काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आसन्न निर्वाचनका लागि हालका सल्लाहकार रामशरण ढकालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सोमबार दिउँसो सामाजिक सञ्जाल मार्फत उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
एक सार्वजनिक सन्देश जारी गर्दै ढकालले फेकन प्रति आफ्नो गहिरो प्रतिबद्धता र नेतृत्व गर्ने आत्मविश्वास व्यक्त गरेका छन्। “फेकनका मूल्य, मान्यता र दृष्टिकोणप्रति समर्पित हुँदै म आगामी निर्वाचनमा अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गर्दछु,” ढकालले लेखेका छन्।
हाल फेकनमा सल्लाहकारका रूपमा सक्रिय रहेको उल्लेख गर्दै उनले इमानदारिता, समावेशिता र स्पष्ट दृष्टिकोणका साथ संस्थालाई नेतृत्व गर्न सक्ने क्षमताका साथ आफू आएको बताएका छन्। ढकालले आफ्नो विस्तृत एजेन्डा र योजना चाँडै सार्वजनिक गर्ने जानकारी समेत दिएका छन्।
“हामी सबैको साझा प्रयासमा बलियो र एकताबद्ध फेकन निर्माणका लागि तपाईँहरूको साथ र समर्थनको अपेक्षा गर्दछु,” ढकालको सन्देशमा उल्लेख गरिएको छ।
ढकालले फेकनमा यस अघि एक कार्यकाल कार्यसमिति सदस्यका रूपमा समेत काम गरिसकेका छन्। विभिन्न शैक्षिक संस्थाहरूको ‘एजेन्ट वर्कसप’ तथा तालिमहरू सञ्चालन गरेर फेकनलाई योगदान गरेका उनी संस्थाको गुणात्मक विकास हुनुपर्ने धारणा राख्छन्। शैक्षिक परामर्श व्यवसाय क्षेत्रमा २० वर्ष भन्दा बढी अनुभव भएका उनी संस्थाको एकताका लागि सुरुवात देखि नै आफूले भूमिका खेलेको र अब पनि आफ्नो प्रयास त्यही हुने बताउँछन्।
ढकाल एक्टिभ सिनर्जी कन्सल्ट्यान्सका प्रबन्ध निर्देशक हुन्।