काठमाडौँ- नेपालको कानुनलाई पटक पटक चुनौती दिँदै गतिविधिहरू गर्दै आएको इडियु म्याण्डेटले फेरी एक पटक नेपाली परामर्श व्यवसायीहरूलाई झुटो इमेल पठाएर ठग्ने काम गरेको छ। आफूहरू फिनल्यान्डको ‘लुट युनिभर्सिटी’ ‘ल्याब युनिभर्सिटी अफ अप्लाइड साइन्सेस’ लगायतको प्रतिनिधि भएको र इडियु म्याण्डेट मार्फत अब ती शैक्षिक संस्थाहरूमा आवेदन दिन सकिने भन्दै उसले धेरै नेपाली परामर्श व्यवसायीहरूलाई इमेल पठाएको छ। तर मात्र एजुकेसनले ती विश्वविद्यालयहरू सँग लिएको जानकारी अनुसार यी कुनै पनि शैक्षिक संस्थाको आधिकारिक प्रतिनिधित्व इडियु म्यान्डेटले गर्दैन।
यसरी आधिकारिक प्रतिनिधित्व नगर्ने संस्था बाट विद्यार्थी पठाउँदा त्यसले धेरै समस्या निम्त्याउन सक्छ। मुख्य कुरा चाहिँ यदि त्यो विद्यार्थी कुनै समस्यामा पर्यो भने उसको समस्या समाधान गर्नका लागि जिम्मेवार को रहने भन्ने प्रश्न उठ्छ। यसो हुँदा विद्यार्थीको भविष्य नै संकटमा नपर्ला भन्न सकिन्न।
मात्र एजुकेसनले यो विषयमा इडियु म्याण्डेटको धारणा बुझ्ने प्रयास गरेको थियो। उक्त संस्थाकी ‘एजेन्ट रिलेसन्स’ विभाग हेर्ने जया सिंह (जसको नाम बाट माथि भनिएको इमेल समेत आएको छ) ले नेपालका लागि आफूहरूले फिनल्यान्डका शैक्षिक संस्थाको प्रतिनिधित्व नगर्ने बताइन्। ‘त्यसो भए माथि उल्लेखित इमेल अधिकांश नेपाली परामर्श व्यवसायीलाई किन आयो ?’ भन्ने मात्र एजुकेसनको प्रश्नमा उनले त्यो इमेल नेपालका लागि नभएको तर्क दिइन्। त्यो स्वचालित (अटोमेटिक) इमेल भएको र अन्य ठाउँमा पठाउँदा नेपालीलाई समेत गएको हास्यास्पद जवाफ दिइन्।
जयाको जवाफ आफैँमा विश्वसनीय छैन। आफूलाई ‘ग्लोबल रिक्रुटर’ दाबी गर्ने कम्पनीले नेपाली व्यवसायीलाई नेपाल बाट फिनल्यान्ड काम नगर्ने भए इमेल किन पठाउँछ ? भन्ने पहिलो प्रश्न उठ्छ। यदि उनले दाबी गरे जस्तो अन्यलाई पठाउँदा नेपाली व्यवसायीलाई पनि इमेल आएको हो भने झन् शैक्षिक काममा समेत इडियु म्याण्डेट कति लापरवाह छ भन्ने अर्को प्रश्न उठ्छ।
उनले दाबी गरेको जस्तो अन्य देश बाट फिनल्यान्डका ‘लुट र ल्याब युनिभर्सिटी’ को काम गर्नका लागि इडियु म्यान्डेटले आधिकारिक प्रतिनिधित्व गरेको हुन्थ्यो भने त्यो दाबी केही विश्वसनीय हुन पनि सक्थ्यो तर ती शैक्षिक संस्थाहरूको आधिकारिक वेबसाइटमा इडियु म्याण्डेटको नाम छैन। ल्याब युनिभर्सिटीको यो सुचीमा कतै पनि संस्थाको नाम छैन। त्यस्तै लुट युनिभर्सिटीको एजेन्ट सूचिमा समेत कतै यो संस्थाको नाम छैन। उनीहरूले दाबी गरेको जस्तो ग्लोबल सूचिमा एउटा मात्रै कम्पनीको नाम छ तर त्यो इडियु म्याण्डेट होइन। यी तथ्यहरूले यो कम्पनीले नेपाली शैक्षिक परामर्श व्यवसायीहरू जस्तै अन्य देशका परामर्श व्यवसायीहरूलाई समेत आधिकारिक प्रतिनिधि हौँ भनेर गुमराहमा राख्ने र विद्यार्थीहरूको भविष्यमा खेलबाड गर्दै आफ्नो गलत व्यवसाय गरिरहेको त छैन ? भन्ने प्रश्न उब्जाउँछ।

नेपाली शैक्षिक परामर्श व्यवसायीको हक हितका लागि भन्दै विभिन्न परामर्श व्यवसायी संघहरु खुलेका छन् र सक्रिय छन्। यसरी एउटा ‘अनलाइन पोर्टल’ ले पटक पटक नियम उल्लङ्घन गर्दा र नेपालको कानुनमा समेत नआई गलत क्रियाकलाप गरिरहँदा ती संघहरु के भन्छन् भनेर हामीले दुई ठुला संघको धारणा बुझेका छौँ।
स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) का महासचिव छविन्द्र ओझा यसरी आफू सँग एजेन्ट नभएको शैक्षिक संस्थाको प्रचार गर्नु गैर-कानुनी भएको बताउँछन्। कुनै पनि अनलाइन पोर्टल वा जिम्मेवार संस्थाले नेपाल राज्यको कानुनलाई पुरा पालना गर्नुपर्छ भन्ने फेकनको स्पष्ट धारणा रहेको भन्दै उनी अगाडी भन्छन्, ‘पहिलो कुरा त नेपालमा दर्ता गरेर कर प्रणालीमा आएपछि मात्रै यहाँ काम गर्ने अधिकार हुन्छ। त्यसरी दर्ता नभएको त्यो कम्पनी आफैँ अवैधानिक छ। त्यस्ता संस्थाले गर्ने हरेक गतिविधि नेपालमा इलिगल हुन्छ र शैक्षिक परामर्श नियमावली विरुद्ध हुन्छ भन्ने हाम्रो ठहर छ।’ यस्ता संस्था सँग काम गर्दा आउने समस्या बारे सचेत गराउँदै उनी अगाडी थप्छन्, ‘भोलि विद्यार्थी समस्यामा पर्दा वा उनीहरूको भिसा रिजेक्ट हुँदा रिफण्ड लगायत कामहरू गर्न समस्या हुन्छ। यस्तो काम गर्दा विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श व्यवसायी सबै समस्यामा पर्छन्। यस्ता दर्ता नभएका अनलाइन पोर्टलहरू प्रक्रियामा आउँदैनन् भने सरकारले बन्द गर्नुपर्छ भन्ने फेकनको स्पष्ट धारणा छ।’
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई गैर कानुनी रूपमा चलिरहेका एडटेक कम्पनीहरू विरुद्ध राज्य कठोर नबनेसम्म यस्ता समस्या आइरहने बताउँछन्। इक्यानले पटक पटक अवैध र अनधिकृत पोर्टल, इजाजत नभएका एडटेक कम्पनी र सम्बन्धित निकायबाट स्वीकृति नलिएका कन्सल्टेन्सीहरूका कारण शैक्षिक परामर्श क्षेत्रले समस्या भोगेको विषयमा राज्यलाई ध्यानाकर्षण गराएको स्मरण गराउँदै त्यसमा राज्यले चासो नदिँदा समस्या भएको उनले बताए। शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न र उक्त क्षेत्रमा देखिने विविध समस्या समाधानका लागि पनि राज्यले यस्तो कदम चालोस् र उचित नियमन गरोस् भन्ने पक्षमा इक्यान रहेको उनले बताए।
यो विषयमा थप प्रस्टीकरणका लागि हामीले नेपाल बाट फिनल्यान्डमा विद्यार्थी पठाउने काम गर्दै आएका व्यवसायीहरूको समेत धारणा बुझेका थियौँ। विगत लामो समय देखि उक्त गन्तव्यमा काम गरिरहेका एक व्यवसायी भन्छन्, ‘ल्याब युनिभर्सिटीले हाल नेपाल, बङ्गलादेश र पाकिस्तानमा कुनै पनि संस्थालाई आधिकारिक एजेन्सी दिएको छैन। त्यस्तै लुट युनिभर्सिटीको नेपालमा आधिकारिक प्रतिनिधि भए पनि तपाईँले उल्लेख गरेको संस्था होइन। यो वास्तविकतामा बाबजुद पनि यसरी भ्रम छर्नु भनेको सरासर गलत हो। म सम्बन्धित परामर्श व्यवसायीहरू र विद्यार्थी, अभिभावकलाई ती विश्वविद्यालयहरूको वेबसाइटमा गएर हेर्न र यस्ता झुट बाट टाढै रहन अनुरोध गर्छु।’
इडियु म्यान्डेटले यस अघि पनि नेपाल सरकारको सम्बन्धित निकाय सँग स्वीकृति नलिई होटेलमा शैक्षिक मेला गरेको, नेपाली विद्यार्थी सँग क्यानडाको साइप्रस कलेजका लागि नन रिफण्डएबल (भिसा नलागे पनि फिर्ता नहुने गरी) दर्ता शुल्कका नामामा अवैधानिक पैसा उठाएको लगायत गलत कार्यहरू गर्दै आएको छ। संस्थाले शैक्षिक परामर्श व्यवसायीहरूलाई पठाउने कमिसन पनि बैङ्क मार्फत नभई नेपाल बाटै नगद दिने गरेको पनि बताइएको छ। त्यस्तै यो संस्था नेपाली कानुनलाई नटेरेर दर्ता समेत नभई गैरकानुनी रूपमा नेपालमा सञ्चालित छ। दर्ता किन गरिएन भन्ने प्रश्नको भने इडियु म्याण्डेट प्रतिनिधि जयाले कुनै जवाफ दिइनन्।
नेपाल सरकारले यस्ता भ्रमको खेती गर्ने र आफूलाई नेपालको कानुन भन्दा माथि हुँ भन्नेहरूलाई समयमै नियन्त्रण नगर्ने हो भने नेपाली विद्यार्थीहरू जुनसुकै तहको समस्यामा पर्न सक्ने देखिन्छ।