काठमाडौँ- सर्वोच्च अदालतले पुनः दक्षिण कोरियाको एनओसी नरोक्न सरकारका नाममा आदेश जारी गरेको छ। सोमबार जारी भएको आदेशमा दुवै पक्षका बिच छलफल गराई अन्तरिम आदेश जारी हुने, नहुने विषयमा निर्णय गर्नका लागि असार १ गते विपक्षी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मुद्दा दायर गर्ने विद्यार्थीहरूलाई बोलाउने उल्लेख गरिएको छ। अदालतले त्यतिन्जेल दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीहरूको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको सम्बन्धी मन्त्रालयको सूचना कार्यान्वयन नगर्न आदेश दिएको छ।
यस अघि पनि सर्वोच्च पुगेका ८ जना पीडित विद्यार्थीहरूलाई एनओसी दिनका लागि आदेश दिएको थियो। निवेदकका हकमा मात्रै यसरी एनओसी दिँदा आफूहरू माथि अन्याय भएको भन्दै अन्य विद्यार्थीहरूले सानोठिमी स्थित एनओसी कार्यालय अगाडी आन्दोलन गरेका थिए। त्यस्तै विभिन्न समूह बनाएर उनीहरूले मुद्दा दायर गर्ने, पत्रकार सम्मेलन मार्फत आफूहरूका आवाज राज्यलाई सुनाउने लगायत गतिविधि गर्दै आएका थिए।
सोमबार जारी भएको आदेश पछि भने विद्यार्थीहरू एनओसी पाइनेमा आशावादी बनेका छन्। अदालतको उक्त ब्यहोराको पत्र प्राप्त भएपछि सेप्टेम्बर इन्टेकका विद्यार्थीलाई एनओसी दिन शिक्षा मन्त्रालय पनि सकारात्मक रहेको मन्त्रालय निकट स्रोत बताउँछ। यस विषयमा आधिकारिक जानकारी भोलि मात्र एजुकेसनमा पाउनुहुनेछ।