काठमाडौँ- पुतलीसडक काठमाडौँमा प्रधान कार्यालय रहेको शैक्षिक परामर्श प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङको ब्रान्ड एम्बेसडरमा पुनः अस्मि श्रेष्ठ नियुक्त भएकी छिन्। सोमबार नक्साल स्थित हिल्टन होटेलमा आयोजित एक समारोह बिच राइटपाथका संस्थापक तथा सिइओ फिलिप डिसी र श्रेष्ठले यस सम्बन्धी सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरे सँगै उनी आगामी एक वर्षका लागि संस्थाको सद्भावना दूत बनेकी हुन्। यस अघि दुई वर्षको सम्झौता सहित ब्रान्ड एम्बेसडर बनेकी श्रेष्ठको सम्झौता अवधि सकिएकाले पुनः नवीकरण गरिएको हो। श्रेष्ठ मिस नेपाल २०१६ हुन् भने हाल विभिन्न सामाजिक काममा समेत सक्रिय रहेकी छिन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई सहित पदाधिकारीहरू तथा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने आमन्त्रित अतिथिहरूको समुपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। कार्यक्रममा संस्थाले आफ्नो आधिकारिक भिडियो विज्ञापन (टिभिसि) को प्रदर्शन समेत गरेको थियो। व्यापारिक प्रयोजन मात्रै भन्दा पनि नेपाली समाजको मनोविज्ञान र सामाजिक अवस्थाको चित्रण गरिएको उक्त भिडियो बजाउँदै राइटपाथले नेपाली माध्यम वर्गीय परिवारका सदस्यले गर्नुपरेको सङ्घर्ष, त्यसले दिलाएको सफलता आदिको प्रदर्शन गरिरहँदा हलमा उपस्थित दर्शकको आँखा रसाएको थियो।
सम्झौता पत्रमा हस्ताक्षर गरे पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मिस नेपाल श्रेष्ठले आफू राइटपाथको परिवार बनिसकेको उल्लेख गरिन्। राइटपाथको नेतृत्व सहित सिङ्गो परिवार जुझारु र दक्ष रहेको उनको भनाई थियो। मिस नेपाल बनेदेखि पाएको माया आज सम्म जारी रहेको भन्दै आभार प्रकट गरेकी उनले राइटपाथले विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई स्तरीय परामर्श दिने र अध्ययन पुरा गरिसकेपछि देश फर्कन प्रोत्साहन गर्ने बताइन्।
राइटपाथका सिइओ डिसीले छोटो समयमै उल्लेखनीय उपस्थिति भएको भन्दै सबैलाई धन्यवाद दिए। उनले अस्मि श्रेष्ठ सँगको सहकार्य विगतका वर्षहरूमा अत्यन्तै फलदायी भएको हुँदा सम्झौता नवीकरण गरिएको जानकारी दिए। सामाजिक रूपमा स्थापित व्यक्तिहरूलाई व्यवसाय सँग जोडेर काम गर्नु समाजका लागि पनि योगदान हुने उल्लेख गरेका उनले ‘गुणस्तरीय शिक्षाका लागि स्तरीय परामर्श’ भन्ने राइटपाथको नारा श्रेष्ठ सँगको सहकार्यले अझै बढी सार्थक भएको बताए।
इक्यानका अध्यक्ष भट्टराईले इक्यानको सदस्यका रूपमा राइटपाथले उत्कृष्ट काम गरेको उल्लेख गरे। राइटपाथले निर्माण गरेको म्युजिक भिडियोको प्रसङ्ग जोड्दै उनले परामर्श व्यवसायी भएर भिडियोमा जस्तो तपाईँ विदेश नजानुस्, यहीँ बस्नुस् भन्नका लागि हिम्मत चाहिने उनले उल्लेख गरे। इक्यानले पनि शिक्षाको अवसर देशमै खोज, विदेश जानै परे बुझेर मात्रै जाऊ र अध्ययन पुरा गरी नेपाल फरक भन्ने धारणा बोकेको उल्लेख गरेका उनले परामर्श व्यवसायीले खेलेको भूमिकाको राज्यले कदर गर्नुपर्ने बताए। भट्टराईले ब्रान्ड एम्बेसडर बनेकी श्रेष्ठ र राइटपाथ दुवैलाई बधाई दिँदै आगामी दिनमा अझै बढी सफलताका लागि शुभकामना दिए।
राइटपाथको नयाँ गीत ‘लाखौँ जुटे समृद्धि’ को विमोचन
हिल्टन होटेलमा आयोजित कार्यक्रमकै अवसर पारेर राइटपाथको पहलमा निर्मित प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’को विमोचन गरिएको छ। एकता र सामूहिक प्रयासको महत्वमा केन्द्रित गीतले नेपाली जनताहरू मिलेर काम गरे भने नेपालको समृद्धि सम्भव छ भन्ने सन्देश दिएको छ। गीतले नेपालमा विभिन्न प्राकृतिक विपत्तिहरूको प्रभाव र यसका कारण मानिसहरूले भोगेको दुःखलाई उजागर गर्दछ। गीतमा प्रस्तुत भिडियोले मिलेर र सामूहिक रूपमा काम गरेर नेपालीहरूले यी चुनौतीहरूलाई पार गर्न सक्छन् र समृद्धिको नयाँ युग सुरुवात गर्न सक्छन् भन्ने शक्तिशाली सन्देश दिएको छ।
चर्चित कलाकारहरू नाजिर हुसेन र केकी अधिकारी लगायतको अभिनय रहेको यो गीतको भिडियोले युवाहरूलाई सम्बोधन गर्दै उनीहरूलाई विदेशमा अवसरहरूको खोजी सराहनीय छ, तर आफ्नो देशको विकासमा योगदान गर्नका लागि फर्किनु महत्त्वपूर्ण छ भन्ने सन्देश दिन्छ । गीतले नेपाली युवाहरूलाई आफ्नो सीप र ज्ञान फिर्ता ल्याएर समृद्ध राष्ट्र निर्माण गर्न प्रोत्साहित गर्दछ। सगोत्री आचार्यको शब्द र सत्यराज/ स्वरूपराज आचार्यको आवाजमा सजिएको यो गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्।
