काठमाडौँ — स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आयोजनामा “अस्ट्रेलिया इन्फो सेसन तथा आइसिइएफ–इएटिसि तालिम” सम्पन्न भएको छ। कार्यक्रम गत शुक्रवार नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो।
फेकन अध्यक्ष उमेश कुश्वारको सभापतित्व तथा महासचिव दिपेन्द्र पोखरेलको संचालनमा सम्पन्न उक्त कार्यक्रममा करिब २०० जना फेकन सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा देशका सातै प्रदेशका फेकन अध्यक्ष तथा विभिन्न जिल्लाबाट आएका जिल्ला अध्यक्षहरूका साथै अस्ट्रेलिया सम्बन्धित कलेज तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
कार्यक्रमको सुरुवातमा फेकनका वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझाले स्वागत मन्तव्य राख्दै सहभागीहरूको उत्साहजनक उपस्थिति प्रति धन्यवाद व्यक्त गरे। निवर्तमान अध्यक्ष राजु निरौलाले शुभकामना मन्तव्य दिँदै यस्ता कार्यक्रमहरूले सदस्यहरूको सीप विकासमा मद्दत पुर्याउने धारणा राखे।
कार्यक्रममा चार वटा सत्र सञ्चालन गरिएका थिए। पहिलो सत्रमा “स्टडी इन अस्ट्रेलिया” विषयमा फेकन सदस्य हरि मिश्रले तालिम प्रदान गरे। त्यसै दोस्रो सत्रमा “स्टडी इन मेलबर्न” बारे ‘मेलबर्न गभर्मेन्ट ट्रेड म्यानेजर’ अनिता कुमारीले जानकारी प्रस्तुत गरिन्।
तेस्रो सत्र अनलाइनमार्फत सम्पन्न भएको थियो, जसमा ‘अस्ट्रेलियन इमिग्रेशन लयर’ टोनु घोतानेले अस्ट्रेलियन आप्रवासन सम्बन्धी आधारभूत जानकारी प्रस्तुत गरे। चौथो तथा अन्तिम सत्रमा आइसिइएफ–इएटिसि बारे फेकन सचिव राजकुमार ढकालले तालिम प्रदान गरे।
प्रत्येक सत्रपछि सहभागीहरूसँग प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। तालिममा सहभागी सम्पूर्ण सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभापति उमेश कुश्वारले समापन मन्तव्य दिँदै सहभागी सबैप्रति आभार व्यक्त गरे र फेकनले आगामी दिनमा यस्ता ज्ञानमूलक र प्राविधिक कार्यक्रम निरन्तर रूपमा गर्दै जाने प्रतिबद्धता जनाए।