Matra Education आइतबार, साउन १० २०८३

ओएसिस अब्रोड स्टडी सर्भिसेस एन्ड कन्सल्टेन्सीको तिज विशेष तथा बिदाइ कार्यक्रम सम्पन्न

ओएसिस अब्रोड स्टडी सर्भिसेस एन्ड कन्सल्टेन्सीको तिज विशेष तथा बिदाइ कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र ८ २०८२


काठमाडौँ – बागबजार स्थित ओएसिस अब्रोड स्टडी सर्भिसेस एन्ड कन्सल्टेन्सीले तिज विशेष तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। बुबाको मुख हेर्ने दिनको पावन अवसर पारेर शनिवार चाबहिलस्थित स्मार्ट प्यालेसमा कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो।

ओएसिसका प्रबन्ध निर्देशक राम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा ओएसिसका साझेदार विभिन्न पाँच वटा कलेजका प्रतिनिधिहरू, अन्य शैक्षिक संस्थाका प्रतिनिधिहरू, अधिवक्ताहरू तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको आतिथ्य रहेको थियो। त्यस्तै ओएसिस बाट भिसा प्राप्त गरेर विदेश जाने तयारीमा रहेका १५० जना भन्दा बढी विद्यार्थी र तिनका अभिभावकहरूको बाक्लो उपस्थिति कार्यक्रममा रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै ओएसिसका सल्लाहकार नारायण प्रसाद राजथलाले ओएसिसले स्थापना कालदेखि नै पारदर्शिता र विद्यार्थीको हितलाई प्राथमिकता दिएको बताए। तिज विशेष तथा बिदाइ कार्यक्रम पनि संस्थाको त्यही मूल्यप्रतिको प्रतिबद्धताको अभिव्यक्ति भएको उनले बताए।

ओएसिसको इतिहास, हालसम्मका उपलब्धि र आगामी योजनाबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक रेश्मा राजथलाले ओएसिसले अहिलेसम्म १० हजार भन्दा बढी विद्यार्थीलाई भिसा दिलाएको उल्लेख गरिन्। ओएसिस आफ्ना विद्यार्थीको अधिकतम हित गर्न र अझै व्यावसायिक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताइन्।

कार्यक्रममा बोलेका अन्य विभिन्न वक्ताहरूले ओएसिसले खेल्दै आएको भूमिकाको चर्चा गर्दै अझै धेरै सफलताको शुभकामना दिए।

कार्यक्रमको मुख्य आकर्षण चर्चित गायक दुर्गेश थापाको विशेष प्रस्तुति रहेको थियो। दुर्गेशको प्रस्तुतिले विद्यार्थीहरूका लागि कार्यक्रम अझै बढी स्मरणीय बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले शिक्षामा पारदर्शिता र गुणस्तरीय सेवाको आवश्यकता औँल्याउँदै ओएसिसलाई विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न निरन्तर अग्रसर रहन सुझाव दिए। उनले विद्यार्थी विदेश पठाउनु नराम्रो नभए पनि ज्ञान र सीप लिएर नेपाल फर्किएर देशको विकासमा योगदान गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए। विद्यालय शिक्षा विधेयक निर्माणका लागि आफूले खेलेको भूमिकाको समेत उनले चर्चा गरे।

औपचारिक कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति थापाले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। ओएसिसले सुरु गरेको यात्रामा विद्यार्थी, अभिभावकले दिएको विश्वास नै आफूहरूको सफलता भएको उनले बताए । गुणस्तरीय सेवा, पारदर्शिता र विद्यार्थीमैत्री वातावरण निर्माण गर्दै अझै मजबुत भएर अघि बढ्ने ओएसिसको लक्ष्य भएको उनको भनाई थियो।

कार्यक्रममा सहभागिता जनाएका सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै बिदाइ समारोहमा विद्यार्थीहरूलाई समेत विशेष सम्मान गरिएको थियो।

औपचारिक कार्यक्रम समापन पश्चात् ओएसिसका विद्यार्थीका प्रतिभाले भरपुर अनौपचारिक सत्र सञ्चालन गरिएको थियो। यो सत्रमा करिब ४० वटा विभिन्न प्रस्तुतिहरू देखाइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड