काठमाडौँ- शैक्षिक परामर्श सेवा प्रदायक संस्था विविध कन्सल्ट्यान्ट्सको सेवा भक्तपुरमा पनि बिस्तार भएको छ। नयाँ बानेश्वरमा प्रधान कार्यालय राखेर सेवा दिँदै आएको यो संस्थाले भक्तपुरका विद्यार्थीको सुविधालाई मध्यनजर गर्दै उनीहरूकै सहरमा स्तरीय भाषा कक्षा तथा परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सेवा बिस्तार गरेको हो। गत शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरेर विविध कन्सल्ट्यान्ट्सको विस्तारित सेवाको उद्घाटन गरिएको हो।
विविध कन्सल्ट्यान्ट्सका कार्यकारी निर्देशक लक्ष्मण घिमिरेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय अध्यक्ष शेषराज भट्टराई प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष तथा मोडर्न कलेजका प्रधानाध्यापक अनिल कस्पाल, राजनीतिकर्मी माधव खत्री, अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी सहित देश-विदेशका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू, मिडियाकर्मीहरू र अन्य विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विविध कन्सल्ट्यान्ट्सका कर्मचारीहरू तथा शुभचिन्तकहरूको भव्य उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै विविध कन्सल्ट्यान्ट्सका निर्देशक शिव कुमार बोहराले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। सबैको साथ र सहयोगले विविध कन्सल्ट्यान्ट्स आजको स्थानमा आइपुगेको र भरपर्दो, विश्वासिलो परामर्शदाता हुन सफल भएको उनको भनाई थियो। बोहराले राधेराधेमा गर्न लागिएको सेवा विस्तारले उक्त क्षेत्रका विद्यार्थीहरूको टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने र उनीहरूले यस बाट अधिकतम लाभ लिन सक्ने धारणा राखे।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथिहरू माधव खत्री, अनिल कस्पाल र अखण्ड भण्डारीले विविध कन्सल्ट्यान्ट्सलाई व्यावसायिक सफलताको शुभकामना दिए। पछिल्लो समय विदेश अध्ययनका लागि जाने ट्रेन्ड बढ्दै गएको र यसलाई रोक्न लगभग असम्भव जस्तो देखिएको भए पनि उनीहरूले ज्ञान, सिप हासिल गरेर देश फर्किएर आफ्नै देशको सेवा गर्नका लागि परामर्श व्यवसायीहरूले प्रेरित गर्नुपर्ने साझा धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि भट्टराईले सेवा विस्तारको अवसरमा विविधलाई बधाई तथा सफलताको शुभकामना दिए। आफ्नो विद्यार्थी कालको स्मरण गरेका उनले पछिल्ला वर्षहरूमा विदेश अध्ययनका लागि भइरहेको सहजता र मध्यम वर्गीय नेपाली विद्यार्थीको पहुँच बारे चर्चा गरे। उनले भने, ‘हिजो म विद्यार्थी हुँदा विदेश अध्ययन हामीले सोच्न सम्म नसक्ने विषय थियो। मध्यपूर्वका देशहरूमा रोजगारी गरेर फर्केकाहरुलई सेलिब्रेटी मान्ने अवस्थामा हामी थियौँ। अध्ययनका लागि विदेश जाने भनेको केही सीमित सम्भ्रान्त परिवारका लागि मात्रै हो भन्ने परिभाषालाई बदलेर अहिले माध्यम वर्गीय विद्यार्थीलाई विश्वका विभिन्न ठाउँ पुर्याउने काम हामीले गरेका छौँ।’ यसरी मध्यम वर्गको पहुँचमा विदेश अध्ययन पुगेपछि देश बर्बाद भयो भन्ने भाष्य बनाउन लागिएको भन्दै उनले अगाडी थपे, ‘हामी चाहन्छौँ मध्यम वर्गीय परिवारका विद्यार्थीहरू अझै बढी विदेश जाउन् र स्तरीय डिग्री सहितको ज्ञान, सिप लिएर आएर नेपालको विकासका लागि योगदान गरुन्। हामी पठाउने काम मात्रै गर्दैनौँ नेपाल सरकारले उचित वातावरण बनाए अन्तर्राष्ट्रिय विद्यार्थी नेपाल ल्याउन पनि सक्षम छौँ। मैँले आजको कुरा गरिराखेको छैन तर केही वर्षपछि यो सपना यथार्थ हुनेछ।’ इक्यानले परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन खेलेको भूमिकाको समेत चर्चा गरेका उनले त्यसमा साथ दिन सम्बद्ध सबैलाई आग्रह समेत गरे।
त्यस्तै कार्यक्रमका सभापति तथा संस्थाका कार्यकारी निर्देशक घिमिरेले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। नयाँ बानेश्वर बाट दुई वटा शाखा मार्फत सेवा सुरुवात गरेर तेस्रो शाखा अस्ट्रेलिया हुँदै चौथो शाखाका रूपमा राधे राधेमा सेवा विस्तार गरिएको उनले जानकारी दिए। सन् २०२१ देखि राधे राधे शाखा सञ्चालनमा रहेको भए पनि थप गन्तव्यका काम र थप सुविधाहरू सहित सेवा बिस्तारको उद्घाटन गरिएको उनले बताए। आइएलटिएस, पिटिई लगायतका तयारी कक्षाहरू गराउँदै आएको भए पनि अब स्याट, जीम्याट, जिआरइ, जापनिज भाषा, कोरियन भाषा लगायतका सेवाहरू समेत राधे राधेमै पाइने उनले उल्लेख गरे। विविध कन्सल्ट्यान्ट्स आज सम्म स्तरीय भाषा कक्षा र विश्वसनीय परामर्श सेवाका लागि परिचित रहेको र भोलिका दिनमा समेत त्यो जारी रहने प्रतिबद्धता उनले व्यक्त गरे।
सेवा बिस्तारको अवसरमा राधे राधे शाखामा विविधले भाषा कक्षा अध्ययनमा ५०%- १००% सम्म छुटको व्यवस्था गरेको थियो। एक विशेष खेलमा गरेको प्रदर्शन अनुसार विद्यार्थीहरूले पाउने छुट प्रतिशत तय गरिएको थियो। साथै अन्य विभिन्न सेवाहरूमा समेत विशेष छुटको भौचर विद्यार्थीहरूले प्राप्त गरेका थिए।
