अमेरिकाको टेक्सस राज्यमा दश मिनेटको गृहकार्य दिने अभ्यास छ । त्यो पछिको समय विद्यार्थीको हो । उसको अभिभावकसँगको हो । उनीहरूको बुझाइ यही हो । मेसाचुसेटसमा गृहकार्य नदिने नियम छ । चीनमा कक्षा १ र २ लाई गृहकार्य छैन । ३ देखि ६ कक्षासम्मका विद्यार्थीलाई सबै विषय मिलाएर दिनको एक घण्टासम्मको गृहकार्य दिइन्छ । त्यो भन्दा माथिका विद्यार्थीलाई ९० मिनेट भित्र सक्ने गृहकार्य मात्र दिइन्छ ।
सन २०२१ मा जारी शिक्षा मन्त्रालयको सूचनाले यो कुरा भनेको छ । सिंगापुरमा कक्षा १, २ का बालबालिकालाई दिनमा आधाघण्टा देखि १ घण्टा सम्मको गृहकार्य दिने प्रावधान छ । कक्षा ३ र ४ लाई एकदेखि डेढ घण्टाको गृहकार्य दिइन्छ । कक्षा ५ र ६ का विद्यार्थीलाई डेढदेखि २ घण्टाको गृहकार्य दिइन्छ । सन २०२४ को नियम हो यो । बेलायतमा नर्सरी तथा केजीसम्मका बालबालिकालाई गृहकार्य दिन पाइन्थ्यो । कक्षा १०, ११ का बालबालिकालाई पनि दिनको अढाइघण्टा भन्दा बढी व्यस्त रहने गृहकार्य दिन पाइन्थ्यो । सन २०१९ पछि गृहकार्य कति समयको दिने भन्ने कुराको निर्णय गर्ने काम स्थानीय विद्यालयका शिक्षक प्रधानाध्यापकलाई दिइएको छ ।
हाल भने अभिभावक तथा विद्यार्थीको सल्लाहमा विद्यालयले नै नीति बनाउने व्यवस्था गरिएको छ । फिनल्यान्डमा गृहकार्य दिने चलनै छैन । दिनै परे पनि दिनको आधा घण्टाभन्दा बढी समय विद्यार्थीलाई व्यस्त राख्न पाइन्न । अमेरिकामा गृहकार्यको नीति नै छैन । विद्यालयहरूले आआफ्नो नीति लागु गर्छन् ।
केही अध्येताहरूले १० देखि १५ मिनेटको गृहकार्य तथा २० देखि ३० मिनेटको गृहकार्यमा कुन प्रभावकारी छ भनी अध्ययन गरेका छन् । सन् २०२१ मा गरिएको सो अध्ययन अनुसार गणितको अवधारण दिन २० देखि ३० मिनेटको गृहकार्य प्रभावकारी देखियो । सोही वर्ष अक्षर राम्रो बनाउन दिइएको गृहकार्यमा पनि लामो अवधि नै उपयोगी भेटियो । अर्थात् दिनको २० देखि ३० मिनेटको गणित तथा लेखन सीपका लागि दिइने गृहकार्य उपयोगी भएको देखियो ।
विभिन्न देशमा भए गरेका सन २००६ सालदेखिका गृहकार्य सम्बन्धी अध्ययनहरूको निचोडले भन्छ —कक्षा ७ भन्दा तलका बालबालिकालाई गृहकार्य दिनु प्रत्युत्पादक हुन्छ । त्यो भन्दा माथिल्लो कक्षाका विद्यार्थीलाई गृहकार्य दिनाले तिनले बढी अंक ल्याउन सक्छन् । तर विश्व स्वास्थ्य संगठनको युरोपको क्षेत्रीय कार्यालयले भने सन २०१६ सालदेखि नै गृहकार्यका कारण विद्यार्थी तथा तिनका अभिभावकहरूको चासो सङ्ग्रह गरिरहेको छ । त्यो चासोको विश्लेषणले भन्छ —गृहकार्यले विद्यार्थीमा तनाव बढायो । अभिभावकहरूको पनि सोही अनुभूति रह्यो । नेपालमा गरिएका एकाध अध्ययनमा पनि त्यस्तै नतिजा आएको छ । नतिजा हो— गृहकार्यले अभिभावकलाई तनाव भएको छ । विद्यार्थीलाई पनि त्यस्तै गाह्रो भएको छ । त्यति हुँदा पनि विद्यार्थीको पासाङ्कमा भने सुधार भएको छ । तर टर्की बाहेक अरू देशमा भएका सन २००३ देखि २०१५ सम्मका अध्ययनहरूले कक्षा ४ तथा ८ का विद्यार्थीलाई दिइएको गृहकार्यले नकारात्मक असर देखाएको छ । अर्थात् गृहकार्यले न शैक्षिक उपलब्धि बढ्यो । न सिर्जनशीलता । उल्टै अभिभावक तथा विद्यार्थीले गृहकार्यलाई बोझ ठाने । समग्रमा हेर्दा घोक्नेहरूलाई गृहकार्यले दोहोराउन सघायो । अक्षर राम्रो लेखाउनलाई गृहकार्य उपयोगी रह्यो । अरूहरूलाई गृहकार्य बोझ नै साबित भयो । यसरी हेर्दा गृहकार्य उल्झन नै भयो । दिउँ भने नकारात्मक नतिजा पनि छन् । नदिऊँ भने शैक्षणिक उपलब्धि पनि छन् ।
मुद्दा के हो त ?
गृहकार्यले अनेकन मुद्दा जन्माएको छ । पहिलो मुद्दा हो —कति कक्षासम्म गृहकार्य दिँदै नदिने ? दिनै परेमा दिनको कति मिनेट वा घण्टाको गृहकार्य दिने ? दोस्रो मुद्दा हो —कति कक्षादेखि गृहकार्य दिने ? तेस्रो मुद्दा हो —कस्तो खालको गृहकार्य दिने ? चौथो मुद्दा हो —त्यसको मानक के हुने ? पाँचौँ मुद्दा हो —नतिजा बढाउने गृहकार्य भनेको त पाठभित्रकै प्रश्न हो । त्यस्ता कुरामा जोड दिने कि नदिने ? छैटौँ मुद्दा हो—ज्यादा गृहकार्यले विद्यार्थी तथा अभिभावक तनावमा बसे । तिनीहरूसँग गृहकार्य दिने नदिने वा कस्तो दिने भन्ने बारे संवाद गर्ने कि नगर्ने ? सातौँ मुद्दा हो —शैक्षणिक गृहकार्य मात्रै दिने कि गैर शैक्षणिक गृहकार्य पनि दिने ? आठौँ मुद्दा हो— केका लागि गृहकार्य दिने ? केका लागि नदिने ? नवौँ मुद्दा हो —यी र यस्ता कुरामा निश्चित आधार बनाउने कि नबनाउने ? दसौँ मुद्दा हो—यसकै बारेमा अध्ययन गर्ने कि नगर्ने ? बेलैमा यस्ता प्रश्नका अनुसन्धानात्मक उत्तर खोजिनु पर्छ । नेपालमा भए गरेका अध्ययनहरूले पनि यो पाटोमा खासै छोएको देखिँदैन ।
गर्ने के हो ?
पहिलो मुद्दामा मेरो धारणा हो— नर्सरी, केजी, वालविकासका बालबालिकालाई अंङ्क बढाउने अर्थात् शैक्षणिक गृहकार्य दिनु पर्दैन । यो उमेर भनेको अङ्क खोज्ने वा बढाउने उमेर हैन । अवधारणा बनाउने उमेर हो । ए फर एप्पल वा कबाट कमल भन्ने भनाउने उमेर पनि हैन । बरु क अथवा ए बाट बनेका शब्द खोजाउने उमेर हो । बच्चाले आफ्नो भाषामा भने हुन्छ । जति धेरै शब्द भन्छन् —स्याबास भन्ने उमेर हो । साथीको घरमा कबाट आउने के के सामान छन् ? एबाट आउने के के सामान छन् ? कबाट सुरु भएको मान्छेको नाम के के हो ? ए बाट सुरु भएको नि ? कबाट उठेको चराको नाम के हो ? एबाट उठेको नि ? यसो गर्नाले बच्चाको शब्द भण्डारको विकास हुन्छ । वहुभाषी कक्षा भए साथीको भाषामा त यो भन्ने रहेछन् नि ! यो बानी बस्यो भने उनीहरूले एक अर्काको भाषालाई सम्मान गर्न सिक्छन् । घरमा गएर बाबुआमालाई त्यसै भन्छन् । त्यस्तै कुरा सोच्छन् । गृहकार्य त्यही हो तिनलाई ।
लेखाउनका लागि अक्षरबाट सुरु गर्नु पर्दैन । बरु क जस्तो के के हुन्छ भनेर लेखेर देखाऊ त भने हुन्छ । ए जस्तो नि ? यसरी अक्षर लेख्ने अभ्यास बनाएमा तिनले बोझ मान्दैनन् । सुपर लर्निङ्गको फन्नी लिङ्क यति बेला उपयोगी हुन्छ । कागको चुच्चोमा अक्षर । गाईको सिङमा अक्षर । हँसिया वा आँसीमा अक्षर । यसरी अक्षरको आकारसँग मिल्ने सामान खोजाउनाले लेख्ने कुरालाई उनीहरूले सहजै सिक्छन् ।
पढ्नलाई पनि “उस्तै कुरा खोज” भने हुन्छ । यस्तो अक्षर कहाँ छ ? यस्तो चित्र कहाँ छ ? यस्तो शब्द कहाँ छ ? यस्तो रङ्ग कहाँ छ ? यसै गरी वहुभाषी कक्षा भएमा “साथीको भाषामा म भन त” ! नेपालीमा भन त ! अङ्ग्रेजीमा भन त ! मिल्यो स्याबास । नमिलेमा थेरापी गर्न लगाउनु पर्छ । मेरो मुखमा हेर त ! जिब्रो कता जान्छ ? मुख कस्तो हुन्छ ? ओठले कता छुन्छ ? यी र यस्ता प्रश्नले विद्यार्थीले सहजै थेरापी बुझ्छ । साथीले बोलेको बुझ्ने वा नबुझ्ने त थेरापीको कमाल पो रहेछ भन्ने कुरा बालबालिकाले जान्दछ ।
मेरो दृष्टिकोणमा कक्षा ३ सम्म यो विधि अपनाउनु पर्छ । माथि भनिएका कुरा गर्नाले विद्यार्थीले परिवेश बुझ्छ । शब्द भण्डार बढाउँछ । किन एक अर्कोले बोल्दा बेग्लै सुनिने रहेछ भन्ने जान्दछ । शब्द बनाउने कला जान्दछ । अक्षर भनेको त संकेत रहेछ भन्ने जान्दछ । केमा म यो अक्षर जस्तो संकेत फेला पार्न सक्छु भनेर खोज्छ । यसरी पो पढ्दा रहेछन् भनने जान्दछ । बरु देशका १५ वटै लिपि देखाए पनि हुन्छ । यति गर्नासाथ ख्यालख्यालमै बच्चाले पढाइ, लेखाइ, सुनाइ र बोलाइका सीप सिक्छ । बाबुआमा कसरी बोल्दा रहेछन् ? शिक्षकहरू कसरी बोल्दा रहेछन् ? कुन भाषा बोल्दा रहेछन् ? यस्ता कुराको अनायासै खोजी गर्छ । प्रश्न हो हामी त्यसो गर्न तयार छौँ त ? अभ्यस्तता अर्कै छ । तागत अर्कै छ । रहर अर्कै छ । उद्देश्य अर्कै छ ।
कति घण्टाको गृहकार्य दिने ? यो दोस्रो मुद्दा हो । यो मुद्दा उमेरगत सक्षमता तथा संस्कृतिसँग जोडेर छिनोफानो गर्नुपर्छ । जस्तो पश्चिमी जगतमा १५ मिनेटको भाषण गर्ने चलन छ । तदन्तर संवाद । हामी लामो भाषण गर्छौँ । संवाद गर्दैनौँ । गरिहाले ५—१० मिनेट । स्कुलमा पनि यही अभ्यास छ । यही सोचले गर्दा धेरै गृहकार्य दिने चलन छ । संवाद गर्नाले गृहकार्यको काम पनि गर्छ । यो हाम्रो मान्यता बनेको छैन । हामीसँग त्यस्ता आधारभूत अध्ययन भएका छैनन् ।
विश्वको अभ्यास हेर्दा दिनको दश मिनेटदेखि आधा घण्टासम्मको गृहकार्य दिने चलन देखिन्छ । यसो गर्दा उनीहरूले अनेकन अनुसन्धान गरेका हुन्छन् । मनोवैज्ञानिक सिद्धान्तलाई आधार बनाएका हुन्छन् । आफ्नो संस्कृतिलाई आधार बनाएका हुन्छन् । यो स्थितिमा अध्ययनको आधार बनाउनु जरुरी छ । कक्षा ४ को विद्यार्थीले कति मिनेटसम्म धैर्य गर्न सक्छ ? कक्षा १२ कोले कति मिनेटसम्म ? किनकि धैर्य गर्ने समयभन्दा बढीको गृहकार्यले विद्यार्थीमा बर्न आउटको समस्या हुन्छ । बर्नआउट भनेको संवेगात्मक तथा मानसिक थकावट हो । त्यो संवेग वा थकावट बढ्यो भने तनाव बन्छ । तनाव बढ्यो तर त्यसलाई व्यवस्थापन गर्न जानेन भने डिप्रेसन हुन्छ । यसको अर्थ हो—मनोविदहरुले गर्ने यस्तो अध्ययनमा कुन उमेरको विद्यार्थी कति मिनेटमा बर्नआउट हुन्छ भनी जानकारी पाइन्छ । त्यसकै आधारमा कक्षागत समय पनि निकाल्नु पर्छ । विषयगत समय पनि यति मात्र भनिदिनु पर्छ । यसो गर्दा भोलिको समस्यालाई पनि उत्तर गर्न सकिन्छ ।
कक्षा ८, १०, तथा १२ शैक्षिक उपलब्धि नापिने विन्दुहरू हुन । त्यहाँ पढ्ने विद्यार्थीहरूको हकमा पनि बर्न आउटसको अध्ययन गरिएको छैन । यस्ता अध्ययन गरी समय तोकेमा गृहकार्यले दिने तनावबाट विद्यार्थी तथा अभिभावकले मुक्ति पाउँछन् । यो भनेको अधिकतम औसत समय तोक्ने हो । त्यसमा विद्यार्थीको आफ्नै रहर पनि जोड्नु पर्छ । यसो गर्नाले हामीले गृहकार्यको दीर्घकालीन समाधान पाउँछौँ ।
कस्तो खालको गृहकार्य दिने ? नेपाली अभ्यासले देखाउँछ कि हामी अक्सर शैक्षणिक गृहकार्य दिन्छौँ । हाम्रो उद्देश्य शैक्षिक उपलब्धि बढाउनु हुन्छ । यो उद्देश्यले दोहोराउने प्रश्न माग्छ । पाठसँग जोडिएका प्रश्न । शैक्षणिक गृहकार्य कक्षा ८, १०, तथा १२ का विद्यार्थीका लागि दिनु उपयुक्त हुन्छ । बाँकी कक्षाका विद्यार्थीलाई चारखाले गृहकार्य दिनुपर्छ भन्ने मेरो ठम्याइ हो । पहिलो खाले गृहकार्यले विद्यार्थीको ज्ञान, विज्ञान तथा प्रविधिको क्षेत्र विस्तारित हुनुपर्छ । दोस्रो खाले गृहकार्यले विद्यार्थीले गहिरिन जान्नुपर्छ । तेस्रो खाले गृहकार्यले विद्यार्थीले सर्जक बन्न जान्नुपर्छ । चौथो खाले गृहकार्यले विद्यार्थी समालोचक बन्नुपर्छ । हेर्दा यी गृहकार्यहरू अशैक्षणिक लाग्न सक्छन् । तर कालान्तरमा यस्ता गृहकार्यले विद्यार्थीलाई खुला पार्छ ।
विस्तारित हुने भनेको खोज्ने हो । सोध्ने हो । जोडने हो । जस्तो —ताली बजाए के हुन्छ ? औसत जवाफ हो —प्रोत्साहन हुन्छ । सम्मान हुन्छ । तर ज्ञान विस्तार गर्नेले हातका औँलामा पञ्चत्व देख्छ । यो मुद्रा चिकित्सा पद्धतिको ज्ञान हो । त्यसले भन्छ— बुढी औँलामा अग्नि तत्त्व हुन्छ । दुइटै हातका बुढी औँला ठोकिँदा शरीरमा अग्नि सन्तुलित हुन्छ । यसैगरी चोरी औँलामा वायु तत्त्व हुन्छ । माझी औँलामा आकाश तत्त्व हुन्छ । साइँली औँलामा पृथ्वी तत्त्व हुन्छ । कान्छी औँलामा जल तत्त्व हुन्छ । यसरी दुई हातका सम तत्त्वहरू जोडिँदा शरीर सन्तुलित हुन्छ । हत्केलाको अग्रभागको काम पनि त्यही हो । यो सामान्य जानकारीले विद्यार्थीको ज्ञानको विस्तार हुन्छ । मुद्रा चिकित्साले दिने फाइदा पनि विद्यार्थीले पाउँछ । यो हाम्रै पुर्खाको ज्ञान रहेछ भनी गर्व गर्न पनि सक्छ ।
विद्यार्थीलाई गहिरिन लगाउनु गृहकार्यको दोस्रो खाले काम हो । यसका लागि उसले अनुसन्धान गर्छ । त्यो सहज काम हो । किताबमा पढेको कुरा मोबाइलमा खोजाउने । किताब तथा मोबाइल बाट आर्जित कुराबारे अभिभावक वा स्थानीय विज्ञ के भन्छन् भनी सोध्ने । यति काम गराउनाले विद्यार्थी अनुसन्धाता बन्छ । उसले अनुसन्धानको कला सिक्छ । आधुनिक प्रविधिको सदुपयोग गर्न पनि सिक्छ । ज्ञान मिले उसको जानकारी यकिन हुन्छ । नमिले उसले शिक्षकसँग सोध्छ । संवाद पनि हुन्छ । यसो गर्नाले उ विश्लेषक पनि बन्दै जान्छ । किताबी ज्ञानको । अभिभावकको । स्थानीय विज्ञको । शिक्षकको । अनि आफ्नो विचार पनि बनाउँछ । यसो गर्नासाथ विद्यार्थीमा गहिरिने कलाको विकास हुन्छ ।
सर्जक बनाउनु गृहकार्यको तेश्रोखाले काम हो । कक्षा १० मा बेलायतमा पढ्दै गरेका एक नेपाली र अर्की पाकिस्तानी केटीहरूलाई शिक्षकले गृहकार्य दिए । समय एक साताको थियो । सोचे । खोजे र अन्तमा तिनीहरूले यस्तो ब्याग बनाए जो पट्याउने ढंग बदले बस्ने मेच बन्छ । किताब राख्ने डेस्क बन्छ । घर जाँदा आउँदा किताब बोक्ने झोला बन्छ । बजारमा यो ब्याग उपलब्ध छ । यस्ता गृहकार्यले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्छ । भोलिको दिनमा गरिखाने सीप हुन्छ ।
समालोचक बनाउनु गृहकार्यको चौथो खाले काम हो । अहिले हामीले हो र हैन भन्न मात्र जानेका छौँ । त्यसैमा भिड्न भिडाउन सिकेका छौँ । यतिसम्म ठिक हो । यति चाहिँ बेठीक हो भन्न सिकाउनासाथ विद्यार्थी समालोचक बन्छ । यसमा मेरो विचार यो हो भन्नासाथ उ अब्बल बन्छ । गृहकार्यमा विवादास्पद कुरा दिनासाथ विद्यार्थीले यो क्षमता हासिल गर्छ । मानिस विवेकशील प्राणी हो कि अविवेकी ? विवेकी भए किन लडाइ लड्छ ? अविवेकी भए किन भगवान बन्छ ? बनाइन्छ ? कक्षा अनुसार दिइने यस्ता प्रश्नले विद्यार्थीमा समालोचनात्मक क्षमता बढ्छ ।
गृहकार्यको मानक के हुने ? यो चौथो प्रश्न हो । कति समयको गृहकार्य दिने भन्ने कुरा तय गर्नु पहिलो मानक हो । कसलाई र कहिले शैक्षणिक गृहकार्य दिने ? यो कुरा यकिन गर्नु दोस्रो मानक हो । कसलाई अशैक्षणिक गृहकार्य दिने भनी टुङ्गो गर्नु तेस्रो मानक हो । विस्तारित गृहकार्य दिने कि ? गहिरिने गृहकार्य दिने कि ? सर्जक गृहकार्य दिने कि ? शैक्षणिक तथा अशैक्षणिक गृहकार्यको अनुपात तोक्नासाथ यो मानक पनि पूरा हुन्छ ।
पाँचौँ मुद्दा हो —नतिजा बढाउने गृहकार्यमा जोड दिने कि नदिने ? यहाँ दुई कुराको टुङ्गो गर्नुपर्छ । पहिलो, विद्यार्थीलाई अवधारणा पढाउने र सोधखोजमा लाने कि विषयवस्तु मात्रै पढाउने ? अवधारणा पढाए सर्वत्र उपयोगी हुन्छ । विषयवस्तु पढाए पढ्छ । थन्क्याउँछ । चोर्न खोज्छ । चोराउन जानुपर्ने बाध्यता हुन्छ । दोस्रो उसलाई शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकभित्रै राख्ने कि त्यसभन्दा बाहिर निस्कन दिने वा निकाल्ने (beyond the box/out of the box)? पहिलो विश्वासले जेनजी वा अल्फा पुस्ताले खोजेको वा तिनलाई चाहिएको अपेक्षित ज्ञान, सीप, तथा प्रविधि दिन सकिँदैन । यो स्थिति आएमा शिक्षक बेकामे साबित हुन्छ । उसको मर्यादा धराशायी हुन्छ । विद्यार्थी अनुशासनहीन बन्छ । दोस्रो तरीका अपनाउनाले शिक्षक अद्यावधिक पनि हुन्छ । आफैले । विद्यार्थीले आफैँ आर्जेको ज्ञान, सीप तथा प्रविधिले । यसो गर्नासाथ विद्यार्थी क्रियाशील सिकाइमा अभ्यस्त हुन्छ । उ स्वानुशासित हुन्छ । एक्काइसौँ शताब्दीले खोजेको शिक्षक तथा विद्यार्थी बन्न पाउँछ । बनाउन सकिन्छ ।
गृहकार्यले विद्यार्थी तथा अभिभावक तनावमा आउँछन् कि ? आएकै छन् । यो नजिर हो । विश्व स्वास्थ्य संगठनको चासो हो । यो छैटौँ मुद्दा पनि हो । माथि सुझाएझैँ अध्ययनमा आधारित गृहकार्यको प्रबन्ध गर्नासाथ यो समस्याको समाधान हुन्छ । अर्थात् विद्यार्थी एवं अभिभावकका बर्नआउट तथा तनावका समस्याहरू हट्छन् । कथम् कदाचित हटेनन् भने विद्यार्थीलाई ध्यान र योग सिकाउनु पर्छ । ध्यानले तनाव लिने मन अन्यत्र लान्छ । योगले विद्यार्थीमा बर्नआउट तथा तनावका समस्यासँग जुध्ने व्रह्मउर्जा थप्छ । विज्ञानी शब्दमा ध्यान र योग गर्नाले अक्सिटोसिन तथा सेराटोनिनको मात्रा बढाउँछ । पिनियल ग्लायण्ड क्रियाशील हुन्छ । परिणामतः विद्यार्थीले सहजै बर्नआउट तथा तनावको समस्याबाट मुक्ति पाउँछ । यसका निम्ति शिक्षकले एसेम्ब्लीको समयमा ध्यान योग गराउन सक्छन् । त्यसबेला अनुकूल नभए कक्षाकोठामा गराउन सक्छन् । त्यो पनि नभए बर्नआउट वा तनावमा भएका र हुने सम्भावना भएकाहरूलाई ध्यान तथा योग गराउन सक्छन् ।
यस बाहेक विद्यार्थीहरू शैक्षणिक तथा गैर शैक्षणिक कुन खाले गृहकार्य मन पराउँछन् तदनुसार कार्य गर्न गराउन सक्छन् । अर्थात् एउटै कक्षामा कसैले शैक्षणिक त कसैले गैर शैक्षणिक गृहकार्य गर्ने संस्कार बनाउन सक्छन् । यही कुराको टुङ्गो लाग्नासाथ सातौँ मुद्दा पनि समाधानको बाटोमा जान्छ । यही मेसोमा आठौँ तथा नवौँ मुद्राले पनि समाधान भेट्छन् । दसौँ मुद्दा भने अलि पेचिलो छ । त्यो हो —बिना अध्ययन निर्णय गर्ने र पछि फर्कने हाम्रो बानी छ । अध्ययन गरेर पनि त्यसलाई थन्क्याउने र पदाधिकारीले लहडमा निर्णय दिने अभ्यास छ । यो अभ्यास बदल्नु जरुरी छ । यति गर्नाले गृहकार्यसँग सम्बन्धित सबै मुद्दा किनारा लाग्छन् । के निजी, के सरकारी, के गुठी, के सहकारी, के धार्मिक पाँचै खाले स्कुलका शिक्षक, विद्यार्थी, अभिभावक, तथा अन्य चासो राख्नेहरूले निर्णायक बाटो पाउँछन् । प्रश्न हो —व्यवस्थित बन्ने कि अहिलेझैँ राम भरोसामा चल्ने ?
निष्कर्ष :
मूलतः चार वटा सिद्धान्तमा आधारित भएर गृहकार्य दिइन्छ । परिवर्तनको सिद्धान्त मानेर । अभ्यासको सिद्धान्त मानेर । क्षमताको सिद्धान्त मानेर । सर्जकताको सिद्धान्त मानेर । परिवर्तनको सिद्धान्त मान्नेहरूले जेनजी वा अल्फा पुस्तालाई पढाउने हामी एक्स, वाई तथा जेड पुस्ताका शिक्षक रहेछौँ भन्ने स्वीकार गर्छौँ । तिनले विद्यार्थी सहभागिताको अभ्यास गर्छौँ । सिक्छौँ । सिकाउँछौँ । अभ्यासको सिद्धान्त मान्नेहरू शैक्षणिक मात्र हौँ । गृहकार्यको परम्परा धान्छौँ । धान्ने सोच राख्छौ । हामीले दिने गृहकार्य पाठ दोहोराउने खालको मात्रै हुन्छ । शैक्षणिक मात्र हुन्छ । हामी सिकाउने मात्रै हुन्छौँ । सिक्न नसक्ने र नचाहनेहरू । क्षमताको सिद्धान्तमा लाग्नेहरूले वैयक्तिक भिन्नता बुझेका हुन्छौँ । तदनुसार कसैलाई शैक्षणिक गृहकार्य दिन्छौँ । कसैलाई गैर शैक्षणिक । यसो गरे पनि एक अर्कामा सिक्न सिकाउन उत्प्रेरित गर्छौँ । सर्जजकताको सिद्धान्त अपनाउनेहरू हर विद्यार्थीमा क्षमता छ भन्ने बुझ्छौँ । तिनले तत्तत् क्षमताको पहिचान गर्छौँ । ती क्षमतालाई प्रस्फुटन गर्न गराउन आवश्यकता अनुसार चारवटै सिद्धान्तको उपयोग गर्छौँ । निर्णय शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र निर्णायकमा छोडेँ ।
(लेखक सँग यहि विषयमा केन्द्रित रहेर गरिएको भिडियो अन्तर्वार्ता हेर्नुहोस्:)