काठमाडौँ- ग्रेस इन्टरनेशनल ग्रुपले ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको घोषणा गरेको छ। आइतबार संस्थाको बागबजार शाखामा आयोजित एक पत्रकार सम्मेलनका बिच उक्त कार्यक्रम बारे जानकारी गराइएको हो। विदेश अध्ययनमा रुचि राख्ने नेपाली विद्यार्थीहरूलाई लक्षित गरिएको यो मेला नोभेम्बर ११ देखि २१ सम्म देशभरका ९ प्रमुख सहरहरूमा सञ्चालन हुनेछ। मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।
ग्रेस इन्टरनेशनलका संस्थापक निर्देशक लक्ष्मण पौडेल ‘एन्ड्रु’ का अनुसार मेलामा २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरूले प्रत्यक्ष रूपमा विद्यार्थीहरूसँग भेटघाट र परामर्श प्रदान गर्नेछन्। सहभागी विद्यार्थीहरूले स्पट एडमिसन, विशेष छात्रवृत्ति र अन्य विभिन्न सुविधाहरूको लाभ उठाउन सक्नेछन्। कार्यक्रमले विदेश अध्ययन प्रक्रिया सरल बनाउन मद्दत पुर्याउने विश्वास आयोजकको छ।
मेला इटहरीबाट सुरु भई अन्य विभिन्न ८ सहरहरूमा पुग्नेछ। नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौँ, १४ मा चितवन पर्सा, १५ मा नारायणघाट, १६ मा कावासोती नवलपुर, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ। यी प्रमुख सहरहरूमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य राखेको छ।
मेलालाई थप आकर्षण दिन नेपालका चर्चित क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दिपेन्द्र सिंह ऐरीले अधिकांश स्थानमा उपस्थिति जनाउने छन्। ऐरीको प्रेरणादायी सम्बोधनले विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि पर्याप्त अनुसन्धान गर्न थप उत्प्रेरित गर्ने आयोजकको भनाई छ।
ग्रेस इन्टरनेशनलले ‘एडुभर्स २०२४’ लाई विदेश अध्ययनको आकाङ्क्षा राख्ने विद्यार्थीहरूको भविष्यका लागि सही निर्णय लिने महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरिएको जनाएको छ। मेलामा सहभागी विद्यार्थीहरूले विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै अध्ययन गन्तव्य छनोट, आवेदन प्रक्रिया र छात्रवृत्तिबारे जानकारी पाउनेछन्। आयोजकले विदेश अध्ययनमा रुचि राख्ने सबै विद्यार्थीहरूलाई मेलामा सहभागी हुन आह्वान गरेको छ।
