चितवन- परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बी-टु-बी कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) को पार्टनर्स मिट सम्पन्न भएको छ। शुक्रवार चितवनको सिराइचुली होटेलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब ५० जना परामर्श व्यवसायीहरूको सहभागिता रहेको थियो।
युसिएका अध्यक्ष रामशरण ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य युसिएका निर्देशक रामचन्द्र ओलीले गरेका थिए। उनले संस्थाको गतिविधि र उद्देश्यबारे जानकारी दिँदै नेपालीद्वारा नै सञ्चालन गरिएको संस्था भएकाले ढुक्क भएर सहकार्य गर्न सकिने आश्वासन दिए।
युसिएका ‘चिफ अपरेसन अफिसर’ लिला ध्वज बस्नेतले संस्थाको समग्र पक्षबारे विशेष प्रस्तुतीकरण दिए। उनले युसिएको हालसम्मको उपलब्धि र भविष्यका योजनाहरूबारे विस्तृत जानकारी दिए।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै इक्यान चितवनका पूर्व अध्यक्ष हिम्मत पुरीले छोटो समयमा गरेको उल्लेखनीय प्रगतिका लागि युसिएलाई बधाई दिए। उनले संस्थाको कार्यक्रम तथा सेवाबाट व्यवसायीहरू लाभान्वित भएको उल्लेख गर्दै थप सहकार्यको सम्भावना रहेको बताए।
आरम्भ कलेजका प्राचार्य सुरज बुढाथोकीले युसिएले विदेश अध्ययनसँगै ‘स्टडी इन नेपाल’ प्रवर्द्धन गरेकोमा खुसी व्यक्त गरे भने स्थानीय शिक्षक केदार मणि आचार्यले पनि शुभकामना मन्तव्य दिँदै धन्यवाद ज्ञापन गरे।
कार्यक्रमका सभापति तथा युसिएका अध्यक्ष रामशरण ढकालले संस्थाको स्थापना, हालसम्मका गतिविधि र उपलब्धिबारे जानकारी दिँदै भविष्यमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। उनले व्यवसायीहरूलाई ढुक्क भएर सहकार्य गर्न अपिल गरे।
