काठमाडौँ- जापानीज भाषा स्कुल संघ (जाल्सान) ले स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन), कोरियन शैक्षिक परामर्श संघ (केक्यान) र नेपाल युरोप बिजनेस एसोसिएसन (नेबा) का नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ। बुधवार नयाँ वानेश्वर स्थित अल्फा हाउस बैंकेटमा आयोजित एक औपचारिक कार्यक्रमका बिच जाल्सानले तिन परामर्श व्यवसायी संघलाई बधाई तथा शुभकामना दिएको हो।
जाल्सानका अध्यक्ष रमेश देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरका कर अधिकृत गोविन्दराज आचार्य प्रमुख अतिथिका रूपमा रहेका थिए । त्यस्तै चार्टर एकाउन्टेन्ट नवराज गौतम विशेष अतिथि रहेको कार्यक्रममा अध्यक्ष उमेश कुश्वार सहित फेकन कार्यसमिति सदस्यहरू, कार्यवाहक अध्यक्ष एसपी भट्टराई सहित केक्यान कार्यसमिति सदस्यहरू र अध्यक्ष नारायण रेग्मी सहित नेबा कार्यसमिति सदस्यहरू अतिथिका रूपमा रहेका थिए। सँगै कार्यक्रममा जाल्सान कार्यसमिति तथा सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै जाल्सानका प्रथम उपाध्यक्ष महेश कुमार श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारे । कार्यक्रमको मूलभूत उद्देश्य व्यवसायी संघहरु बिच सहकार्य र एकता रहेको उनले बताए। परामर्श व्यवसायका चुनौती चिर्न सबै संघ संस्था एकीकृत हुन जरुरी छ भन्ने सन्देश दिँदै छोटो समयको आमन्त्रणमा पनि उपस्थित भएकोमा सबै प्रति उनले आभार प्रकट गरे।
नेबा अध्यक्ष रेग्मीले जापानको क्षेत्रमा काम गर्ने एउटा राम्रो संस्था जाल्सानले बधाई कार्यक्रम राखेको भन्दै आभार प्रकट गरे । जाल्सानमा पनि नवनिर्वाचित कार्यसमिति आएकोमा बधाई ज्ञापन गरेका उनले जुन संस्थामा रहे पनि यही व्यवसायमा आबद्ध साथीहरू रहेको भन्दै सहकार्यको भावनामा जोड दिए । आफ्नो संघ र अन्य दुई संघले खेलेका भूमिकाको चर्चा गरेका उनले परामर्श व्यवसाय क्षेत्रको हितका लागि आफूहरू सधैँ सँगै हुने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै केक्यानका कार्यवाहक अध्यक्ष भट्टराईले एउटा नयाँ सुरुवात र ऐतिहासिक कार्यक्रमको थालनी गरेको भन्दै आयोजकलाई धन्यवाद दिए। यस्ता कार्यक्रमले भाइचाहरा बढाउने र एउटालाई दुख्दा अर्को पनि सँगै छौँ भन्ने सन्देश दिने उनको भनाई थियो। कोरियाको एनओसिमा समस्या पर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका उनले चार वटै संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै फेकन अध्यक्ष कुश्वारले बधाईका लागि आमन्त्रण गरेकोमा जाल्सानलाई धन्यवाद दिए। आज सम्म फेकनले खेलेको भूमिकाको चर्चा गरेका उनले यस्ता कार्यक्रम बधाई तथा शुभकामना मात्रै भन्दा पनि एकता समर्पण र साझेदारीको सुरुवात भएको बताए। आफूहरूले नेपाल सरकार सँग शैक्षिक परामर्श व्यवसायलाई उद्योगका रूपमा स्थापना गर्न माग गर्दै आएको भए पनि सरकारले सम्बोधन नगरेको र आफूहरूको भावना कुण्ठित पारेको उनले बताए। व्यवसाय सँग सम्बन्धित निर्देशिका बनिरहेको भन्दै उनले व्यावसायिक हितका लागि संयुक्त रूपमा एकताबद्ध आवाज उठाउनुपर्नेमा जोड दिए। परामर्श व्यवसायीहरू पनि व्यवसाय केन्द्रित मात्रै नभई विद्यार्थी केन्द्रित पनि हुनुपर्ने उनको भनाइ थियो। उनले जापानमा भाषा मात्रै पढाउन पठाउने भन्दा पनि डिग्री पनि हुने कोर्समा पठाउन जाल्सानलाई सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि आचार्यले `विविधतामा एकता नेपाली समाजको विशेषता´ भन्ने भनाइ चरितार्थ गर्ने किसिमको कार्यक्रम जाल्सानले आयोजना गरेको बताए। विभिन्न संघका अध्यक्षहरूले शैक्षिक परामर्श व्यवसायलाई राज्यले हेर्ने नजर प्रति आशङ्का व्यक्त गरेको प्रति संकेत गर्दै उनले शिक्षा ऐन जारी हुन लागेकाले आफ्नो व्यावसायिक हितका लागि खबरदारी गर्न सही समय अहिले भएको उल्लेख गरे। नियमन गर्ने सिलसिलामा राज्यका कारण व्यवसायमा अप्ठेरा आएका छन् भने सँगै बसेर छलफल गरेर समाधान गर्न सकिने बताएका उनले व्यवसायीहरूले जुटेर डट्छौ भन्दै गर्दा राज्यको ऐन नियम पनि विचार गर्नेछन् भन्ने आफ्नो अपेक्षा रहेको सुनाए । व्यवसाय व्यवस्थित र मर्यादित रूपमा गर्न र कानुनहरूको पालना गर्न उनले सुझाए।
कार्यक्रमका सभापति तथा जाल्सान अध्यक्ष देवकोटाले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए । शैक्षिक परामर्श व्यवसाय सधैँ विभिन्न पक्षको थिचोमिचोमा पर्दै आएको हुँदा व्यावसायिक संघ संस्थाहरू बिच सहकार्य आवश्यक रहेको उनले बताए। जाल्सानले जापान काम गर्ने सिलसिलामा आएका विभिन्न समस्याहरूको समाधानमा खेलेको भूमिकाको संक्षिप्त चर्चा गरेका उनले आफूहरूले परामर्श संघहरु मध्ये पहिलो र हालसम्म एक मात्र महिला अध्यक्ष पनि बनाइसकेको उल्लेख गरे। परामर्श व्यवसायका थप समस्यालाई समाधान गर्न अहिले परामर्श व्यवसायी महासंघ पनि आफूहरूले बनाएको बताउँदै उनले उपस्थित सबैलाई बधाई र कार्यकाल सफलताको शुभकामना सहित कार्यक्रम समापन गरे ।
औपचारिक कार्यक्रम जाल्सान महासचिव अरुण पाण्डेले सञ्चालन गरेका थिए।

कार्यक्रमका थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्: