काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आयोजना गरेको खेलकुद सप्ताह भव्यताका साथ सम्पन्न भएको छ। फेकन सदस्य परामर्श व्यवसायीहरू बिच भाइचारा र एकताको भावना अभिवृद्धि गर्ने र उनीहरूको स्वास्थ्य र बौद्धिकतामा समेत सकारात्मक योगदान गर्ने उद्देश्य सहित आयोजित कार्यक्रम शुक्रवार र शनिवार विभिन्न खेलहरूमा प्रतिस्पर्धा गर्दै सम्पन्न भएको हो।
फेकनको स्थापनाकाल देखि नै संस्थामा योगदान गरेका पाँच जना दिवङ्गत फेकन सदस्यहरूको स्मृतिमा तिन वटा फरक फरक खेलहरू खेलाएर फेकनले खेलकुद सप्ताह मनाएको हो। भदौ ७ र ८ गते पहेँलो पुल स्थित धन्यन्तरी फुटसलमा खेलाइएका ती प्रतिस्पर्धात्मक खेलहरू मध्ये रविन केसी र सुधन रायमाझीको सम्झनामा आयोजित ‘फुटसल टुर्नामेन्ट’ को उपाधि ‘एफसि सिलिंक’ ले जितेको छ। उपाधि जिते सँगै उक्त समूहले मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु ५०,००० पुरस्कार प्राप्त गरेको छ। त्यस्तै उक्त खेलमा उपविजेता बनेको शुभयात्रा फुटसल क्लबले मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु ३०,००० पुरस्कार प्राप्त गरेको छ।
फुटसल प्रतियोगितामा सर्वोत्कृष्ट गोलकिपरको उपाधि विवश सुवेदीले, सर्वोत्कृष्ट गोलकर्ताको उपाधि सागर श्रेष्ठले र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको उपाधि उमेश कुश्वारले जिते। तिनै जनाले मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु ५,००० पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी उपेन्द्र थापा र प्रबल रेग्मीको सम्झनामा आयोजित चेस प्रतियोगिताको उपाधि दिपक लामिछानेले जितेका छन् भने सरोज थापाको सम्झनामा आयोजित टेबल टेनिस प्रतियोगिताको उपाधि सन्दिप उप्रेतीले जितेका छन्। उपाधि जितेका दुवैले मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु १५,००० पुरस्कार प्राप्त गरेका छन्।
विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्न तथा हौसला दिन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष दावा लामा र महासचिव किरण राई धन्यन्तरी फुटसल पुगेका थिए। संस्थाले पुरस्कार वितरणमा दिवङ्गत फेकन सदस्यका परिवार (जसको स्मृतिमा सम्बन्धित खेल आयोजना गरिएको थियो) लाई समेत समावेश गराएको थियो।