काठमाडौँ- शैक्षिक परामर्श सेवा प्रदायक संस्था ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीले राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अञ्जना राणा मगरलाई सद्भावना दूत नियुक्त गरेको छ। सोमबार अरन्या बुटिक होटेलमा आयोजित एक समारोहका बिच ड्रिम अनका प्रबन्ध निर्देशक भिम बहादुर थापा र अञ्जनाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यो सँगै आगामी एक वर्षका लागि उनी ड्रिम अनको सद्भावना दूत बनेकी छिन्।
उक्त सम्झौताको साक्षी बन्न अतिथिका रूपमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, एनडेका अध्यक्ष दिपक गुरुङ, आइसा (इन्सुरेन्स) प्रतिनिधि सिपा रेग्मी सहित परामर्श व्यवसायी र सञ्चारकर्मीहरू पुगेका थिए। ड्रिम अनको बारेमा छोटो परिचय सहित सुरु गरिएको कार्यक्रममा नेपाली खेलकुदको विकासका लागि योगदान गर्ने उद्देश्यले समेत मगरलाई सद्भावना दूत नियुक्त गरिएको बताइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एनडेका अध्यक्ष गुरुङले खेलाडी सँगको यस्तो सम्झौताले नेपाली खेल क्षेत्रलाई प्रोत्साहन मिलेको बताए। आफू पनि जीवनभर खेलकुद क्षेत्रमा लागेको बताएका उनले राज्यले खेलकुद क्षेत्रलाई महत्त्व नदिएको गुनासो गरे। उनले यो सम्झौताले सम्झौता गर्ने संस्था र खेलाडी दुवैलाई फाइदा पुगोस् भन्ने कामना गरे।
इक्यान अध्यक्ष भट्टराईले ड्रिम अनको सुरुवाती यात्रा देखि नै आफू परिचित रहेको भन्दै आजको स्थान प्राप्तिका लागि बधाई र आगामी दिनका लागि शुभकामना दिए। पछिल्लो समय खेल क्षेत्रलाई परामर्श व्यवसायीहरूले प्रोत्साहन गरिरहेको र आफू इक्यान अध्यक्ष भए पछि मात्रै ७ जना क्रिकेट खेलाडी यसरी सद्भावना दूत नियुक्त भइसकेको उनले बताए। नेपाली महिला फुटबलमा अञ्जनाको योगदानको चर्चा गरेका उनले ड्रिम अन आफैँ उत्कृष्ट परामर्श व्यवसायी र अञ्जना पनि उत्कृष्ट खेलाडी भएका कारण दुई उत्कृष्टहरूले सहकार्य गर्न लागेको धारणा राखे। इक्यान सदस्यहरूले यस्तै राम्रो कामलाई मात्रै प्रोत्साहन गर्छन् र राम्रो परामर्श दिन्छन् भन्ने सन्देश जनमानसमा पुर्याइदिन उनले अनुरोध गरे।
कार्यक्रममा सद्भावना दूत बनेकी अञ्जनाले ड्रिम अनको व्यावसायिक शैली बाट आफू प्रभावित भएको र यसरी जोडिन पाउँदा खुसी लागेको बताइन्। उनले खेल समर्थकहरूको हौसलाले आफू आजको स्थान सम्म पुगेको भन्दै सबैलाई धन्यवाद दिइन्।
ड्रिम अन अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूलाई स्तरीय परामर्श दिँदै आएको संस्था हो।
कार्यक्रमका थप तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्