Matra Education आइतबार, साउन १० २०८३

फेकन खेलकुद सप्ताह भव्यताका साथ सम्पन्न

फेकन खेलकुद सप्ताह भव्यताका साथ सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, कार्तिक २९ २०८२


काठमाडौँ – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आयोजना गरेको ‘फेकन स्पोर्ट्स विक २०२५’ सम्पन्न भएको छ। ‘एकता, स्वास्थ्य र सहयोग’ भन्ने मूल नारासहित शुक्रवार र शनिवार आयोजना गरिएको दुई दिने कार्यक्रम अत्यन्तै प्रतिस्पर्धात्मक, अनुशासित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको फेकनले जनाएको छ। कार्यक्रमको उद्घाटन एन्फाका सह महासचिव बद्री भट्टराईले गरेका थिए।

यस वर्षको खेलकुद सप्ताह विभिन्न दिवङ्गत सदस्यहरूको स्मृतिमा आयोजित प्रतियोगिताहरूसँगै सम्पन्न भएको हो । फुटसल, चेस, टेबल टेनिस तथा महिला ब्याडमिन्टन लगायतका विधामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

रविन केसी र सुधन रायमाझी स्मृति फुटसल प्रतियोगितामा ब्रदरउड फुटसल क्लब (बिएफसी) विजेता बनेको छ। शुभयात्रा एफसी उपविजेता रह्यो। विशेष विधातर्फ बिएफसीका अरुण केसी उत्कृष्ट किपर घोषित भए भने काभ्रे एफसि फेकन फेयर प्ले टोली रह्यो। बिएफसीका रवीन्द्र पन्थी खेलको उत्कृष्ट खेलाडी घोषित भए साथै शुभयात्राका सुवास बस्नेत उच्च स्कोरर बने।

प्रबल रेग्मी र उपेन्द्र थापा स्मृति चेस प्रतियोगितामा दुवै स्थान बिएफसीले हात पार्‍यो। सम्राट पाण्डे विजेता तथा सुवन खड्का उपविजेता बने। सरोज थापा स्मृति टेबल टेनिसमा शुभयात्राका सन्दीप उप्रेती विजेता भए भने बिएफसीका सत्येन्द्र झा उपविजेता बने। पहिलो पटक आयोजित फेकन महिला ब्याडमिन्टन प्रतियोगितामा पनि बिएफसीको दबदबा रह्यो। मन्दिरा श्रेष्ठ विजेता र पुनम प्रजापति उपविजेता बने।

विजेता तथा उपविजेतालाई बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय–शिक्षा तथा योजना महाशाखाका प्रमुख रुद्र शर्माले पुरस्कार वितरण गरे। कार्यक्रममा स्व. सरोज थापाका छोराछोरी तथा स्व. रबिन केसीकी श्रीमती र सन्तानको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।

कार्यक्रम फेकनका महासचिव दिपेन्द्र पोखरेलको सञ्चालन तथा अध्यक्ष उमेश कुश्वारको नेतृत्वमा सम्पन्न भएको हो। फेकन कार्यक्रम व्यवस्थापन समितिका संयोजक नीराजन रोक्का तथा सम्पूर्ण टिमले कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

समापन समारोहमा प्रमुख अतिथि शर्माले फेकनसँग सहकार्य गर्दै निकट भविष्यमा शैक्षिक परामर्श सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिने घोषणा गरे।

फेकन स्पोर्ट्स विक २०२५ ले खेलकुदमार्फत एकता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको सन्देश प्रवाह गर्न सफल भएको संस्थाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड