Matra Education आइतबार, साउन १० २०८३

फेकनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

फेकनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज ३१ २०८२


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले चाडपर्वहरूको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार राजधानीको हिमालयन रेष्ट्रोमा आयोजित एक औपचारिक कार्यक्रम मार्फत संस्थाले आफ्ना सदस्यहरू, शुभचिन्तकहरू सहित सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिएको हो।

फेकनले भर्खरै सकिएको दसैँ, आउँदै गरेको तिहार, छठ, नेपाल संवत् लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो। फेकन अध्यक्ष उमेश कुश्वारको सभापतित्व तथा संस्थाका पूर्व अध्यक्ष युवराज कटुवालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आइडिपी तथा ब्रिटिस काउन्सिलका प्रतिनिधि, विभिन्न विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरू, विभिन्न क्षेत्रका आमन्त्रित अतिथिहरू, फेकनका सदस्यहरू र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा संस्थाका महासचिव दिपेन्द्र पोख्रेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै शुभकामना दिएका थिए। त्यस्तै फेकनका प्रथम उपाध्यक्ष छविन्द्र ओझाले संस्थाका तर्फबाट उपस्थित सबैलाई स्वागत गर्दै शुभकामना व्यक्त गरे। उनले यी चाडपर्वहरूले सबै परामर्श व्यवसायीको मुहारमा खुसीको बहार ल्याउने विश्वास व्यक्त गरे।

त्यसपछि कार्यक्रममा विभिन्न संस्थाको प्रतिनिधित्व गर्दै उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा विशेष अतिथि कटुवालले देशको वर्तमान अवस्था बारे चर्चा गर्दै सबै व्यवसायीले आफ्नो काम नियमपूर्वक र मर्यादित रूपमा गर्नुपर्नेमा जोड दिए। उनले नेपालीको घर आँगनमा आउँदै गरेका चाडपर्वहरूले सामाजिक एकता कायम गर्दै सबैको मुहारमा मुस्कान ल्याउन सकुन् भन्ने कामना गरे।

कार्यक्रमका सभापति तथा फेकन अध्यक्ष कुश्वारले यस किसिमका कार्यक्रमले फेकन सदस्य तथा परामर्श व्यवसायीहरू बिचको एकता अझै मजबुत हुने धारणा राखे। व्यवसायको क्षेत्रमा दैनिक जसो नयाँ नयाँ चुनौतीहरू थपिँदै गएको भन्दै उनले सामूहिक रूपमा तिनीहरूलाई समाधान गर्न आफूहरू सफल हुने विश्वास व्यक्त गरे। आसन्न चाडपर्वहरू सबै परामर्श व्यवसायी तथा नेपालीहरूको लागि सुखद रहोस् भन्ने कामना सहित उनले औपचारिक कार्यक्रम अन्त्य गरे।

त्यसपछि उपस्थित सबै अतिथि तथा सहभागीहरू चियापानमा सहभागी भएका थिए भने अनौपचारिक रूपमा शुभकामना आदानप्रदान भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड