Matra Education आइतबार, साउन १० २०८३

अस्ट्रेलियाको न्याप्स कलेज र आइरिन सदस्यहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

अस्ट्रेलियाको न्याप्स कलेज र आइरिन सदस्यहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, माघ २४ २०८१


काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय शिक्षा प्रवर्द्धक प्रतिनिधि (आइरिन) र अस्ट्रेलियाको नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स) बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहीबार ठमेल स्थित बाराही होटेलमा आयोजित कार्यक्रम अस्ट्रेलिया अध्ययनका विविध पाटोहरू र न्याप्समा अध्ययन विषयमा केन्द्रित थियो। न्याप्स बारे विशेष प्रस्तुतीकरण र प्रश्नोत्तर सत्र सहितको कार्यक्रम अर्थपूर्ण छलफल गर्दै सम्पन्न भएको हो।

कार्यक्रमको सुरुवात गर्दै आइरिनका कार्यसमिति सदस्य घनश्याम घिमिरेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारे। उनले आइरिनले गुणस्तरीय शिक्षामा सम्झौता नगर्ने र त्यसका लागि परामर्श व्यवसायी पनि स्तरीय हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै न्याप्स त्यही आवश्यकता अनुसारको स्तरीय शिक्षा दिने शैक्षिक संस्था भएको बताए। घिमिरेले अन्तरक्रिया कार्यक्रमले दुई संस्था बिचको साझेदारीलाई अझै बलियो बनाउने विश्वास व्यक्त गरे।

छोटो भ्रमणका क्रममा नेपालमा रहेका न्याप्सका सञ्चालक सुमन भेटवालले न्याप्स र सो व्यवस्थापनले अस्ट्रेलियामै सञ्चालन गर्दै आएको ३ वटा अन्य शैक्षिक संस्थाहरू बारे आइरिन सदस्यहरूलाई जानकारी गराए। न्याप्समा पछिल्लो समय उत्कृष्ट नयाँ नयाँ कोर्सहरू आइरहेको र नेपाली विद्यार्थीलाई त्यहाँ सम्म पुर्‍याउन विश्वसनीय साझेदारहरू खोज्ने क्रममा आफूहरू आइरिन सँग आइपुगेको उनले बताए। एउटा शैक्षिक संस्थाका रूपमा आफूहरूले पुरै अवधि पढ्ने विद्यार्थी पठाउने साझेदार खोज्ने र परामर्श व्यवसायीहरूले पनि विद्यार्थी पठाउन उत्कृष्ट शैक्षिक संस्था खोज्ने हुँदा आइरिन र न्याप्सको सहकार्य राम्रो हुने उनको विश्वास थियो। न्याप्सको सञ्चालक समिति, कोर्स र उपलब्धि बारे समेत चर्चा गरेका उनले अध्ययन गर्न गएको विद्यार्थी सफल हुँदा मात्रै परामर्श व्यवसायी पनि सफल हुने धारणा राखे। उनले न्याप्स र आइरिन बिच दिगो साझेदारी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा न्याप्स बारे अर्थपूर्ण प्रस्तुतीकरण दिएका संस्थाका ‘रिजनल मार्केटिङ म्यानेजर’ मुकेश धमलाले पनि आइरिन सँगको सहकार्य आफूहरूका लागि विशेष रहेको बताए। न्याप्सको परिचय, अरू तीन वटा संस्था थप्दा सम्मको यात्रा अनुभव, न्याप्समा भएका कोर्सहरू बारे विस्तृत जानकारी गराएका उनले अस्ट्रेलिया अध्ययनका लागि न्याप्स छान्नुपर्ने विशेष कारणहरू बारे समेत चर्चा गरे। सेन्ट्रल स्टेसन नजिकै भएकाले मात्रै होइन व्यवसाय सँगै विद्यार्थीको सन्तुष्टिका लागि समेत काम गर्ने भएकाले र रिफण्ड चाहिने बेला १ हप्तामै फिर्ता पाउनका लागि समेत न्याप्स छान्नुपर्ने उनको भनाई थियो। न्याप्सले एकेडेमीक ट्रान्सक्रिप्ट मात्रै नभई अध्ययन पुरा गरे सँगै सिभिमा परियोजना पूरा गरेको योग्यता सहित विद्यार्थीलाई पठाउने गरेको हुँदा त्यहाँ पढेका विद्यार्थीहरू बढी सफल हुने गरेको समेत उनले उल्लेख गरे। उत्कृष्ट शैक्षिक वातावरण, त्यही अनुसारको सञ्चालक समूह, अध्यापन गराउनका लागि विश्वस्तरीय प्राध्यापकहरू आदि भएकाले न्याप्सले अबको दशकमा चाहिने जनशक्ति उत्पादन गर्न सक्ने किसिमको शिक्षा प्रदान गर्दै आएको उनले बताए। धमलाले अस्ट्रेलिया अध्ययनका लागि पछिल्लो समय भएका नीतिगत परिवर्तन र त्यसले पार्ने प्रभाव बारे समेत चर्चा गरे।

कार्यक्रममा एक्सपर्ट एजुकेसनका नेपाल निर्देशक खेम सङ्ग्रौला र सञ्चारकर्मी सुनिल आचार्यले न्याप्स भ्रमणको आ-आफ्नो अनुभव सुनाउँदै निर्धक्क भएर संस्था सँग काम गर्न उपस्थित व्यवसायीहरूलाई सुझाव दिए।

कार्यक्रम समापन गर्दै आइरिनका अध्यक्ष हेमन्त भट्टराईले आइरिन विश्वसनीय परामर्श व्यवसायीहरू मात्रै रहेको संस्था भएको हुँदा यसले उत्कृष्ट शैक्षिक संस्थालाई मात्रै समर्थन गर्ने र न्याप्स त्यस्तै संस्था भएको हुँदा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए। उनले आफूहरू सङ्ख्यामा थोरै भए पनि अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरू मध्ये करिब ४५% आइरिन सदस्य बाट जाने गरेको उल्लेख गरे। आफूहरूले सही डकुमेन्ट र सही मार्गनिर्देश गर्छौँ भने जस्तै न्याप्स पनि काम बाट विश्वसनीय भएकाले यसलाई छानिएको उनको भनाइ थियो। न्याप्समा पठाउँदा धोका नहुने, विद्यार्थीले राम्रो गर्न सक्ने र आफूहरू सफल हुने विश्वास व्यक्त गरेका उनले अब नेपालमा अध्ययनका लागि विदेशी विद्यार्थी ल्याउनुपर्ने आफूहरूको धारणा रहेको र त्यसका लागि प्रयासरत रहेको बताए। भट्टराईले आइरिन र न्याप्सको सहकार्यले नेपाली विद्यार्थीलाई अधिकतम लाभ प्रदान गरोस् भन्ने कामना गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड