मकवानपुर- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मकवानपुर शाखाको प्रथम अधिवेशन असोज ४ गते शुक्रवार हेटौँडामा सम्पन्न भएको छ। अधिवेशनबाट बेल प्रसाद खतिवडाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य महत्त्वपूर्ण अतिथिहरूको पनि उपस्थिति थियो। केन्द्रीय समिति बाट प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गीताञ्जली शर्मा, महासचिव दिपक राज भुसाल, कोषाध्यक्ष आशिक कार्की, र सह-कोषाध्यक्ष विकल्प राज पोखरेल लगायत अन्य केन्द्रीय सदस्यहरू पनि कार्यक्रममा सहभागी थिए। त्यस्तै स्थानीय शैक्षिक संस्थाहरूका प्रतिनिधिहरू, विभिन्न परामर्शदाताहरू र विद्यार्थी अभिभावकहरूको उपस्थिति रहेको थियो।
खतिवडाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ, सचिवमा मनिष अधिकारी र कोषाध्यक्षमा किशोर अर्यालले जिम्मेवारी पाएका छन्। त्यस्तै कार्यसमिति सदस्यहरूमा सुरज घलान, शिव कुमार श्रेष्ठ, गुण राज थिङ, उमेश हुमागाईँ, र नवीन राज सापकोटा चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि शेषराज भट्टराईले शैक्षिक परामर्शको क्षेत्रमा थप सुधार र विद्यार्थीहरूको भविष्य निर्माणमा परामर्शदाताहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरे। त्यस्तै कार्यक्रममा उपस्थित अन्य केन्द्रीय पदाधिकारीहरूले पनि मकवानपुरको शैक्षिक परामर्शको सुधार र विकासमा नयाँ कार्यसमितिको योगदान अपेक्षित रहेको बताए।
नवनिर्वाचित अध्यक्ष खतिवडाले आफ्नो कार्यकालमा शैक्षिक परामर्श सेवाको गुणस्तर बढाउन, विद्यार्थीहरूलाई सही जानकारी र परामर्श दिन र विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक सहयोग पुर्याउन कटिबद्ध रहेको बताए।
अधिवेशनले मकवानपुर जिल्लामा शैक्षिक परामर्श सेवाहरूको विकासमा नयाँ दिशा तय गर्ने विश्वास लिइएको छ।