Matra Education बिहिबार, भाद्र २५ २०८३

नेकाको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

नेकाको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन २५ २०८१


काठमाडौँ- राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार थापाथली स्थित ब्लुबर्डमलको सभाहलमा आयोजित एक कार्यक्रमका बिच संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।

नेका अध्यक्ष सन्तोष प्याकुरेलको सभापतित्व तथा संघीय संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा रास्वपा सांसद मनिष झा सहित विभिन्न संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा नेका सदस्य परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै नेका उपाध्यक्ष निरज सिटौलाले छैटौँ वार्षिक साधारण सभा मार्फत परामर्श व्यवसाय क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्ने र व्यवसाय क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने वातावरण बनाउन सकियोस् भन्ने कामना गरे।

कार्यक्रममा एरि नेपाल अध्यक्ष द्विराज शर्मा, फेकन अध्यक्ष राजु निरौला, आइरिन अध्यक्ष हेमन्त भट्टराई, एक्यान अध्यक्ष किशोर तिवारी, नेपाल अभिभावक महासंघ अध्यक्ष सुप्रभात भण्डारी लगायतको भिडियो शुभकामना सन्देश प्रस्तुत गरिएको थियो। सबै अतिथि वक्ताहरूले नेकाको साधारण सभा सफलताको शुभकामना दिँदै परामर्श व्यवसाय क्षेत्रका समस्या तथा चुनौती बारे गहन छलफल गरेर अर्थपूर्ण निष्कर्ष निकाल्न सकोस् भन्ने शुभकामना संस्थालाई दिएका थिए।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपालका विश्वविद्यालयहरू अध्ययनमा मात्रै केन्द्रित रहने तर विदेशी विश्वविद्यालयहरू व्यवहारिक सीप र ज्ञान दिनमा अगाडि रहने हुँदा विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति बढिरहेको उल्लेख गरे। उनले अमेरिकाबाट मात्रै ५० लाखभन्दा बढी नागरिक रोजगारको खोजीमा विभिन्न मुलुक गइरहेको उदाहरण दिँदै आप्रवासन (माइग्रेसन) एउटा स्वाभाविक प्रक्रिया भएको बताउँदै यसको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर चिन्तन आवश्यक रहेको धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि थापाले  नेपालमा उत्कृष्ट उच्च शिक्षा दिन नसक्दा विद्यार्थीहरू बिदेसिन बाध्य भएको बताए। उनले विदेश पठाउने प्रवृत्ति रोक्न शिक्षा स्तर सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै शैक्षिक परामर्श संस्थाहरूले स्वदेशी विश्वविद्यालयहरूको सम्भावनाबारे पनि जानकारी दिनुपर्ने सुझाव दिए। साथै कक्षा १२ पछिको शिक्षालाई रूपान्तरण गर्न राज्यले स्पष्ट मोडेल बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रमका सभापति प्याकुरेलले नेपालकै विश्वविद्यालयहरूको स्तर उकास्ने, विदेशी विश्वविद्यालयसँग सहकार्य गर्ने वा तिनका शाखा नेपालमा स्थापना गर्ने उपायबाट विद्यार्थीहरूको बिदेसिने प्रवृत्ति नियन्त्रण गर्न सकिने बताए। उनले शैक्षिक परामर्श संस्थाहरू सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै तिनको अनुगमन र दर्ता प्रक्रियामा सरकार गलत बाटोमा रहेकाले सुधार आवश्यक रहेको धारणा राखे। साथै एउटै लाइसेन्सबाट तीन वटा सेवा सञ्चालनको प्रावधान यथावत् राख्नुपर्ने र परामर्श संस्थाहरूको अनुमति तथा अनुगमन प्रदेशबाटै हुनुपर्नेमा उनले जोड दिए।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर समेत परेको हुँदा संस्थाले आफ्ना महिला सदस्यहरूलाई विशेष रूपमा सम्मान तथा अभिनन्दन गरेको थियो। साथै दिवसको महत्त्व बारे कविता वाचन पनि गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड