काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को यही वैशाख २७ गते हुने निर्वाचनका लागि तिलक पाण्डेले महासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्। आज भएको उम्मेदवार मनोनयनमा उनले उक्त पदमा उम्मेदवारी दिएका हुन्। रामशाहपथ, पुतलीसडकस्थित म्याग्ना एजुकेसनका संस्थापक निर्देशक तथा सिइओका रूपमा विगत १५ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहेका पाण्डेले फेकनलाई अझ गर्विलो, सभ्य र मर्यादित संस्था बनाउने उद्देश्यले उम्मेदवारी दिएको घोषणा गरेका छन्।
विद्यार्थी, अभिभावक र परामर्श व्यवसायीहरू सँगको निरन्तरको प्रत्यक्ष अनुभवलाई सशक्त नेतृत्वमा रूपान्तरण गर्दै फेकनमा नयाँ ऊर्जा र प्रभावकारी सुधार ल्याउने लक्ष्य लिएको पाण्डेले बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै महासचिव पदमा विजयी गराउन सबै सदस्यहरूलाई साथ र समर्थनका लागि आग्रह गरेका छन्।
पाण्डेले आफ्नो उम्मेदवारी सँगै केही स्पष्ट प्रतिबद्धताहरू पनि सार्वजनिक गरेका छन्। उनका अनुसार भुईँ तहमा क्रियाशील व्यवसायीहरूले अपनत्व महसुस गर्ने गरी संस्थालाई अझ मजबुत बनाउने, विदेशी विश्वविद्यालय र कलेजहरूसँग फेकन सदस्यहरूलाई प्रत्यक्ष जोड्ने प्लेटफर्म तयार गर्ने र ‘सबै एकका लागि, एक सबैका लागि’ भन्ने नारालाई व्यवहारमा उतार्ने योजना छ।
उनले संस्थामा पूर्ण पारदर्शिता कायम गर्दै सदस्यहरूको क्षमता अभिवृद्धि र व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउने, व्यक्तिगत हितभन्दा सामूहिक हितलाई प्राथमिकता दिने संस्कारको विकास गर्ने र ‘फेकन अनुसन्धान एकाइ’ स्थापना गरी समस्याको पहिचान र समाधान प्रणालीलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएका छन्।
विद्यार्थी, अभिभावक र परामर्श व्यवसायी मैत्री नीति निर्माण गर्ने, वैदेशिक अध्ययनको क्रममा मेडिकल, इन्जिनियरिङ, पारामेडिकल क्षेत्रमा देखिएका समस्याको समाधानमा भूमिका खेल्ने र महिला उद्यमीहरूको सहभागिता बढाउन नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्ने योजना पनि पाण्डेले अघि सारेका छन्।
“फेकनलाई सक्षम नेतृत्व र सहकार्यद्वारा नयाँ उचाइमा पुर्याउन म प्रतिबद्ध छु,” पाण्डेले भनेका छन्, “महासचिव पदमा मेरो उम्मेदवारी समयसापेक्ष र उद्देश्य प्रेरित छ। सबै साथीहरूबाट भरोसा, समर्थन र अमूल्य मतको अपेक्षा राखेको छु।”