Matra Education आइतबार, साउन १० २०८३

न्याप्सले पायो मेलबर्नमा अध्यापन स्वीकृति , नोभेम्बर २०२५ देखि कक्षा सञ्चालन हुने

न्याप्सले पायो मेलबर्नमा अध्यापन स्वीकृति , नोभेम्बर २०२५ देखि कक्षा सञ्चालन हुने

  • मात्र एजुकेशन
  • सोमबार, असार १६ २०८२


काठमाडौँ- अस्ट्रेलियाको सिड्नीमा उच्च शिक्षा दिँदै आएको ‘नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स)’ ले मेलबर्नमा पनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्यापन गर्न अनुमति पाएको छ। प्रारम्भिक रूपमा ६५० विद्यार्थी सिट स्वीकृत गरिएको छ र नोभेम्बर २०२५ इन्टेकदेखि औपचारिक रूपमा कक्षा सञ्चालन हुने घोषणा गरिएको छ।

न्याप्सको मेलबर्न क्याम्पस मेलबर्न सहरको मुटुमा पर्ने २० क्विन्स स्ट्रिटमा अवस्थित छ। भवन कलेजको आफ्नै स्वामित्वमा रहेको छ र विगत केही महिनादेखि कक्षा सञ्चालनका लागि तयारी अवस्थामा रहेको थियो। अब अध्यापन स्वीकृति प्राप्त गरेसँगै यो भवन विधिवत् रूपमा शैक्षिक प्रयोजनमा प्रयोग हुने भएको हो।

शैक्षिक क्षेत्रको विस्तारको क्रममा न्याप्सले सन् २०२१ देखि सिड्नीमा उच्च शिक्षा सञ्चालन गर्दै आएको छ। हाल कलेजमा स्नातक तहमा सोसियल वर्क, आइटी, अकाउन्टिङ, अर्ली चाइल्डहुड तथा स्नातकोत्तर तहमा अकाउन्टिङ, आइटी र बिजनेस कार्यक्रमहरू सञ्चालनमा छन्। मेलबर्न क्याम्पसबाट ती सबै कार्यक्रमहरू सञ्चालन हुने र विशेष गरी भिक्टोरिया राज्यका विद्यार्थीहरूका लागि नयाँ अवसर सिर्जना हुने कलेजले जनाएको छ।

नयाँ क्याम्पस स्वीकृति सम्बन्धमा मात्र एजुकेसनसँग कुरा गर्दै न्याप्सका क्षेत्रीय निर्देशक (दक्षिण एसिया) मुकेश धमलाले यो स्वीकृति संस्थाको शैक्षिक क्षमताप्रति देखिएको विश्वासको संकेत भएको बताए। “मेलबर्न क्याम्पसमार्फत हामीले शैक्षिक पहुँचलाई अझ फराकिलो बनाउँदै छौँ र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा मात्र होइन, करिअर निर्माणको मार्गमा पनि टेवा दिनेछौँ,” उनले भने।

न्याप्सले यसअघि नै मेलबर्नमा वेस्टर्न सिड्नी कलेज र टिकेएल कलेज सञ्चालनको स्वीकृति प्राप्त गरिसकेको छ। अब नोभेम्बर २०२५ इन्टेकका लागि आवेदन खुला गरिएको छ।

न्याप्स सन् २०२१ मा सञ्चालन अनुमति प्राप्त निजी क्षेत्रको उच्च शिक्षा प्रदायक संस्था हो। यसका सञ्चालक नेपाली मूलका अस्ट्रेलियन व्यवसायी मातृका बिमली तथा अधिवक्ता सुमन भेटवाल हुन्। साथै, अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अनुभवी व्यक्तित्वहरू समेत सञ्चालक समितिमा आबद्ध छन्। सोही समूहले अस्ट्रेलियामा अन्य तीन वटा भोकेसनल कलेज पनि सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड