Matra Education आइतबार, साउन १० २०८३

ऐतिहासिक कोरिया शैक्षिक मेला बारे भ्रम छर्ने काम भयो, प्रायोजित प्रहारको पछि नलागौँ: नेक्सा

ऐतिहासिक कोरिया शैक्षिक मेला बारे भ्रम छर्ने काम भयो, प्रायोजित प्रहारको पछि नलागौँ: नेक्सा

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक २५ २०८२


काठमाडौँ – नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले गत शनिवार ऐतिहासिक रूपमा सम्पन्न कोरियन एजुकेसन फेयरलाई लक्षित गरी कतिपयले भ्रम फैलाउने र प्रायोजित प्रहार गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएको छ। संघका महासचिव गणेश बेल्वासेले जारी गरेको प्रेस विज्ञप्तिमा नकारात्मक चिन्तन भएका मानिसहरूले फेयर रोक्ने असफल प्रयासपछि एकपक्षीय मनगढन्ते कथा लेखेको उल्लेख गरिएको छ। कार्यसमिति फुट्न लागेको, असन्तुष्टि रहेको लगायतका मिथ्या आरोप चिर्न संघको सिंगो कार्यसमितिले समेत हस्ताक्षर गर्दै प्रेस विज्ञप्तिप्रति ऐक्यबद्धता जनाएको छ।

संघले सबै सरोकारवालाहरूलाई यस्ता निराधार प्रचार र भ्रममा नपर्न आग्रह गर्दै आधिकारिक सूचनामाथि मात्र विश्वास गर्न अनुरोध गरेको छ। संघले आफू सधैँ पारदर्शिता, जबाफदेहिता र संस्थागत आचरणमा दृढ रहेको जनाउँदै फेयरसँग सम्बन्धित सबै विवरण र कागजातहरू केही दिनमै सम्बन्धित निकायमा बुझाइने जानकारी दिएको छ।

विज्ञप्तिमा नेक्साले आयोजना गरेको ‘कोरियन एजुकेसन फेयर’ सभ्य र भव्य रूपमा सम्पन्न भएको उल्लेख छ। मेलामा कोरियाका चार विश्वविद्यालयहरू (तीन वटाको प्रत्यक्ष सहभागिता र एउटाको अनलाइन परामर्श) सहित नेपालका अनुभवी शैक्षिक परामर्श व्यवसायीहरूको उपस्थिति रहेको र यसले नेपाल र कोरियाको शैक्षिक सम्बन्धलाई नै नयाँ उचाइमा पुर्‍याउने काम गरेको दाबी गरिएको छ।

संघका अनुसार मेलाको उद्देश्य नेपालका विद्यार्थी र शैक्षिक संस्थाबिच सहकार्य र अवसर आदान–प्रदानको साझा प्लेटफर्म सिर्जना गर्नु थियो, जुन उद्देश्य सफलतापूर्वक पूरा भएको छ। सहभागीहरूको सन्तुष्टि, उच्च उपस्थितिको स्तर र समग्र व्यवस्थापनले पहिलो कोरिया शैक्षिक मेलालाई नयाँ उपलब्धिमा पुर्‍याएको संघले उल्लेख गरेको छ।

नेक्साले विश्वविद्यालयहरू, परामर्श व्यवसायी, साझेदार संस्था, प्रायोजक, सञ्चारकर्मी, स्वयंसेवक र सम्पूर्ण आगन्तुकहरूलाई फेयर सफल बनाउन सहयोग पुर्‍याएकोमा धन्यवाद र कृतज्ञता प्रकट गरेको छ। साथै, मेलाको प्रशंसा र सकारात्मक मूल्याङ्कन हुनुपर्ने बेला केही व्यक्तिहरूबाट फैलाइएका हल्ला र गलत समाचारहरूमा कुनै पनि तथ्य वा सत्यता नरहेको संघले स्पष्ट पारेको छ।

आगामी वर्षहरूमा अझ व्यवस्थित, सहभागितामूलक र प्रभावकारी शैक्षिक मेला आयोजना गर्ने नेक्साले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड