काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले १५ औँ बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ। आगामी असोज १३ गते नयाँ वानेश्वर स्थित एभरेस्ट होटलमा बिहान १० बजे देखि साँझ ५ बजेसम्म मेला आयोजना गर्न लागिएको हो। संस्थाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी गराइएको हो।
इक्यानका अध्यक्ष शेषराज भट्टराईका अनुसार यस मेलाले विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सुसूचित परामर्श प्रदान गर्ने लक्ष्य राखेको छ। मेलामा १५ हजार भन्दा बढी विद्यार्थी र अभिभावकको सहभागिता हुने अनुमान गरिएको छ। साथै विभिन्न देशका राजदूतावास, कलेज, विश्वविद्यालयका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।
मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अस्ट्रेलिया, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मनी, डेनमार्क लगायतका देशका शैक्षिक संस्थाहरू सहभागी हुनेछन्।
वान अप प्रालिको व्यवस्थापनमा सम्पन्न हुने यो मेलाको मुख्य प्रायोजक रियल ड्रिम्स एजुकेसन कन्सल्टेन्सी र ‘इन एसोसिएसन विथ’ वेद इन्टरनेशनल एजुकेसन रहेका छन्। त्यस्तै आइएलटीएस पार्टनरको रूपमा ब्रिटिस काउन्सिल रहेको छ भने थप अन्य केही संस्थाहरूले समेत प्रायोजनमा सहयोग गरेका छन्।
मेलाको मुख्य उद्देश्य नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवम् अवसरहरू जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू, विश्वविद्यालयहरू र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरूको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्नु रहेको संस्थाले जनाएको छ।
यो शैक्षिक मेला कोभिड-१९ महामारीपछि इक्यानले आयोजना गरेको पहिलो ठुलो शैक्षिक मेला भएकाले संस्थाले यसलाई विशेष महत्वमा राखेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त गरेर आयोजना हुने मेलालाई सफल बनाउन इक्यानले सबैको सहयोगको अपिल गरेको छ।
