Matra Education आइतबार, साउन १० २०८३

फेकन उपाध्यक्षका लागि रोशन खरेलको उम्मेदवारी, यस्ता छन् योजनाहरू

फेकन उपाध्यक्षका लागि रोशन खरेलको उम्मेदवारी, यस्ता छन् योजनाहरू

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख २४ २०८२


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को यही वैशाख २७ गते हुने निर्वाचनका लागि हालका कार्यसमिति सदस्य रोशन खरेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। हिजो भएको मनोनयन दर्तामा उक्त पदमा उनले उम्मेदवारी दर्ता गराएका छन्। “सबैको सहभागिता, फेकनको प्रगति” भन्ने मूल नारासहित खरेलले फेकनको आगामी नेतृत्वमा जिम्मेवारी सम्हाल्ने उद्देश्य साथ उम्मेदवारी दर्ता गरेका हुन्।

आफू सन् २०१३ देखि संघमा सक्रिय सदस्यका रूपमा क्रियाशील रहेको र सदस्यहरूको आवाज बुलन्द पार्ने, निर्णय प्रक्रियामा पारदर्शिता ल्याउने र संस्थागत सुधारको पक्षमा निरन्तर पहल गर्दै आएको दाबी उनले गरेका छन्। कार्यसम्पादनमा स्पष्टता, योजनामा दृढता र कार्यान्वयनमा निरन्तरताका कारण आफूले संगठनभित्र गहिरो छवि बनाएको उनको दाबी छ।

“फेकन फरवार्ड” शीर्षकमा उनले प्रस्तुत गरेको आगामी कार्य योजना तीन मुख्य पक्षमा केन्द्रित छ: सदस्य सशक्तीकरण, संस्थागत मजबुती र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपस्थिति। सदस्य सशक्तीकरण अन्तर्गत खरेलले निःशुल्क तालिम, मेन्टरशिप कार्यक्रम तथा महिला र युवा सदस्यहरूका लागि विशेष अवसरहरूको प्रतिबद्धता जनाएका छन्। सदस्यको व्यक्तिगत र व्यावसायिक विकासलाई संगठनको प्रगतिको मेरुदण्ड मान्दै उनले सहभागितालाई अझ व्यापक बनाउने योजना बनाएका छन्।

संस्थागत मजबुतीका लागि पारदर्शी निर्णय प्रक्रिया र डिजिटल प्लेटफर्ममार्फत सञ्चारलाई प्रभावकारी बनाउने उनको योजना छ। खरेलले फेकनभित्रको सूचना प्रवाहलाई व्यवस्थित र आधुनिक बनाउँदै सबै सदस्यसम्म निर्णय प्रक्रिया, कार्यक्रम, तथा घोषणाहरू सरल ढंगले पुग्ने सुनिश्चितता दिने लक्ष्य प्रस्तुत गरेका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्न उनी सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग रणनीतिक साझेदारी विस्तार गर्ने योजना लिएर आएका छन्। फेकनका उपलब्धिहरूलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने, संस्था र व्यवसाय दुवैको विश्वसनीयता अभिवृद्धि गर्ने प्रयासमा जुट्ने प्रतिबद्धता खरेलले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड