काठमाडौँ- नेपालमा यदि कुनै बैंक सबैभन्दा बढी अविश्वासिलो र बदनाम छ भने त्यो हो, एनआइसी एसिया बैंक। ‘बैंक पनि साथी पनि’ भन्ने नारा बोकेको यो बैंक वास्तवमा भने ‘मुखमा रामराम बगलीमा छुरा’ बोकेको घाती साथी बन्न पुगेको छ। त्यसैले यो बैंकलाई पछिल्लो समय जनतामारा बैंकको संज्ञा दिन थालिएको छ। यो फगत हाम्रो दाबी होइन। पटक पटक सार्वजनिक भएका तथ्यहरूले त्यसको पुष्टि गर्छन्।
बैंक भनेको जनताले विश्वास गरेर आफ्नो सम्पत्ति सुरक्षित राख्नका लागि प्रयोग गर्ने ठाउँ हो। तर एनआइसी एसिया बैंकले भने पटक पटक जनताको त्यो विश्वासलाई घात गरेर उनीहरूको सम्पत्ति माथि जालझेल र बेइमानी गरेको छ। सेवाग्राही सँग खालि चेक लिएर सोही चेकबाट अनधिकृत रूपमा रकम निकाल्ने, अर्काको जग्गाको किर्ते कागज बनाएर सोही कागज मार्फत ऋण निकाल्ने, ऋण मिलाइदिए बापत उल्टो सेवाग्राही सँग पैसा असुल्ने, नियमित तिर्नुपर्ने भन्दा दशौँ गुणा बढी ब्याज असुल्ने आदि यस बैंकका विभिन्न शाखाहरूले गर्दै आएका बदमासीहरू हुन्।
त्यस्तै घरजग्गा धितो राखेर ऋण लिएकाहरूलाई आफूखुसी व्याज बढाउने, राम्रो धितो ऋणीलाई थाहै नदिई लिलामी गर्ने, ऋण प्रवाह गर्दा झुटा आश्वासन दिने र ऋण दिए लगत्तै अत्यधिक व्याज वृद्धि गरेर धितो हड्पने पनि एनआइसी एसिया बैंकको कर्तुतको उदाहरण हुन्। त्यस्तै राष्ट्र बैंकको नियम विपरीत अतिरिक्त शुल्क लिएर ठगी गर्ने, नियामक निकायलाई झुटो विवरण दिने र ऋणीहरूलाई थुन्ने, धम्काउने आदि काम यस बैंकले गर्दै आएको छ।
बैंकको बदमासी यतिमै रोकिँदैन। एनआइसी एसिया बैंकले दिएको थेगिनसक्नु दबाबको कारण आत्महत्या गर्नुपरेको देखि हृदयाघात भएर निधन सम्म भएको घटना बेला बेला सार्वजनिक हुने गरेका छन्। बैंकको दबाबकै कारण श्रीमानको मृत्यु भएको र लास बाटै पैसा उठाउनु पर्छ भन्ने हिसाबमा बैंक प्रस्तुत भएको भन्दै गत वर्ष एक पीडित महिलाले दुर्गा प्रसाईँ सँग सार्वजनिक कार्यक्रममै बिलौना गरेकी थिइन्। (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)। यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो, यसरी बैंक बाट पीडित भएकाहरू आज पनि प्रशस्त भेटिन्छन्। त्यति बेला यो सहित बैङ्कका अन्य कर्तुतहरू सार्वजनिक गर्दै उनी प्रसाईँले एनआइसी एसिया बैंकले जनता ठग्ने गरेको र बैंक आफैँ डुब्न लागेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस समेत लेखेका थिए।
झुट लुकाउन अर्को झुटको सहारा, यसकारण छैन बैंकको भरोसा
यसरी बैंकका ठगी र कर्तुतहरू एक पछि अर्को गर्दै सार्वजनिक हुन थालेपछि गत वर्ष बैंकलाई निक्षेप संकलनमा समेत गम्भीर धक्का लाग्यो। फलस्वरूप सञ्चालन खर्च उच्च भएकाले भएका शाखा र कर्मचारीको भार थेग्न समेत नसक्ने अवस्थामा बैंक पुग्यो र करिब ५० वटा शाखा तथा एक्सटेन्सन काउन्टर बन्द गर्ने निर्णय गर्यो। सञ्चार माध्यम मार्फत यो निर्णय सार्वजनिक भएपछि बैंकको हालत जनताले प्रस्ट सँग बुझे र बैंक डुब्न लागेको भन्दै त्यहाँ बाट पैसा निकाल्नेको सङ्ख्या ह्वात्तै बढ्यो। त्यति बेला दैनिक करिब १ अर्ब भन्दा बढी निक्षेप बैंक बाट निकालिएको थियो।
जनताको विश्वास गुमाएको र आफ्नो असली अनुहार देखिएको बुझेपछि सधैँ झुटको महल बनाउने एनआइसी एसिया बैंकले यो प्रकरणमा पनि झुटकै साहारा लियो। उसले एक विज्ञप्ति जारी गर्दै शाखा बन्द हुन लागेको समाचारमा कुनै सत्यता नभएको भन्दै आफ्नो बचाउ गर्यो। तर एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै नेपाल राष्ट्र बैंकका सह सूचना अधिकारी डा भागवत आचार्यले उक्त बैंक ले ५० वटा शाखा बन्द गर्नका लागि राष्ट्र बैंकमा निवेदन दिएको पुष्टि गरे। यो प्रकरणमा बैंकले विज्ञप्ति जारी गर्दा हस्ताक्षर गरेका तत्कालीन प्रमुख सूचना अधिकारी सुधीर नाथ पाण्डेले आफूलाई गलत सूचनामा हस्ताक्षर गराइएको भन्दै असन्तुष्टि जनाउँदै राजीनामा दिए। बैंकका डेपुटी सिइओ समेत रहेका उनले राजीनामा दिँदा नेपाल राष्ट्र बैंकले अनियमित गतिविधि भइरहेको आशंकामा नियमित अनुगमन समेत गरिरहेको थियो। उक्त बैंकका मुख्य पदमा रहेकाहरू जेल जाने विश्लेषण सर्वत्र थियो। बैंकले थप क्षति रोक्नका लागि लामो समय पाण्डेको राजीनामा स्वीकृत गरेन। यो प्रकरणले पनि बैंक भित्र अनियमित काम भइरहेको र एनआइसी एसिया बैंक आफ्नो अपराध लुकाउन जुनसुकै हदमा जान तयार रहेको तथ्य थप पुष्टि भयो।
बैंकको झुट र फण्डाको शृङ्खला यहाँ रोकिँदैन। त्यति बेला बैंक बन्द हुन लागेको खबर प्राय जसो सबै सञ्चारमाध्यममा आउन थालेपछि बैंकले अर्को झुटको सहारा लियो। आफ्ना सबै कर्मचारीहरूलाई बैंकको असलियत सार्वजनिक गरिएका समाचारहरूमा नकारात्मक कमेन्ट गर्न लगाउने, बैंकका बारेमा प्रायोजित रूपमा राम्रा समाचारहरू लेख्न लगाएर त्यसलाई सेयर गराउने, यस्ता समाचार र सिइओ रोशन न्यौपानेको पोस्टहरूमा ‘बेस्ट बैंक एनआइसी एसिया बैंक’ लेख्न लगाउने काम उसले गर्यो। ह्वाट्सएप ग्रुप बनाएर साइबर सेना निर्माण गरेको बैंकले फेक आइडी बनाउन समेत आफ्ना कर्मचारीहरूलाई लगायो। कर्मचारीहरूलाई यसो नगर्ने जागिर जाने सम्मको धम्की बैंक व्यवस्थापनले दिएको थियो। यस्तो साइबर सेनाले बैंकको खबर सार्वजनिक गर्ने सञ्चारमाध्यम विरुद्ध आक्रमण गरेको भन्दै प्रहरीमा समेत उजुरी परेको थियो।
डिजिटल बैङ्किङमा पनि सबैभन्दा कमजोर
झुट, किर्ते र जनताको ढाड सेक्न माहिर एनआइसी एसिया बैंकले राम्रो बनाउनुपर्ने आफ्नो डिजिटल प्रणाली भने सबैभन्दा कमजोर राखेको छ। त्यसैले त पटक पटक ह्याकरहरूले यसको कमजोर प्रणालीको फाइदा उठाउँदै साइबर आक्रमण मार्फत नेपालको पैसा लाने गरेका छन्।
अगस्ट २३ २०२३ मा एनआइसी एसिया बैंकको आइटी प्रणाली ह्याक गरी ३० करोड नेपाली रुपैयाँ चोरी भएको थियो। अन्तर्राष्ट्रिय भुक्तानीका लागि प्रयोग हुने स्विफ्ट प्रणालीमा पहुँच प्राप्त गरी उक्त रकम चोरी लागेका थिए।
त्यसको केही वर्ष अघि भएको इतिहासकै ठुलो बैंक प्रणाली ह्याक गरी रकम चोरी गरिएको घटना पनि एनआइसी एसिया बैंकको हो। अक्टोबर १९ २०१७ मा पनि उक्त बैंकको स्विफ्ट प्रणाली ह्याक गरी ५६ करोड नेपाली रुपैयाँ विदेशी बैंकमा पठाइएको थियो। तिहार बिदाको समयमा भएको उक्त साइबर आक्रमण एनआइसी एसिया बैंकमा हुनु अघि नेपालकै अर्को एक वाणिज्य बैंकमा आक्रमणको प्रयास भएको थियो। तर उक्त बैंकले समयमै थाहा पाएर सावधानी अपनायो र अनधिकृत पहुँच बाट आफूलाई बचायो तर एनआइसी एसिया बैंकको कमजोर प्रणालीका कारण यो बैंकमा गरिएको आक्रमण सफल भयो। यसरी पैसा चोरी हुनुमा बैंकको अर्को गम्भीर लापरबाही पनि कारण रहेको छ।
सामान्यतया बैंक नचलेको बेला वा बिदाको समयमा स्विफ्ट सर्भरहरू बन्द गर्ने काम बैंकहरुले गर्छन्। तर जनताको पसिनाको कमाई चुस्न पल्केको र झुटै झुटले बालुवाको महल बनाएको एनआइसी एसिया बैंकले गम्भीर लापरबाही गरेर तिहार बिदाको समयमा पनि प्रणाली खुलाई राखेको थियो जसका कारण ह्याकरहरूले सजिलै बैंक सम्म पहुँच पाए। यसले लाखौँ जनताको एनआइसी एसिया बैंकमा रहेको अरबौँ रकम कति असुरक्षित छ भन्ने प्रस्ट हुन्छ।
किर्ते कागज, कर्जा प्रवाहमा मनलाग्दी, रास्ट्रबैंकको एकीकृत निर्देशिका विपरीत काम, मनलाग्दी ऋण प्रवाह, ऋणको ब्याज तिर्नका लागि पुनः ऋण प्रवाह, मनलाग्दी व्याज वृद्धि, ऋणीहरूको धितो बिना अनुमति लिलामी, ऋणीलाई अनावश्यक दबाब र एउटा झुट लुकाउन अर्को झुटो विज्ञप्तिमा मात्रै एनआइसी एसिया बैंक सीमित छैन। यसले निष्क्रिय कर्जा अनुपात (एनपिएल) को तथ्याङ्क समेत तोडमोड गरेर नियामक निकाय र नेपाली जनताको आँखामा छारो हाल्ने काम गरेको छ। यो विषयको विस्तृत समाचार सहित एनआइसी एसिया बैंकले राष्ट्र बैंकलाई छलेर गरेको गलत कर्तुतहरूको पर्दाफास दोस्रो शृङ्खलामा। प्रतीक्षा गर्नुहोस्।