काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी कोषाध्यक्षमा हालका सह-कोषाध्यक्ष गौतम पुडासैनी सर्वसम्मत चयन हुने भएका छन्। बिहीबार भएको छलफलपछि दुई उम्मेदवार मध्येका एक राम थापाले पुडासैनीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेपछि उनी सर्वसम्मत कोषाध्यक्ष बन्ने पक्का भएको हो।
मात्र एजुकेसन सँग कुरा गर्दै उम्मेदवारी फिर्ता लिएका थापाले एकताबद्ध फेकन निर्माणका लागि पुडासैनीलाई आफूले समर्थन गरेको बताए। उनले भने, “मेरो उम्मेदवारी पनि फेकन कोषलाई समृद्ध बनाउने र त्यसलाई फेकन सदस्य परामर्श व्यवसायीहरूको अधिकतम हितमा परिचालन गर्ने भन्नका लागि थियो। उहाँले मैँले सुदृढ फेकनका लागि उठाएका एजेन्डाहरू पनि आफूले समेट्ने प्रतिबद्धता जनाएपछि मैँले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हुँ। फेकनमा राम्रा काम गर्नका लागि उहाँलाई मेरो साथ र बाटो नबिराउनका लागि खबरदारी सधैँ रहन्छ। उहाँलाई अग्रिम बधाई र सफल कार्यकालको शुभकामना भन्न चाहन्छु।”
फेकन निर्वाचन समितिले आज २६ गतेका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ। यसअघि नै सह-कोषाध्यक्षमा मञ्जु लामिछाने र महासचिवमा दिपेन्द्र पोख्रेल सर्वसम्मत भइसकेका छन्। अहिले पनि थप सर्वसम्मतिका लागि प्रयासहरू भइरहेको बताइएको छ।