काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १५ औँ बृहत् शैक्षिक मेला भोलि (असोज १६ गते) हुन लागेको छ। नयाँ वानेश्वर स्थित एभरेस्ट होटलमा बिहान १० बजे देखि साँझ ५ बजेसम्म सञ्चालन हुने मेलाको सबै तयारी पुरा भएको संस्थाका कोषाध्यक्ष आशिक कार्कीले मात्र एजुकेसनलाई बताए।
मेलाले विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सुसूचित परामर्श प्रदान गर्ने लक्ष्य राखेको छ। मेलामा १५ हजार भन्दा बढी विद्यार्थी र अभिभावकको सहभागिता हुने अनुमान गरिएको छ। साथै विभिन्न देशका राजदूतावास, कलेज, विश्वविद्यालयका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।
मेलामा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अस्ट्रेलिया, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मनी, डेनमार्क लगायतका देशका शैक्षिक संस्थाहरू सहभागी हुनेछन्।
यस अघि गत आइतबारलाई तय भएको यो कार्यक्रम निरन्तरको वर्षा र खराब मौसमका कारण स्थगित गरिएको थियो। १५ औँ बृहत् शैक्षिक मेलामा सहभागी हुने विद्यार्थी अभिभावकहरूले थुप्रै फाइदा लिन सक्ने भन्दै सक्रिय सहभागिताका लागि संस्थाले सम्बद्ध सबैलाई अपिल गरेको छ।