काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ। बिहीबार नक्साल स्थित हिल्टन होटेलमा आयोजित एक औपचारिक कार्यक्रमका बिच निवर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो।
फेकनका निवर्तमान अध्यक्ष राजु निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा न्युयोर्कका लागि पूर्व जनरल कन्सुलर नारायण मैनाली प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै एनआरएनए ग्लोबल उपाध्यक्ष विनोद श्रेष्ठ र प्राइम कमर्सियल बैङ्कका सहायक कार्यकारी निर्देशक सुरेश मान सिंह विशेष अतिथि रहेको कार्यक्रममा अतिथिका रुपामा फेकन सँग साझेदारी गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरू रहेका थिए। कार्यक्रममा संस्थाको निवर्तमान पदाधिकारी तथा कार्यसमिति, नवनिर्वाचित कार्यसमिति र पूर्व पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै फेकनका नवनिर्वाचित महासचिव दिपेन्द्र पोखरेलले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ,उनले फेकन सदस्यहरूको विश्वास गुम्न नदिने भन्दै अपेक्षित काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
शुभकामना मन्तव्य दिँदै संस्थाका पूर्व महासचिव तथा निवर्तमान सल्लाहकार भुपाल तामाङले निर्वाचन प्रक्रिया सम्पन्न भइसकेकाले अब सबै फेकन बनेर काममा केन्द्रित हुनुपर्ने धारणा राखे। आफूहरूको कार्यसमिति रहँदा पदभार हस्तान्तरण गर्ने परम्परा सुरु गरेको स्मरण गराउँदै बिचमा त्यो रोकिएको भए पनि अहिले पुनः सुरु भएको भन्दै उनले खुसी व्यक्त गरे। संस्थागत एकतामा तामाङले जोड दिए।
फेकनका पूर्व अध्यक्ष युवराज कटवालले निर्वाचनमा विजयी हुन नसकेका उम्मेदवारहरूलाई पनि समेटेर काम गर्न सुझाए । पछिल्लो समय संस्थाहरूमा फरक विचार राख्नेलाई पल्लो छेउ पुर्याउने प्रवृत्ति बढ्दै गएको भन्दै उनले फेकन त्यस बाट टाढै रहनुपर्ने बताए। नीतिगत तहमा व्यवसायी र विद्यार्थीको पक्षमा काम गर्न सक्ने र डायस्पोरामा उत्कृष्ट ठहरिन सक्ने फेकन आजको आवश्यकता भएको भन्दै उनले त्यसको निर्माणमा जुट्न नयाँ कार्यसमितिलाई अनुरोध गरे। आफू नयाँ कार्यसमितिलाई जस्तोसुकै साथ दिन तयार रहेको उनको भनाई थियो।
निर्वाचनका प्रत्याशी उम्मेदवारहरूको प्रतिनिधित्व गर्दै बोलेका उपाध्यक्ष प्रत्याशी किशोर दुलालले आफू विजयी हुन नसके पनि सक्षम नेतृत्व फेकनले पाएको भन्दै खुसी व्यक्त गरे। उनले निर्वाचन कसैले जितेको नभई सिंगो फेकनले जितेको र आफूले फेकनियनहरुको मन जितेको बताए। उनले आफूहरू निर्वाचित कार्यसमितिको साथमा सधैँ रहेको बताए।
कार्यक्रमका विशेष अतिथि एनआरएनए ग्लोबल उपाध्यक्ष श्रेष्ठले एनआरएनएको प्रतिनिधित्व गर्दै बोल्न पाएकोमा खुसी व्यक्त गरे। फेकन जस्ता संस्थाहरूले विद्यार्थी विदेश पठाएकै कारण एनआरएनएको उत्पादन हुने भन्दै उनले यस्ता संस्थालाई एनआरएनएको जननी मान्नुपर्ने धारणा राखे। आफूले पनि निर्वाचन हारेको र १२ वर्षपछि जितेको उदाहरण दिँदै विचलित नहुन पराजितहरूलाई उनले अनुरोध गरे। नवनिर्वाचित कार्यसमितिले फेकनलाई नयाँ उचाइमा पुर्याउन सकोस् भन्ने कामना उनले गरे।
कार्यक्रमका प्रमुख अतिथि मैनालीले फेकन सँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए । उनले परामर्शको काम सराहनीय भएको भन्दै फेकनले प्राथमिकताका साथ उठेको ‘स्टडी इन नेपाल’ भन्ने एजेन्डा पुरा गर्न सके सिंगो देशलाई फाइदा पुग्ने बताए। नेपालमा लगानी गर्ने हो भने विदेश बाट स्कुले विद्यार्थी पनि नेपाल ल्याउन सकिने धारणा राखेका उनले नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिनेमा जोड दिए।
धन्यवाद ज्ञापन गर्दै संस्थाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझाले माइन्युट मात्रै साटासाट गरेको नभई मन पनि साटासाट गरिएको उल्लेख गरे। उनले अघिल्लो कार्यसमितिको राम्रा कुरा ग्रहण गरेर जानुपर्ने र नवीन योजनामा पनि उतिकै काम गर्नुपर्ने बताए। निर्वाचन नहोस् भन्नका लागि आफू अध्यक्षको सबैभन्दा शक्तिशाली उम्मेदवार हुँदा पनि पछि हटेको स्मरण गराएका उनले पछि चुनाव लड्नुपर्दा दुख लागेको बताए। बाहिर रहेका परामर्श व्यवसायीहरूलाई पनि समेटेर गर्विलो फेकन निर्माण गर्नुपर्नेमा जोड दिएका उनले आजसम्मको साताका लागि सबैलाई धन्यवाद दिए।
प्रतिबद्धता मन्तव्य राखेका नवनिर्वाचित अध्यक्ष उमेश कुश्वारले आफूलाई निर्वाचित गर्ने सबैलाई धन्यवाद दिए । सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष सम्मको भूमिका निभाउँदा फेकनका लागि आफूले पनि योगदान गरेकाले त्यसको पुरस्कार पाएको उनको भनाई थियो। प्यानल रहित चुनाव गरेकोमा निवर्तमान अध्यक्ष निरौलालाई धन्यवाद दिएका उनले छुटिरहेकाहरूलाई पनि समेट्ने, साझा अध्यक्ष बन्ने, बिजनेस नेटवर्किङको काम गर्ने, फेकन शैक्षिक मेला आयोजना गर्ने, कोरियाको एनओसि खुला गर्न भूमिका खेल्ने, आफ्नै महासंघ बनाउने, फेकनमा रहेका तर छुटेर गएका पुराना साथीहरूलाई पुनः जोड्ने लगायतका योजना सहित प्रतिबद्धता व्यक्त गरे। सदस्यहरूको साथ सहयोग र समर्थन नै आफ्नो प्रेरणा हुने उनको भनाई थियो।
कार्यक्रममा फेकनका निवर्तमान अध्यक्ष राजु निरौलाले नवनिर्वाचित अध्यक्ष उमेश कुश्वारलाई अध्यक्षको नेम प्लेट, निवर्तमान महासचिव छविन्द्र ओझाले नवनिर्वाचित महासचिव दिपेन्द्र पोख्रेललाई माइन्युट तथा निवर्तमान कोषाध्यक्ष दिपेन्द्र पोख्रेलले नवनिर्वाचित कोषाध्यक्ष गौतम पुडासैनीलाई बैंक चेक तथा आर्थिक विवरणहरू हस्तान्तरण गरेका थिए।
कार्यक्रम समापन गर्दै सभापति निरौलाले संस्था सँग जोडिएको ६ वर्ष पछि अध्यक्ष भएर आफू बाहिरिँदै गरेको सुनाए। साना मझौला व्यवसायीलाई व्यवसाय नै गर्न नदिने एउटा संस्था विरुद्ध लडेर फेकन जन्माइएको र त्यो आन्दोलनमा होमिएको योद्धा भएर नै आफू फेकनमा जोडिएको उनले बताए। फेकनमा १० औँ महाधिवेशनमा प्यानल बनाए देखि फेकन विभाजन हुन सुरु भएको भन्दै उनले सोही कारण यस पटक आफूले सर्वसम्मतिका लागि अधिकतम प्रयास गरेको बताए। कार्यकालको २२ महिनामै चुनाव गरेर संस्थागत सुशासनका पक्षमा काम गरेको दाबी गरेका उनले अघिल्लो निर्वाचनमा पराजित केही उम्मेदवारहरू अर्को संस्था खोलेर गएको तर फेकनमै रहेकाहरू अहिले निर्वाचित भएको बताए। फेकनको आफ्नै महासंघ बनाउने एजेन्डामा विशेष जोड दिएका उनले आफ्नो कार्यकालमा फेकनले आर्थिक रूपमा ठुलो फड्को मारेको र अब झनै बढी प्रगति हुनुपर्ने बताए। आफूले निर्वाचित भए देखि नै निवर्तमान अध्यक्षको साथ कहिल्यै नापेको बताएका उनले आफूले भने नयाँ समितिलाई त्यो कमी हुन नदिने बताए। उनले फेकन सदस्य व्यवसायीहरूको पक्षमा आफू सधैँ रहेको भन्दै कार्यकालभर साथ दिने सबैलाई धन्यवाद दिँदै कार्यक्रम अन्त्य गरे।
औपचारिक कार्यक्रमलाई निवर्तमान सचिव इन्द्रजित गौतमले कुशलतापूर्वक सञ्चालन गरेका थिए।
थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्: