काठमाडौँ- अस्ट्रेलियन गृह मामिला विभागले नेपाललाई ‘सिम्प्लिफाइड स्टुडेन्ट भिसा फ्रेमवर्क’ (एसएसभिएफ) अन्तर्गत जोखिम स्तर ३ बाट स्तर २ मा उकाल्ने निर्णय गरेको छ। अप्रिल १ तारिख देखि लागू भएको यो निर्णयले अध्ययनका लागि अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरूको बाटो अब सरल र छिटो बनाएको भन्दै परामर्श व्यवसायी र सम्बद्ध विद्यार्थी अभिभावकमा उत्साह देखिएको छ । नेपाली विद्यार्थीले सबैभन्दा बढी रुचाएको गन्तव्य अस्ट्रेलिया के अब साँच्चै सहज होला त ? स्तर २ मा हुँदा नेपाललाई के फरक पर्छ ? यो सामग्री मार्फत हामी विस्तृत चर्चा गर्नेछौँ।
के हो एसएसभिएफ?
एसएसभिएफ अस्ट्रेलियाको विद्यार्थी भिसा प्रणालीलाई सरल र प्रभावकारी बनाउन ल्याइएको एउटा नीति हो। सन् २०१६ को जुलाई एक तारिख देखि लागू गरिएको यो प्रणालीको उद्देश्य विद्यार्थी भिसा आवेदन प्रक्रियालाई सहज बनाउनु, वास्तविक विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु, शैक्षिक संस्था तथा व्यवसायीहरूको झन्झट कम गर्नु र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको दिगो विकासमा योगदान गर्नु हो।
यही प्रणाली अन्तर्गत रहेर अस्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई भिसा दिँदा सम्बन्धित देश र शिक्षण संस्थाको जोखिम मूल्याङ्कन गरी तीन वटा स्तरमा वर्गीकरण गर्छ। यसमा स्तर १ मा रहेका देशहरू कम जोखिमका हुन्छन् भने स्तर २ का मध्यम जोखिम र स्तर ३ का उच्च जोखिममा रहेको मानिन्छ।
यो निर्णय अघि स्तर ३ मा रहेको नेपालले अब स्तर २ मा पुगे सँगै केही फाइदाहरू पाउनेछ। खासगरि अहिले अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरूको सबैभन्दा ठुलो टाउको दुखाई बन्ने गरेको वित्तीय प्रमाणपत्रहरू (फाइनान्सियल डकुमेन्ट) मा अब केही सहजीकरण हुनेछ। अङ्ग्रेजी भाषा परीक्षा (आइएल्टिएस/पिटिई) बिना पनि आवेदन दिन सकिने सम्भावना रहन्छ (अब सम्बन्धित शैक्षिक संस्थाले मागेमा मात्रै बुझाउनु पर्ने हुन्छ, तर भिसा आवेदन गर्दा अनिवार्य नहुन सक्छ) । त्यस्तै अब कम जोखिम भएका शिक्षण संस्थामा सजिलो ढंगले आवेदन गर्न सकिनेछ।
नेपालले स्तर २ किन प्राप्त गर्यो?
यस क्षेत्रका जानकारहरूका अनुसार नेपालको समग्र सुधार, विद्यार्थीहरूको इमानदार कार्यशैली र शिक्षाको स्तर उकास्ने प्रयासले यो उपलब्धि सम्भव भएको हो। त्यस्तै भिसा उल्लङ्घन र ओभरस्टे दर घटेको, रेमिट्यान्समा आधारित स्थिर अर्थतन्त्र, अध्ययनपछि फर्किने दरमा सुधार र शैक्षिक नतिजामा प्रगतिले पनि यो सम्भव भएको हो।
अब नेपाली विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको शैक्षिक संस्थाको एसएसभिएफ स्तर जाँच गर्ने र कम जोखिम स्तर भएको शिक्षण संस्थामा आवेदन दिने गरेमा उनीहरूको अस्ट्रेलिया सपना साकार हुने विज्ञहरूको भनाई छ।