काठमाडौँ – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आगामी शुक्रवार र शनिवार आफ्नो वार्षिक खेलकुद सप्ताह आयोजना गर्ने भएको छ। ‘एकता, स्वास्थ्य र सहयोग’ भन्ने मूल नाराका साथ आयोजना हुने यस वर्षको कार्यक्रमले सदस्य परामर्श व्यवसायीहरू बिच आपसी सम्बन्ध सुदृढ गर्ने र स्वास्थ्य सन्देश प्रवाह गर्ने उद्देश्य राखेको फेकनले जनाएको छ।
फेकनले यस वर्ष पनि संस्थाका दिवङ्गत सदस्यहरूको सम्झनामा विभिन्न खेल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। कार्यक्रम अन्तर्गत सरोज थापा स्मृति टेबल टेनिस प्रतियोगिता, रविन केसी र सुधन रायमाझी स्मृति फुटसल प्रतियोगिता तथा उपेन्द्र थापा र प्रबल रेग्मी स्मृति चेस र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिनेछ।
दुई दिनसम्म चल्ने प्रतियोगिता धन्यन्तरी फुटसल, धुम्बराहीमा आयोजना हुनेछ। फुटसलतर्फ ६ टोलीबिच प्रतिस्पर्धा हुनेछ भने चेसमा ११, टेबल टेनिसमा १० र ब्याडमिन्टनमा ८ खेलाडीले सहभागिता जनाउने छन्।
फुटसल विजेताले ट्रफी, मेडलसहित नगद रु २,००,००० पाउनेछन् भने उपविजेताले रु १,००,००० प्राप्त गर्नेछन्। त्यस्तै, चेस र टेबल टेनिस विजेताले रु २०,००० र उपविजेताले रु १५,०००, ब्याडमिन्टन विजेताले रु १५,००० र उपविजेताले रु १०,००० पुरस्कार प्राप्त गर्नेछन्।
कार्यक्रमका प्रमुख प्रायोजक अर्डर कलेज, अस्ट्रेलिया रहेको छ भने सह–आयोजकका रूपमा प्राइम कमर्शियल बैंक लिमिटेड रहनेछ। अन्य १४ कम्पनीहरूले समेत कार्यक्रमलाई सहयोग गर्ने फेकनले जनाएको छ।
खेलकुद सप्ताहको उद्घाटन एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले गर्नेछन् भने समापन तथा पुरस्कार वितरण समारोहमा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका शैक्षिक परामर्श महाशाखा प्रमुख रुद्र शर्मा प्रमुख अतिथि रहनेछन्।
फेकनका महासचिव दिपेन्द्र पोखरेलले सम्पूर्ण फेकन सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।