Matra Education आइतबार, साउन १० २०८३

भारतको आसाम डाउनटाउन युनिभर्सिटीले नेपाली विद्यार्थीलाई शतप्रतिशत सम्म छात्रवृत्ति दिने

भारतको आसाम डाउनटाउन युनिभर्सिटीले नेपाली विद्यार्थीलाई शतप्रतिशत सम्म छात्रवृत्ति दिने

  • मात्र एजुकेशन
  • शनिबार, असार ९ २०८१


काठमाडौँ- गुवाहाटी, भारतमा रहेको आसाम डाउनटाउन युनिभर्सिटी (एडीटीयू) ले नेपाली विद्यार्थीहरूलाई शतप्रतिशत सम्म छात्रवृत्ति दिने घोषणा गरेको छ। उक्त विश्वविद्यालयमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई विभिन्न स्किम अन्तर्गत उक्त छात्रवृत्ति दिन लागिएको विश्वविद्यालयले जनाएको छ। सन् २०२२ देखि निरन्तर विभिन्न शीर्षकको छात्रवृत्ति प्रदान गर्दै आएको एडीटीयूले सन् २०२३ मा १० करोड भारु बराबरको छात्रवृत्ति दिएको थियो भने यो वर्ष सन् २०२४ का लागि १२ करोड भारुको छात्रवृत्ति दिन लागेको हो।

छात्रवृत्ति नपाउने विद्यार्थीहरूका लागि पनि विश्वविद्यालयले न्यूनतम शुल्कमा पढाउने घोषणा गरेको छ। त्यहाँ उपलब्ध करिब ८० वटा कोर्स मध्ये ४ वटा कोर्स बाहेक सबै कोर्सको एक लाख एकाउन्न हजार भारु शुल्क निर्धारण गरिएको छ। यो शुल्क तिरेपछि विद्यार्थीले तिन वर्षे/चार वर्षे जुनसुकै कोर्सका लागि पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन। विश्वविद्यालयका जनरल म्यानेजर अञ्जन ज्योति दासका अनुसार सोही शुल्कमा परीक्षा शुल्क देखि अन्य सबै शुल्क समावेश गरिएको छ।

पढाई सँग सँगै रोजगारीको सुनिश्चितताका लागि विश्वविद्यालयले प्लेसमेन्टका विकल्पहरू दिने गरेको छ। १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सँग सम्झौता गरेर ती कम्पनीहरूमा रोजगारीको लागि पहल गर्ने काम विश्वविद्यालयले गर्दै आएको छ।

उक्त छात्रवृत्ति बारे मात्र एजुकेसन सँग कुरा गर्दै विश्वविद्यालयका नेपाल कोअर्डिनेटर शंकर भट्टराईले विश्वस्तरीय शिक्षाको अवसर सँग नेपाली विद्यार्थीलाई जोड्न पाउँदा खुसी लागेको बताए। उनले अगाडी भने “यो छात्रवृत्ति नेपाल बाट अध्ययन गर्न जाने विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्ने अभिलासामा सघाउ पुर्‍याउन ल्याइएको हो। यसले आर्थिक कारणले कसैको भविष्य निर्माणको तयारी नरोकियोस् भन्ने लक्ष्य राखेको छ। त्यस्तै स्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच पुर्‍याउन र उनीहरूलाई विश्वविख्यात कम्पनीहरू सँग जोड्न पनि यो प्रयास उपयोगी हुनेछ।” भट्टराईका अनुसार कम शुल्क लिने, छात्रवृत्ति दिने मात्रै नभई नेपालमा आइपरेका विभिन्न प्राकृतिक विपत्तिहरूमा मद्दत गरेर समेत विश्वविद्यालयले सहयोग गर्दै आएको छ।

छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थीले विश्वविद्यालयले लिने परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। थप जानकारीका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट www.adtu.in हेर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड