Matra Education आइतबार, साउन १० २०८३

महत्त्वाकाङ्क्षी योजनाहरू सहित उमेश कुश्वारले गरे फेकन अध्यक्ष पदमा उम्मेदवारी घोषणा

महत्त्वाकाङ्क्षी योजनाहरू सहित उमेश कुश्वारले गरे फेकन अध्यक्ष पदमा उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • मंगलबार, बैशाख २३ २०८२


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिवार हुने निर्वाचनका लागि हालका वरिष्ठ उपाध्यक्ष उमेश कुश्वारले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि संस्थामा विभिन्न जिम्मेवारी बहन गर्दै आएका कुश्वारले एक औपचारिक वक्तव्यमार्फत आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी गराएका हुन्।

कुश्वारले विगत एक दशकभन्दा बढी समयदेखि फेकनमा निरन्तर रूपमा योगदान दिँदै आएका छन्। कार्यसमिति सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्मका जिम्मेवारीहरू इमानदारीपूर्वक निर्वाह गरेका उनले आफ्नो कार्यकालमा संघले राष्ट्रिय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको दाबी गरेका छन्। आफ्नो नेतृत्वमा फेकनले विभिन्न नयाँ अभ्यासहरू सुरु गरेको र त्यसले संस्थालाई व्यवस्थित, पारदर्शी र पेसागत बनाएको उनको भनाई छ।

उनले फेकनको इतिहासमै पहिलो पटक आधुनिक ढंगको वार्षिक साधारण सभा सम्पन्न गरिनु, सदस्यहरूको व्यावसायिक र व्यक्तिगत विकासका कार्यक्रम सञ्चालन, अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयहरूसँग प्रत्यक्ष संवाद र सहकार्य स्थापना, अस्ट्रेलियामा सम्पन्न ऐतिहासिक फार्म ट्रिप र विदेशी अध्यागमन तथा शिक्षा मन्त्रालयहरूसँग कूटनीतिक समन्वय स्थापना जस्ता कार्यहरूलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। साथै, नेपाली दूतावास, महावाणिज्यदूत तथा नेपाली डायस्पोरा संस्थाहरू सँगको मजबुत सहकार्य, फेकन फुटसल प्रतियोगिता, वृहत् पिकनिक र फेकनको इतिहास सम्बन्धी पहिलो आधिकारिक भिडियो निर्माण पनि उनले उल्लेख गरेका छन्।

कुश्वारले आफ्नो उम्मेदवारी सँगै फेकनको भावी दिशाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्। उनले फेकनलाई नेपालको मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै विश्वासिलो र उत्कृष्ट शैक्षिक परामर्श संस्था बनाउने लक्ष्य राखेका छन्। शैक्षिक परामर्श व्यवसायको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सरकारसँग निरन्तर संवाद गर्ने, सदस्यहरूको समृद्धिका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने, दक्ष जनशक्ति सहित डिजिटल र आधुनिक कार्यालय स्थापना गर्ने र फेकन एप मार्फत विद्यार्थीहरूको सूचनालाई व्यवस्थित गर्ने योजनाबारे उनले बताएका छन्।

त्यस्तै, विदेशमा निधन भएका नेपाली विद्यार्थीहरूको शव नेपाल ल्याउन विशेष कोष स्थापना गर्ने, वार्षिक अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना गर्ने, सदस्यहरूका लागि बिमा कोष निर्माण गर्ने र नेपालमै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अध्ययनका अवसरहरू उपलब्ध गराउने जस्ता योजनाहरू पनि उनले अघि सारेका छन्। अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आपतकालीन सहायता केन्द्र स्थापना, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि फेकन बिजनेस ग्रुप निर्माण र नेपालमै अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन आयोजना गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

कुश्वारले आफ्नो नेतृत्वमा फेकनलाई अझ व्यावसायिक, पारदर्शी र सदस्य–केन्द्रित संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्दै सदस्यहरूको अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, विभिन्न देशहरूसँग शैक्षिक सहकार्य तथा महिला सदस्यहरूको सशक्त सहभागिता सुनिश्चित गर्ने स्पष्ट योजना अघि सारेका छन्। साथै, सदस्यहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धी तालिम, कार्यशालाको आयोजना तथा मृत्यु वा कानुनी समस्यामा आर्थिक तथा प्रशासनिक सहायता प्रदान गरिने व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

उनले फेकनको उज्यालो भविष्य निर्माणका लागि सबै सदस्यहरूबाट साथ, समर्थन र विश्वासको अपेक्षा गरेका छन् र आफ्नो नेतृत्व सक्षम, इमानदार तथा परिणाममुखी हुने विश्वास व्यक्त गरेका छन्।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड