Matra Education आइतबार, साउन १० २०८३

इक्यान अध्यक्षका लागि दिपकराज भुसालले गरे उम्मेदवारी घोषणा

इक्यान अध्यक्षका लागि दिपकराज भुसालले गरे उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस १८ २०८२


काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि महासचिव दिपकराज भुसालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। नयाँ वर्ष २०२६ को अवसर पारेर सार्वजनिक गरिएको शुभकामना सन्देश मार्फत उनले इक्यान २०२६ का लागि अध्यक्ष पदमा औपचारिक उम्मेदवारी दिएका हुन्।

शैक्षिक परामर्श क्षेत्रको विकास र संस्थागत सुदृढीकरणमा निरन्तर चासो र सक्रियता देखाउँदै आएका भुसालले इक्यानलाई पूर्णकालीन समर्पण र पेसागत केन्द्रितताका साथ नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको नेतृत्वमा अनुभवी, दक्ष र प्रतिबद्ध टोली रहने बताउँदै संघको निरन्तरता, सञ्चालन दक्षता र तीव्र विकास सुनिश्चित गरिने उनको दाबी छ।

नयाँ वर्ष २०२६ को पहिलो दिनमै इक्यानको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित १६ बुँदे स्पष्ट रणनीतिक कार्यसूची प्रस्तुत गरिएको भुसालले बताएका छन्। उक्त कार्यसूची सदस्य सेवा विस्तार, पेसागत प्रतिष्ठा अभिवृद्धि, नेतृत्व क्षमता विकास, अन्तर्राष्ट्रिय पहिचान सुदृढीकरण तथा संस्थागत दिगोपनमा केन्द्रित रहेको जनाइएको छ।

‘इक्यान केवल एउटा संस्था मात्र होइन, यो सात सयभन्दा बढी सदस्यहरूको साझा पहिचान, विश्वास र सम्भावनाको आधार हो,’ भन्ने भाव व्यक्त गर्दै भुसालले इक्यानलाई विश्वासिलो, गरिमामय र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले आफ्नो नेतृत्वमा संस्थालाई आधुनिक, परिणाममुखी र सदस्य–केन्द्रित बनाउने लक्ष्य रहेको बताएका छन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार भुसालले सम्पूर्ण सदस्यहरूलाई साथ, विश्वास र अमूल्य मत प्रदान गर्न अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड