Matra Education आइतबार, साउन १० २०८३

फेकनले दियो आफ्ना सदस्य व्यवसायीका काउन्सिलरहरुलाई तालिम

फेकनले दियो आफ्ना सदस्य व्यवसायीका काउन्सिलरहरुलाई तालिम

  • मात्र एजुकेशन
  • मंगलबार, साउन १ २०८१


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आफ्ना सदस्य व्यवसायीका काउन्सिलरहरुलाई एक दिने तालिम दिएको छ। सोमबार ठमेल स्थित बाराही होटेलमा आयोजित तालिममा ७५ जना काउन्सिलरहरु सहभागी थिए। बिहान ९ बजे सुरु गरिएको तालिम साँझ ६ बजे सम्म सञ्चालन गरिएको थियो।

फेकन तालिम विभागले आयोजना गरेको कार्यक्रमलाई उक्त विभाग प्रमुख सञ्जय बस्नेतले संयोजन गरेका थिए। संस्थाका अध्यक्ष राजु निरौला सहित केन्द्रीय पदाधिकारीहरूको आतिथ्यमा सञ्चालित कार्यक्रममा फेकनका सदस्य परामर्श व्यवसायीहरू र तिनका कर्मचारीहरूको उपस्थिति रहेको थियो। तालिमलाई फेकन महासचिव छविन्द्र ओझाले सहजीकरण गरेका थिए।

७ जना प्रशिक्षकहरूले तालिम प्रदान गरेको उक्त कार्यक्रममा विभिन्न देशको काम गर्ने तरिकाहरू बारे सहभागीहरूले ज्ञान प्राप्त गरेका थिए। तालिममा प्रशिक्षक दर्शन खनालले समग्र परामर्श बारे तालिम दिएका थिए भने राजन अर्यालले विद्यार्थीहरूलाई प्रभावकारी परामर्श प्रदान गर्ने तरिका बारे तालिम दिएका थिए। त्यस्तै प्रविन रिमालले अमेरिका बारे, क्रिस्टिना कंशाकारले ब्रिटिस काउन्सिल आइएलटिएस बारे, राम शरण ढकालले युरोप बारे, युवराज कटवाल र रोशन खरेलले अस्ट्रेलिया बारे तालिम दिएका थिए।यसैगरी प्रशिक्षक भूपाल तामाङले सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रश्नोत्तर सत्र सञ्चालन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै फेकन अध्यक्ष राजु निरौलाले फेकन सधैँ आफ्ना सदस्य परामर्श व्यवसायीहरूको हितमा केन्द्रित रहने गरेको र त्यसैको निरन्तरता स्वरूप कार्यक्रम आयोजना गरिएको बताए। उनले सदस्य व्यवसायीहरू र तिनका कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी स्तरीय परामर्श प्रदान गर्नका लागि पनि कार्यक्रम राखिएको उल्लेख गरे। निरौलाले फेकन तालिम विभाग, सहभागीहरू र कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै फेकनका तालिम विभाग संयोजक बस्नेतले व्यवसायीहरूको क्षमता बढाउने र उनीहरूमा ज्ञान, सिप, दक्षता बढाउने उद्देश्यले नै फेकनले तालिम विभाग गठन गरेको र सोही उद्देश्य परिपूर्तिका लागि कार्यक्रम आयोजना गरिएको बताए। हाल शिक्षा मन्त्रालयले परामर्श व्यवसायीहरूको दर्ता नवीकरण गरिरहेकाले त्यसलाई समेत कार्यक्रमले सघाउ पुर्‍याउने उनको विश्वास थियो। उत्साहजनक सहभागिताले कार्यक्रम अपेक्षित रूपमै सफल भएको भन्दै उनले भोलिका दिनमा पनि यस किसिमका कार्यक्रम तालिम विभागले जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

तालिम समापन पश्चात् सबै सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

उक्त कार्यक्रमका तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड