Matra Education आइतबार, साउन १० २०८३

इक्यान महासचिवका लागि भवनाथ हुमागाईँले गरे उम्मेदवारी घोषणा

इक्यान महासचिवका लागि भवनाथ हुमागाईँले गरे उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस १८ २०८२


काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि संघका वर्तमान प्रथम सचिव भवनाथ हुमागाईँले केन्द्रीय महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी पौष २८ गते सम्पन्न हुने निर्वाचनका लागि उनले महासचिव पदमा औपचारिक उम्मेदवारी दिएको घोषणा गरेका हुन्।

लामो समयदेखि नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियानमा निरन्तर सक्रिय हुमागाईँ शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष संलग्न रहँदै आएका अनुभवी व्यक्तित्व हुन्। इक्यान भित्र एक कार्यकाल कार्यसमिति सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका उनले हाल प्रथम सचिवका साथै संगठन विभाग र आन्तरिक मामिला विभागको संयोजकको रूपमा संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

संस्थालाई अब रणनीतिक सोच, निर्णायक नेतृत्व र सात सयभन्दा बढी सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम नेतृत्व आवश्यक रहेको हुमागाईँको धारणा छ। महासचिवको भूमिका औपचारिक पद मात्र नभई सदस्यहरूको व्यावसायिक सुरक्षा, शाखाहरूको सशक्तीकरण र संस्थाको गरिमासँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारी भएको उनी बताउँछन्। उनले इक्यान भित्र नयाँ उद्यमीदेखि स्थापित व्यवसायीसम्म सबैको भविष्य सुनिश्चित हुने पेसागत पारिस्थितिक प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रथम सचिव तथा विभागीय संयोजकको हैसियतमा हुमागाईँले केन्द्र र जिल्ला शाखाबिच प्रभावकारी समन्वय र एकीकृत कार्यप्रणाली स्थापना, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्न निर्णायक भूमिका, दुई नयाँ शाखा र एक समन्वय केन्द्र स्थापना मार्फत संगठन विस्तार तथा सदस्यता र आजीवन सदस्यता प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको बताइन्छ।

आगामी कार्यकालका लागि उनले केन्द्र–शाखा समन्वयलाई संस्थागत र परिणाममुखी बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी नीतिगत पैरवी गर्ने, सरकार तथा सरोकारवाला निकायसँग इक्यानको संस्थागत हैसियत मजबुत बनाउने, पारदर्शी र आर्थिक रूपमा सबल संस्था निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति र बहु–गन्तव्य शैक्षिक विद्यार्थी आवागमनमा रणनीतिक रूपमा काम गर्ने योजना रहेको उनले बताएका छन्।

अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशाका साथ इक्यानलाई अझ बलियो, एकताबद्ध र सम्मानित संस्थाका रूपमा अगाडि बढाउने दृढ संकल्प व्यक्त गर्दै महासचिव पदका उम्मेदवार हुमागाईँले सम्पूर्ण सदस्यहरूलाई आफ्नो विश्वास, साथ र अमूल्य मत प्रदान गर्न अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड