काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को यही वैशाख २७ गते हुने निर्वाचनका लागि रामचन्द्र केसी (आरसी) ले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्। आज भएको उम्मेदवार मनोनयनमा उनले उक्त पदमा उम्मेदवारी दिएका हुन्। विगत १० वर्षदेखि फेकन सदस्यको रूपमा रहेर सक्रिय भूमिका खेल्दै आएका केसीले फेकनको सर्वोपरि हितका लागि एक कार्यकालका नेतृत्वदायी भूमिका निर्वाह गर्ने भन्दै उम्मेदवारी घोषणा गरेका हुन्।
फरविड एजुकेसन करियरमार्फत शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील रहेका केसीले सचिव पदमा उम्मेदवारी दिँदा केही महत्त्वपूर्ण प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्। उनले शैक्षिक परामर्श व्यवसायीहरूको व्यावसायिक हित र प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने बताएका छन्। साथै, संस्थाको हितका लागि पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै शैक्षिक परामर्श क्षेत्रका समस्याहरूको समाधान र सुधारमा आफूलाई समर्पित गर्ने बताएका छन्।
सामाजिक सञ्जाल मार्फत गरेको उम्मेदवारी घोषणामा केसी लेख्छन्, “शैक्षिक परामर्श क्षेत्रमा देखिएका विकृतिहरू हटाई, विवादरहित र स्वच्छ फेकन निर्माण गर्नु मेरो प्रमुख प्राथमिकता हो।” उनले पारदर्शिता, व्यावसायिक एकता र समृद्ध फेकन निर्माणलाई आफ्नो अभियानको केन्द्रमा राखेका छन्।
उनले फेकनमा आबद्ध सम्पूर्ण परामर्शदाताहरूको सामूहिक लगानीमा आधारित कम्पनी स्थापनाको अवधारणा प्रस्तुत गर्दै सदस्यहरूका लागि आपत्कालीन कोषको स्थापना गर्ने परिकल्पना पनि अघि सारेका छन्।
“म कुनै व्यक्तिको होइन, सम्पूर्ण फेकन सदस्यहरूको आवाज बन्न चाहन्छु,” उनले भनेका छन्, “संस्थाको दीर्घकालीन हित, व्यावसायिक मर्यादा र पारस्परिक सहयोगका लागि मेरो उम्मेदवारी आवश्यक, स्वाभाविक र समयसापेक्ष छ।”
फेकनका सबै सदस्यहरूलाई सहयोग, समर्थन र अमूल्य मतका लागि आग्रह गर्दै केसीले निर्वाचनलाई अवसरको रूपमा लिएर सामूहिक सुधार र परिवर्तनमा लाग्ने दृढ संकल्प व्यक्त गरेका छन्।