काठमाडौँ- अध्ययनका लागि दक्षिण कोरिया जान लागेका नेपाली विद्यार्थीहरू सरकारले अचानक वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) बन्द गरेपछि समस्यामा परेको भन्दै आन्दोलनमा उत्रिएका छन्। आइतबार करिब १०० जनाको समूहमा रहेका उनीहरूले सानोठिमी स्थित एनओसी कार्यालय अगाडी आन्दोलन गरेका हुन्।
एनओसी पीडित विद्यार्थी समूहको ब्यानरमा आन्दोलित उनीहरूले आफूहरूको सबै लगानी भइसकेपछि बिना पूर्व सूचना यसरी एनओसी बन्द गर्दा समस्यामा परेको बताएका छन्। ‘अब समय छैन, छिटो एनओसी खुलाउनुहोस्’, ‘शिक्षा हाम्रो अधिकार हो’, ‘कोरियाले भर्ना गर्यो, नेपाल सरकारले बन्द गर्यो’, ‘शिक्षा रोक्ने निर्णयले हजारौँ सपना जलिरहेछन्’, ‘हामीले क्षमताले पाएको छात्रवृत्ति तपाईँको राजनीतिले गुम्दैछ’, लगायतका प्लेकार्ड सहित प्रदर्शन गरेका उनीहरूले सरकारले आफूहरूको भविष्य माथि खेलबाड गरेको आरोप लगाए।
सरकारले जे सुकै कारणले एनओसी रोकेको भए पनि आफूहरू पीडित बन्न पुगेको विद्यार्थीहरू बताउँछन्। मात्र एजुकेसन सँगको संवादमा आन्दोलनमा भेटिएका एक विद्यार्थीले भने, “कन्सल्टेन्सीहरूको खोइ के के गल्तीले एनओसी रोकेको रे। त्यसमा हामी विद्यार्थी र अरू राम्रो काम गरिरहेका कन्सल्टेन्सीहरूको के दोष ? सरकारले गलत गर्ने संस्थालाई छानेर कारबाही गरेको भए यति धेरै विद्यार्थी पीडित बन्नु पर्ने थिएन। कोरियामा नराम्रो मात्रै भएको पक्कै छैन। त्यहाँका विश्वस्तरीय शैक्षिक संस्थाले छात्रवृत्ति सहित अध्ययनको अवसर दिँदा आफ्नै सरकार बाधक नबनोस्।”
आन्दोलनमा भेटिएका अर्का विद्यार्थी सेप्टेम्बर इन्टेकको आफ्नो पढाई गुम्नेमा बढी चिन्तित देखिए। उपत्यका बाहिर बात आफ्नो सपना पुरा गर्ने अठोटका साथ आएको भन्दै उनले भने, “सेप्टेम्बर इन्टेक भ्याउनका लागि काठमाडौँ बसेर तयारी गरिरहेको थिएँ। सबै प्रक्रिया पुरा हुनै लाग्दा अब त्यही एनओसीका कारणले नभ्याइने भयो। सरकारले एक दुई दिन भित्रै समाधान दिएन भने त मेरो लगानी मात्रै डुब्छ।” उनले सरकारले जे जे छानबिन गरेर निर्णय गर्ने भए पनि सेप्टेम्बर इन्टेकका विद्यार्थी पठाएर, अन्य विद्यार्थीहरूलाई पनि पूर्व सूचना दिएर मात्रै गर्नुपर्नेमा जोड दिए।
सरकारले तत्काल आफूहरूको आवाज सुनेर समस्या समाधान गर्नुपर्ने विद्यार्थीहरूको माग छ।
