काठमाडौँ- व्यावसायिक हित सँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा उतिकै सक्रिय नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले दक्षिण कोरियामा असामयिक निधन भएका रोशन बहादुर पाख्रिन को शव नेपाल ल्याउन महत्त्वपूर्ण सहयोग गरेको छ। पाख्रिनको दुःखद निधनपछि नेक्साले अत्यावश्यक सहायताका लागि विशेष अभियान सञ्चालन गर्दै सदस्यहरूबाट उल्लेखनीय सहयोग रकम संकलन गरी हस्तान्तरण गरेको हो।
नेक्साका अनुसार, संस्थाले सुरु गरेको चन्दा संकलन अभियानमार्फत नेपाली रुपैयाँ २,०३,२२५ जुटाइएको थियो। संकलित रकम कोरियन वोन (KRW) मा रूपान्तरण गरी २०,४०,००० कोरियामा रहेको SONSIK (Society of Nepalese Students in Korea) लाई हस्तान्तरण गरिएको हो । शव व्यवस्थापन र प्रक्रियागत काममा सुरुदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको SONSIK मार्फत नै सम्पूर्ण प्रक्रिया अघि बढाइने नेक्साले जनाएको छ।
स्व.पाख्रिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेक्साले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।