काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को यही वैशाख २७ गते हुने निर्वाचनका लागि हालका कार्यसमिति सदस्य तथा इसिए एवं तालिम विभाग प्रमुख सञ्जय बस्नेतले सचिव पदमा उम्मेदवारी दिएका छन्। हिजो भएको मनोनयन दर्तामा सचिव पदमा उनले उम्मेदवारी दर्ता गराएका छन्। विगतको अनुभव र आगामी योजना सहित अगाडी आएका उनले संगठनलाई पारदर्शी, आधुनिक र सदस्यमुखी बनाउने लक्ष्य प्रस्तुत गरेका छन्।
उनले फेकनमा रहँदा आफ्नो नेतृत्वमा आयोजित फुटसल लिग, वार्षिक खेलकुद सप्ताह , दसैँ लगायत चाडपर्व विशेष कार्यक्रम , वार्षिक पिकनिक र विभिन्न सांस्कृतिक कार्यक्रमहरू मार्फत सदस्यहरूको आपसी एकता र संगठन प्रतिको आस्था अभिवृद्धि गर्न सफल भएको बताएका छन्। यसले फेकनलाई केवल व्यावसायिक संस्था मात्रै नभई सामाजिक थलोको रूपमा स्थापित गरेको उनले दाबी गरेका छन्।
सचिवको रूपमा उनले प्रस्तुत गरेका योजनामा संस्थागत सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राखिएको छ। पारदर्शी कार्य प्रणाली अन्तर्गत मासिक कार्य विवरण सार्वजनिक गर्ने, सदस्यहरूको नियमित सुझाव संकलन गर्ने प्रणाली विकास गर्ने र सबै गतिविधिलाई डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने सम्मका योजनाहरू उनले अगाडि सारेका छन्। सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न सूचना प्रवाहलाई सरल, प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धता उनले जनाएका छन्।
प्रशिक्षण तथा क्षमता विकासतर्फ पनि बस्नेतको योजना व्यापक देखिन्छ। प्रत्येक महिनामा परामर्शदाता व्यवसायसँग सम्बन्धित विशेष तालिम आयोजना गर्ने (जसमा डिजिटल मार्केटिङ, वित्तीय व्यवस्थापन र कन्सल्टेन्सी दक्षता वृद्धिलाई प्राथमिकता दिइने) योजना छ। युवा सदस्यहरूलाई लक्षित गर्दै मेन्टरशिप कार्यक्रम र इन्टर्नसिप अवसरहरू सिर्जना गरिनेछ, जसले संघभित्रको भावी पुस्तालाई व्यावसायिक रूपमा सक्षम र नेतृत्वका लागि तयार बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
सदस्य हितका लागि नीतिगत स्तरमै सक्रिय पहल गर्ने योजना उनले सार्वजनिक गरेका छन्। सदस्यहरूका लागि विशेष छुट, सेवा र सहुलियतका साझेदारी कार्यक्रमहरू सञ्चालन गर्ने, नियमित सदस्य भेला र वार्षिक सम्मेलन आयोजना गर्ने तथा व्यावसायिक नेटवर्क विस्तार गर्न सहयोग पुग्ने किसिमका कार्यक्रमहरू ल्याउने उनका योजना छन्।
फेकनमा आफूले हासिल गरेको अनुभव र सदस्य हितमा निरन्तर काम गर्ने सोचले आफू सचिव पदका लागि उपयुक्त उम्मेदवार भएको बस्नेतको दाबी छ। उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, “म केवल उम्मेदवार होइन, जिम्मेवारी बोकेर आएको छु। संगठनलाई पारदर्शिता, सबलीकरण र समावेशितातर्फ डोर्याउने मेरो दायित्व हुनेछ।”