालका लागि स्पष्ट कार्ययोजना र प्रतिबद्धता अघि सारेका छन्। उनका प्रमुख एजेन्डामा इक्यान सदस्यहरूलाई संघका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिकामा जोड्ने, व्यावसायिक तथा व्यवहारिक तालिमलाई प्रभावकारी बनाउने, केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी नवीकरण र स्वीकृति प्रक्रियालाई सरल बनाउने विषय समावेश छन्। साथै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूसँग सहकार्य विस्तार, सदस्य–केन्द्रित कार्यक्रम कार्यान्वयन, केन्द्र र शाखाबिच समन्वय सुदृढीकरण तथा दीर्घकालीन रूपमा इक्यानको आफ्नै भवन निर्माणका लागि पहल गर्ने योजना रहेको उनले बताएका छन्।
व्यक्तिगत स्वार्थभन्दा माथि उठी इक्यानको संस्थागत हित र सम्पूर्ण इक्यान सदस्यहरूको साझा आवाज बन्ने प्रतिबद्धता व्यक्त गर्दै सिलवालले निष्ठा, इमान्दारिता, पारदर्शिता र जबाफदेहिताको मार्गमा निरन्तर अघि बढ्ने बताएका छन्। आगामी निर्वाचन २०८२ मा सचिव पदका लागि आफ्नो विगतको कार्यसम्पादन, वर्तमान प्रतिबद्धता र भावी कार्ययोजनाको मूल्याङ्कन गर्दै सदस्यहरूबाट अमूल्य मत र समर्थन प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन्।