काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूलाई संस्था नवीकरण गराउन आवेदन खुला गरेको छ। आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले उक्त कार्यका लागि गुगल फाराम लिङ्क मार्फत तोकिएको ढाँचामा नवीकरणका लागि अनलाइन निवेदन दिन सूचित गरेको हो।
यस प्रक्रियामा मन्त्रालयबाट मिति २०७५ साल साउन १४ गते अगावै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ (प्रथम संशोधन, २०८१) बमोजिम शैक्षिक परामर्श सेवा / पूर्व तयारी कक्षा / भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त गरेका संस्थाहरू सहभागी हुन पाउनेछन्। लामो समयदेखि रोकिँदै आएको उनीहरूको नवीकरण आ. व. २०८१/८२ बाट गर्न लागिएको हो।
के हुन्छ नवीकरण प्रक्रिया ?
सूचनामा उल्लेख भए अनुसार मन्त्रालयले प्रथम चरणको फाराम असार १६ गतेदेखि असार ३० गतेसम्म लिनेछ। त्यसपछि असार ३१ गतेदेखि साउन ६ गतेसम्म निवेदनहरूको भेरिफिकेसन गर्नेछ। । प्रथम चरणको फाराम भेरीफाई भए पश्चात् संस्थाले उपलब्ध गराएको इमेलमा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ (प्रथम संशोधन, २०८१) को अनुसूची ३ बमोजिमको निवेदन र कागजातहरू स्क्यान गरी फाराम साथ प्राप्त हुने निर्देशनको परिधिमा रहेर साउन २१ गतेसम्म अपलोड गर्नुपर्नेछ। अनलाइन मार्फत बुझाएका निवेदन र कागजातहरूको फायल तयार पारेर राख्नुपर्नेछ र संस्था अनुगमनको क्रममा आउने अनुगमन कर्तालाई सो फायल बुझाउनुपर्नेछ। संस्थाले बुझाउन बाँकी रहेको नवीकरण दस्तुर दिइएको राजस्व खातामा दाखिला गरी भौचर स्क्यान गरेर अपलोड गर्नुपर्नेछ उक्त भौचर फायलमा सक्कलै राखेर बुझाउनुपर्नेछ । यी सबै प्रक्रिया पुरा भएर अनुगमन समेत भइसकेपछि नवीकरणका लागि योग्य भएमा संस्था नवीकरण हुनेछ।
