Matra Education आइतबार, साउन १० २०८३

फेकनले शुक्रवार बाट खेलकुद सप्ताह आयोजना गर्दै, सबै तयारी पुरा 

फेकनले शुक्रवार बाट खेलकुद सप्ताह आयोजना गर्दै, सबै तयारी पुरा 

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र ६ २०८१


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले भोलि शुक्रवार बाट खेलकुद सप्ताह आयोजना गर्ने भएको छ। आज संस्थाको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलन मार्फत सो बारे जानकारी गराइएको हो। ‘एकता नै बल हो’ भन्ने नारा सहित आयोजित कार्यक्रमले फेकन सदस्य परामर्श व्यवसायीहरू बिच भाइचारा र एकताको भावना अभिवृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य र बौद्धिकतामा समेत सकारात्मक योगदान गर्ने आयोजकको विश्वास छ।

भदौ ७ र ८ गते पहेँलो पुल स्थित धन्यन्तरी फुटसलमा विभिन्न खेलहरू खेलाएर खेलकुद सप्ताह मनाउने आयोजकको तयारी छ। फेकनको स्थापनाकाल देखि नै संस्थामा योगदान गरेका पाँच जना दिवङ्गत फेकन सदस्यहरूको स्मृतिमा तिन वटा फरक फरक खेलहरू खेलाउने तयारी गरेको छ। मात्र एजुकेसनलाई प्राप्त जानकारी अनुसार संस्थाले रविन केसी र सुधन रायमाझीको सम्झनामा ‘फुटसल टुर्नामेन्ट’, उपेन्द्र थापा र प्रबल रेग्मीको सम्झनामा चेस प्रतियोगिता र सरोज थापाको सम्झनामा टेबल टेनिस प्रतियोगिता आयोजना गर्न लागेको हो। सबै प्रतियोगिताहरू शुक्रवार र शनिवार सञ्चालन हुनेछन्।

खेलकुद सप्ताहको सबै तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत संस्थाले जानकारी दिएको छ। फुटसल प्रतियोगिताका लागि ६ वटा टोलीले प्रतिस्पर्धा गर्ने गरी नाम दर्ता गराएका छन्। त्यस्तै टेबल टेनिसका लागि १२ जना र चेसका लागि ८ जनाले नाम दर्ता गराएका छन्।

फुटसल प्रतियोगितामा विजेता हुने टोलीले मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु ५०,००० र उपविजेता हुने टोलीले मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु ३०,००० प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी तिन जनाले मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु ५,००० प्राप्त गर्नेछन्। यस खेलको प्रत्येक खेलबाट एक जना ‘म्यान अफ दि म्याच’ छानिनेछ र उक्त व्यक्तिले सम्बन्धित ट्रफी प्राप्त गर्नेछन्। टेबल टेनिस र चेसका विजेताले भने मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु १५,००० पुरस्कार प्राप्त गर्नेछन्।

पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष राजु निरौला, महासचिव छविन्द्र ओझा र अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सञ्जय बस्नेत लगायतले प्रतियोगिता बारे जानकारी गराउँदै आफ्नो धारणा राखेका थिए। खेलकुद प्रतियोगितालाई अनुशासित, सभ्य र मैत्रीपूर्ण बनाउन सबै फेकन सदस्य परामर्श व्यवसायीहरूलाई उनीहरूले साझा अपिल गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड