Matra Education आइतबार, साउन १० २०८३

नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न परामर्श व्यवसायीले भूमिका खेल्नुपर्छ: पूर्वमन्त्री पौडेल

नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न परामर्श व्यवसायीले भूमिका खेल्नुपर्छ: पूर्वमन्त्री पौडेल

  • मात्र एजुकेशन
  • आइतबार, पौस ७ २०८१


काठमाडौँ- पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न परामर्श व्यवसायीले भूमिका खेल्नु पर्ने बताएका छन्। शनिवार स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १४ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा उपस्थित पौडेलले यस्तो बताएका हुन्। नेपाली युवाहरूलाई देश/ विदेशमा अध्ययनका लागि सहजीकरण गर्ने परामर्श व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले अबको प्राथमिकता विदेशी विद्यार्थी नेपाल ल्याउनका लागि पनि ठोस पहल लिन केन्द्रित हुनुपर्ने बताए।

नेपाली समाजमा विदेश गएको मात्रै देख्ने तर यहाँ आएर गरेको प्रगति नदेख्ने समस्या रहेको भन्दै पौडेलले भने, ‘सम्भावना खोज्न विदेश जानेलाई नकारात्मक टिप्पणी गर्ने हाम्रो चलन छ। हामी हरेक कुरामा नकारात्मक मात्रै हुन्छौँ। विदेश अध्ययन पश्चात् यहाँ आएर गरेको प्रगति हाम्रो समाजले देख्दैन। विश्वका प्रतिष्ठित संस्थामा पढेर आउनु राम्रो हो। यहाँ खुम्चिएर बस्नुभन्दा नेपाली युवालाई भविष्यको बाटो देखाउनुपर्छ।’ चिन लगायत देशहरूको उदाहरण दिँदै उनले अगाडी थपे, ‘चिनमा थुप्रै विश्वविद्यालय छन् तर त्यहाँको विद्यार्थी पनि अन्त पढ्न जान्छन् । ग्लोबलाइजेसनको युगमा यो लहरलाई रोक्न सकिँदैन। बरु मेडिकल, इन्जिनियरिङ जस्ता हामीले सम्भावना बोकेका विषयमा नेपाललाई हब बनाउन लागौँ। फेकन जस्ता संस्थाले यसको पहल थाल्नुपर्छ। हामी भएका शिक्षा समिति सहित अन्य कुन कुन ठाउँ बाट साथ दिनुपर्छ हामी तयार छौँ। राज्यले मेडिकल कलेजहरू सञ्चालनका लागि सहजीकरण गर्नुपर्नेमा पौडेलको जोड थियो।

भव्य रूपमा सम्पन्न भयो फेकनको १४ औँ वार्षिक साधारणसभा
काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल ( फेकन) को १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार बुढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा आयोजित एक भव्य समारोह बिच संस्थाले साधारण सभा सम्पन्न गरेको हो। परामर्श व्यवसाय क्षेत्रका महत्त्वपूर्ण मुद्धाहरुमा गहन छलफल गर्दै उक्त साधारण सभाले मुख्य एजेन्डाका रूपमा नेपाललाई शैक्षिक हब बनाउन पहल गर्ने प्रतिबद्धता गरेको छ।

फेकन अध्यक्ष राजु निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मर बहादुर थापा, नेपाली काँग्रेसका सह-महामन्त्री जीवन परियार, शिक्षा समिति सदस्य दिपा शर्मा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा भोला थापा, विभिन्न देशका राजदूतहरू, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै कार्यक्रममा विभिन्न छाता संगठनका प्रतिनिधि, विभिन्न साझेदार संस्थाहरूका प्रतिनिधि तथा अन्य आमन्त्रित व्यक्तिहरू अतिथिका रूपमा रहँदा फेकन सदस्य परामर्श व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपालका लागि अस्ट्रेलियाकी राजदूत लिन जस्टन र एनआरएनएका विभिन्न देशका प्रतिनिधिहरूले समेत शुभकामना सन्देश पठाएका थिए।

कार्यक्रममा फेकनले संस्था भित्रका उत्कृष्ट पाँच जना करदाता र सहयोगी संस्थाहरूलाई सम्मान समेत गरेको थियो।

कार्यक्रममा शुभकामना दिन पुगेका र मन्तव्य राखेका वक्ताहरूले परामर्श व्यवसायका अवसर र चुनौतीहरू बारे चर्चा गर्दै यो व्यवसायलाई व्यवस्थित, मर्यादित बनाउँदै नेपाली विद्यार्थीहरूको अधिकतम हितमा केन्द्रित गराउन फेकन जस्ता संस्थाले भूमिका खेल्नुपर्ने उल्लेख गरे। नेपाल सरकारले शिक्षा कर बाट उठाउने शुल्क तिनै विद्यार्थीको हितमा लगाउनुपर्ने र अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनका लागि नेपाल आउन सहज वातावरण बनाउनुपर्नेमा जोड दिए।

यसपटकको फेकन वार्षिक साधारणसभा यो सँगै प्यानल छलफलको कारण पनि अझै विशेष बनेको थियो। ‘नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शैक्षिक गन्तव्य बनाउनुका अवसर र चुनौतीहरू’ विषयक छलफल मार्फत फेकनले आफूहरू राज्यले वातावरण बनाए अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनका लागि नेपाल ल्याउन पनि सक्षम रहेको सन्देश दिएको हो। उक्त छलफलमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापा, नेपाली काँग्रेसका सह-महामन्त्री जीवन परियार, शिक्षा समिति सदस्य दिपा शर्मा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा भोला थापा र फेकन अध्यक्ष राजु निरौलाले भाग लिँदै आ-आफ्नो धारणा राखेका थिए।

छलफल पश्चात् उक्त विषयका लागि कार्यक्रमका मुख्य वक्ता अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहालले एक कार्यपत्र प्रस्तुत गर्दै आफ्नो धारणा राखेका थिए।

१४ औँ वार्षिक साधारणसभा मार्फत नेपाललाई शैक्षिक हब बनाउन सकिन्छ भन्ने स्पष्ट सन्देश फेकनले दिएको छ। साधारणसभाले महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पास गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्त गरेको छ।

यहाँ क्लिक गरेर साधारण सभा उद्घाटन समारोहका केही तस्बिरहरू हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड