काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका रामशरण ढकालले संस्थाको रूपान्तरण र दीर्घकालीन सुधारको लक्ष्यसहित ११ बुँदे व्यापक कार्ययोजना सार्वजनिक गरेका छन्।
ढकालले सोमबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै संस्थाको गहिरो अनुभव, इमानदारिता र समावेशी दृष्टिकोण सहित नेतृत्व गर्न आफू सक्षम रहेको बताएका थिए। त्यसको दुई दिनपछि उनले आफ्नो योजनात्मक एजेन्डा सार्वजनिक गरेका हुन्। उनका एजेन्डाले फेकनमा दीर्घकालीन र संस्थागत परिवर्तन ल्याउने उद्देश्य लिएको छ।
उनको योजनामा फेकन कार्यालयलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने योजना प्रमुख रहेको छ। यसका लागि विशेष मोबाइल एप र पोर्टल निर्माण गरी सदस्य व्यवसायी माझ प्रवाह गरिनेछ। महिला व्यवसायीहरूको वृद्धि, विकास र नेतृत्वका लागि महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने छ।
ढकालले व्यवसायीसँग सम्बन्धित विभिन्न नीतिगत पक्षमा पनि स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्। नवीकरणमा समस्या झेलिरहेका परामर्शदाताहरू प्रति सरोकारवाला निकायसँग पहल गरिने र “PIER”, “TITI”, “ITAC” जस्ता संस्थासँग समन्वय गरी तालीम र छुट प्रदान गरिने उल्लेख गरेका छन्।
“सब–एजेन्ट” प्रवृत्तिको अन्त्य गर्न व्यावसायिक फोरम निर्माण गरिने, फार्म ट्रिप व्यवस्थापनलाई संस्थागत कार्यविधिमा रूपान्तरण गरिने र फेकनका सबै गतिविधि समयमै र पारदर्शी ढंगले जानकारी गराइने ढकालको योजना छ।
वार्षिक कार्यक्रम, सदस्य दर्ता तथा नवीकरण वार्षिक साधारण सभा अघि नै सम्पन्न गरिने र व्यावसायिक क्षमता अभिवृद्धिका लागि एकदेशीय गन्तव्य (Single Country Destination) बाट बहुदेशीय प्रक्रिया (Multiple Destination) मा विस्तारित सूचना र प्रक्रिया सम्बन्धी सत्रहरू आयोजना गरिने बताइएको छ।
अन्तर्राष्ट्रिय सम्बन्धलाई थप व्यवस्थित र विस्तार गर्ने, संस्थाको कोष वृद्धि गर्ने र विभिन्न कार्यक्रम मार्फत प्रायोजनकर्ता संकलन गर्ने योजना समेत समावेश गरिएको छ। साथै, फेकनको प्रतिनिधित्वमा समानान्तर संघसंस्था सँग प्रतिस्पर्धा होइन समन्वयको नीति लिइने उल्लेख छ।
ढकालले आफ्नो अन्तर्राष्ट्रिय अनुभव, प्राविधिक क्षमता र नेतृत्व क्षमतालाई प्रयोग गरी फेकनलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।
ढकाल हाल फेकनका सल्लाहकार हुन् र उनी एक्टिभ सिनर्जी कन्सल्टेन्सीका प्रबन्ध निर्देशकसमेत हुन्। उनले यसअघि फेकनको कार्यसमिति सदस्यका रूपमा एक कार्यकाल पूरा गरिसकेका छन्।