काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (नेक्सा) का सदस्य परामर्श व्यवसायी र विद्यार्थीहरूका लागि सिद्धार्थ बैंकले विशेष बैंकिङ सेवा सुरु गरेको छ। सिद्धार्थ बैंकको बागबजारस्थित सल्यान हाउसमा सञ्चालनमा आएको पुतलीसडक एक्सटेन्सन काउन्टरमार्फत अब नेक्सा सदस्यहरूले कोरियन वोन वा अमेरिकी डलर मा ट्युसन शुल्क भुक्तानी गर्न सहज हुने व्यवस्था गरिएको छ।
नेक्सा सदस्यका कम्पनी र विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको यस सेवामा अत्यावश्यक अवस्थामा अधिकतम ३० मिनेटभित्र बैंक खाता खोल्ने सुविधा प्रदान गरिएको छ। यो सुविधा केवल नेक्साका सदस्यहरूका लागि उपलब्ध रहनेछ।
यो कदमले विदेशमा अध्ययन गर्न जाने विद्यार्थी तथा परामर्शदाताहरूलाई छिटो, सुरक्षित र झन्झट–रहित बैंकिङ सेवा उपलब्ध गराउने नेक्साले जनाएको छ।
नेक्साले सिद्धार्थ बैंकलाई सहयोग र समन्वयका लागि धन्यवाद दिँदै आफ्ना सदस्यहरूलाई नयाँ सेवाको सहज उपयोग गर्न आग्रह गरेको छ।