काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि संघका केन्द्रीय कोषाध्यक्ष आशिक कार्कीले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी पौष २८ गते सम्पन्न हुन लागेको निर्वाचनका लागि उनले सचिव पदमा औपचारिक उम्मेदवारी दिएको घोषणा गरेका हुन्।
लामो समयदेखि शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने अभियानमा सक्रिय कार्की इक्यानमा एक कार्यकाल कार्यसमिति सदस्य, हाल केन्द्रीय कोषाध्यक्ष तथा मिडिया विभाग संयोजकको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका छन्। संस्थागत सुदृढीकरण, आर्थिक अनुशासन र सञ्चार व्यवस्थापनमा उनले खेलेको भूमिका उल्लेखनीय रहेको बताइन्छ।
कोषाध्यक्षको हैसियतमा इक्यानलाई कर्पोरेट सोच र प्रणालीमा अघि बढाउन सफल भएको उल्लेख गर्दै कार्कीले अब संस्थाको प्रशासनिक तथा रणनीतिक कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सचिव पदमा उम्मेदवारी दिएको बताएका छन्। स्पष्ट भिजन, निरन्तरता र इच्छाशक्ति भएमा संस्थागत विकास सम्भव हुने उनको विश्वास छ।
‘इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ,’ भन्ने मूल नारासहित अघि बढेका कार्कीले आफ्नो अनुभव र संस्थाभित्रको निरन्तरताले इक्यानलाई अझ बलियो, एकताबद्ध र सम्मानित संस्था बनाउन सकिने दाबी गरेका छन्। उनले आगामी कार्यकालमा सदस्यहरूको विश्वास जित्दै संस्थालाई दीर्घकालीन योजनासहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
इक्यानको आगामी निर्वाचनलाई लक्षित गर्दै कार्कीले सम्पूर्ण सदस्यहरूलाई आफ्नो साथ, विश्वास र अमूल्य मत प्रदान गर्न अपिल गरेका छन्।