Matra Education आइतबार, साउन १० २०८३

फेकन र जाल्सानका नवनिर्वाचित पदाधिकारीलाई युसिएको बधाई

फेकन र जाल्सानका नवनिर्वाचित पदाधिकारीलाई युसिएको बधाई

  • मात्र एजुकेशन
  • आइतबार, जेष्ठ १८ २०८२


काठमाडौँ- परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बि टु बि कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) ले स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) र जापनिज भाषा स्कुल संघ (जाल्सान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ।आइतबार जमल स्थित राजा लाउञ्जमा आयोजित एक औपचारिक कार्यक्रमका बिच युसिएले दुई परामर्श व्यवसायी संघलाई बधाई तथा शुभकामना दिएको हो।

युसिएका अध्यक्ष रामशरण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका निवर्तमान अध्यक्ष विनोदकुमार सुवेदी, बोर्ड सदस्यहरू उमाकान्त न्यौपाने, बालकृष्ण बिस्ट, सुवास विक्रम राई, त्रिलोचन अधिकारी र रामचन्द्र ओली उपस्थित थिए। त्यस्तै युसिएका अन्य सदस्यहरू उपस्थित रहेको कार्यक्रममा फेकन र जाल्सनको नवनिर्वाचित कार्यसमितिको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष ढकालले फेकन अध्यक्ष उमेश कुश्वार र जाल्सान अध्यक्ष रमेश देवकोटालाई बधाई तथा शुभकामना पत्र हस्तान्तरण गरेका थिए। साथै दुवै संस्थाका कार्यसमितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै फेकन अध्यक्ष कुश्वारले बधाई ज्ञापनका लागि युसिएलाई धन्यवाद दिए । युसिए व्यावसायिक संस्था र फेकन सामाजिक संस्था भए पनि दुवै बिच सहकार्य आवश्यक रहेको उनले बताए। युसिएको अवधारणा सुरु हुँदाको साक्षी आफ पनि भएको उल्लेख गरेका उनले आफूहरूले त्यसअघि नै तिन वटा बि टु बि कम्पनी दर्ता गरिसकेर चलाउन असफल भएको स्मरण गरे। सोही कारण युसिए सँग जोडिन डराएको भन्दै उनले आज युसिएले गरेको प्रगतिले भने खुसी बनेको बताए। बधाई कार्यक्रमले सहकार्य र भातृत्वको सुरुवात गरेको भनाइ राखेका उनले शैक्षिक परामर्श व्यवसायमा देखिएका चुनौती समाधान गर्न युसिएको साथमा उभिन फेकन तयार रहेको बताए।

त्यस्तै जाल्सान अध्यक्ष देवकोटाले सुन्दर कार्यक्रम आयोजना गरेको भन्दै युसिएलाई धन्यवाद दिए । शैक्षिक परामर्श व्यवसायीहरूका बिचमा तिक्तता रहेका बेला ३० वटा संस्था मिलेर एकै ठाउँमा उभिनु सुखद भएको उनले बताए। आफूहरूले पनि सहकार्य गर्न सक्ने बताउँदै उनले जापान काम गर्ने व्यवसायीहरूलाई पनि जोड्न सके युसिए अझै बृहत् हुने धारणा राखे। शैक्षिक परामर्श व्यवसायीका समस्या सम्बन्धित पक्षलाई बुझाउन भोग्नुपरेका कठिनाइहरूको समेत चर्चा गरेका उनले सबै मिलेर व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताए। उनले युसिए उद्योगका रूपमा स्थापित हुन सकोस् भन्ने शुभकामना दिए।

कार्यक्रम सञ्चालक रामचन्द्र ओलीले सहकार्यका लागि जाल्सन र फेकनलाई आमन्त्रण गरे। उनले सामूहिक हितको अभियानमा जोडिन अपिल गरे।

युसिए अध्यक्ष ढकालले फेकन र जाल्सान दुवै संस्थालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए। युसिएको स्थापना, उद्देश्य र हालको अवस्था बारे जानकारी गराएका उनले युसिए नेपालकै पहिलो बि टु बि कम्पनी भएको उल्लेख गरे। यो विशुद्ध व्यावसायिक संस्थामा हाल ३० वटा संस्था आबद्ध भइसकेको र अरू पनि जोडिने क्रममा रहेको बताए। सहकार्यका लागि सबै शैक्षिक परामर्श व्यवसायीलाई आमन्त्रण गरेका उनले बजारको भन्दा तुलनात्मक रूपमा राम्रो प्रतिफल दिने प्रतिबद्धता गरे। लगानी कर्तालाई उच्च प्रतिफल दिनुपर्छ भन्ने आफूहरूको मान्यता रहेको भन्दै उनले युसिएले नयाँ व्यवसायीहरूलाई समेत सघाउने बताए। ढकालले उपस्थितिका लागि सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड