Matra Education आइतबार, साउन १० २०८३

इक्यान अध्यक्षका लागि लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले गरे उम्मेदवारी घोषणा

इक्यान अध्यक्षका लागि लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले गरे उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • मंगलबार, पौस १५ २०८२


काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि संघका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन्।

दुई दशक भन्दा बढी समय देखि शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील एन्ड्रयु इक्यानमा सदस्य देखि विकास हुँदै प्रथम उपाध्यक्ष बनेका हुन्। ग्रेस इन्टरनेसनलका सञ्चालक उनी इक्यान भित्र स्वच्छ छविका, समयमै जिम्मेवारी पुरा गर्न सक्ने, कुशल नेतृत्वकर्ता र सफल व्यवसायीका रूपमा चिनिन्छन्। वर्तमान कार्यसमितिमा समेत उनले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन्छ। इक्यान सदस्य परामर्श व्यवसायीहरूको सामूहिक हितका लागि क्रियाशील उनी इक्यानलाई आफूले अझै नयाँ उचाइमा पुर्‍याउन सक्ने बताउँछन्।

नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव समर्पित व्यक्तित्वका रूपमा पनि परिचित छन्। आफ्नो व्यावसायिक सफलताका साथै उद्योगका अन्य सदस्यहरू र साथीहरूको प्रशिक्षण तथा विकासमा पनि सक्रिय छन्। यसै कारणले गत निर्वाचनमा उनी लोकप्रिय मतका साथ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। हाल प्रथम उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकाले आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिनु स्वाभाविक र संस्थाको राम्रो संगठन निर्माणको सिद्धान्तअनुसार भएको उनको भनाई छ।

‘म कुनै पनि काममा कि त हातै हाल्दिन, कि हालिसकेपछि त्यसलाई अन्तिम सम्म पुर्‍याएर हात सफा गर्ने मान्छे हुँ’ आफ्नो भिडियो सन्देशमा उनले भनेका छन्, ‘इक्यान भनेको केवल संस्था मात्रै होइन, यो थुप्रै कन्सल्टेन्सीहरूको, विद्यार्थी, अभिभावकहरूको आस्थाको धरोहर र गुनासोको भारी बिसाउने ठाउँ हो’। त्यसैले इक्यानलाई साझा संस्था बनाउनका लागि उम्मेदवारी दिएको उनको भनाई छ।

बलियो र नतिजामुखी इक्यान बनाउने उनको प्रतिबद्धता छ। आफूले संघ भित्र प्रथम उपाध्यक्ष सम्म हुँदा समूहमा काम गर्ने क्रममा इक्यानको जिम्मेवारी, चुनौती र सम्भावनाहरू नजिक बाट देखेको भन्दै आज आफू अध्यक्षको स्वाभाविक उम्मेदवार रहेको पौडेलको भनाई छ। इक्यानको आगामी कार्यकालका लागि मात्रै नभई दीर्घकालका लागि योजनाहरू रहेको भन्दै उनले आफूलाई साथ दिन सम्बद्ध सबै सँग अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड