काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को विधान बमोजिम कार्यसमितिबाट मनोनयन गर्नुपर्ने सल्लाहकार समिति, एक रिक्त उपाध्यक्ष तथा दुई रिक्त सदस्य पदमा मनोनयन तथा शपथ कार्यक्रम सम्पन्न भएको छ। हिजो फेकन कार्यालयमा बसेको कार्यसमिति बैठकले यस विषयमा निर्णय गरेको हो।
सल्लाहकार समितिमा त्रिभुवन विश्वविद्यालयका पूर्व डिन तथा महेन्द्ररत्न क्याम्पस, ताहाचलका पूर्व क्याम्पस प्रमुख प्रा.डा. खेमबन्धु कोइराला, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत महेश दाहाल र न्यूयोर्क, अमेरिकाका पूर्व नेपाली महावाणिज्यदूत नारायण मैनालीलाई मनोनयन गरिएको छ।
यसैगरी, फेकनको विधान अनुसार कार्यसमितिबाट मनोनयन गर्नुपर्ने एक उपाध्यक्ष पदमा स्कुल अब्रोड प्रालिका सञ्चालक महेश घिमिरेलाई मनोनयन गरिएको छ। अस्ट्रेलियामा कार्य व्यस्तताका कारण उनी उक्त कार्यक्रममा उपस्थित भने थिएनन्।
त्यसैगरी, दुई रिक्त सदस्य पदमा ग्लोबल हब एजुकेसनल नेटवर्कका सञ्चालक दर्शन खनाल र एक्सपर्ट मल्टिपर्पोस एजुकेसन कन्सल्टेन्सीका सञ्चालक शिवप्रसाद चौलागाईंलाई कार्यसमितिमा मनोनयन गरिएको छ। संघले नयाँ नेतृत्व तथा सल्लाहकारहरूको मनोनयनले संस्थागत सुदृढीकरण र शैक्षिक परामर्श क्षेत्रको हितमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
